Comments Add Comment

पार्टी एकता गर्दा ढंग नपुगेकाले समस्या भयो : ईश्वर पोखरेल

फाइल तस्वीर

२४ फागुन, काठमाडौं । ओली समूहका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोख्रेलले विचार, संगठन र नेतृत्वको ख्याल नगरी पार्टी एकता गरिएकाले समस्या भएको बताएका छन् ।

१११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पार्टी एकता गर्दाको समयमा ढंग नपुगेका कारण समस्या आएको बताए ।

विचार, संगठन र नेतृत्व भन्दा पनि चुनावमा बहुमत ल्याउने विषयलाई मात्रै प्राथमिकतामा राखेकाले अहिले समस्या भएको उनको भनाइ थियो ।

सर्वोच्च अदालतको फैसला पछि एकिकृत पार्टीहरुको अवस्था २०७५ साल जेठ ३ गते आगाडिको अवस्थामा पुगेको भन्दै उनले अब नेकपा एमालेले विचार, संगठन अनि योग्य नेतृत्व राखेर नयाँ ढंगले पार्टी एकतालाई अघि बढाउने बताए ।

उनले भने, ‘हिजो २०७५ साल जेठ ३ गते पार्टी एकता गर्दा ढंग नपुर्‍याएकै हो । एकता गर्दा विचार, संगठन र नेतृत्वको कुरा पनि ख्याल गरिएन । पार्टी ठूलो बनाउने र चुनावमा बहुमत ल्याउने भन्ने कुरा मात्रै भयो । त्यसले गर्दा यो अप्ठ्यारो पर्‍यो ।’ अब सर्वोच्च अदालतको फैसलापछि नया ढंगले पार्टीलाई एकतावद्ध रुपमा अघि बढाउनु पर्ने उनको भनाइ छ ।

नेकपामा ओली समूहका तर्फबाट थप गरिएका केन्द्रीय सदस्यहरु पनि नेकपा एमालेकै केन्द्रीय सदस्य हुने भन्दै उनले सबैलाई विश्वस्त हुन आग्रह समेत गरे ।

उनले भने, ‘नेकपा एमालेको ९ औं महाधिवेशनले चुनेको केन्द्रीय कमिटीको बैठक हुन्छ । त्यो बैठकले अस्ति थपिनुभएका साथीहरुलाई नै फेरि थपेर विस्तारित कमिटी बनाउँछ । अब केही हुँदैन । तर लय र स्टेप मिलाउनका लागि नेकपा एमालेको पहिले केन्द्रीय कमिटीको बैठक हुन्छ । केन्द्रीय नेताहरुलाई बैठकमा बोलाइन्छ । नआउने अब अन्तैतिर जान्छु भन्ने पनि निस्केलान् निस्के भने पनि कोहीबात छैन जानुहुन्छ ।’

उनले नेकपा एमाले सूर्य चिन्हसहित सबैलाई समेटर अघि बढ्ने बताए । छिनछिनमा सरकार बदलिने, हेरफेर भइरहने कुरा भयो भने मुलुकमा अस्थिरता पैदा हुने र त्यसले समग्र आर्थिक र विकासको गतिलाई प्रभाव पार्ने भएकाले आफूहरुले त्यसो गर्न हुँदैन भन्ने अडान राख्दा पार्टी भित्रैबाट अहसहयोग भएको उनको भनाइ थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा भोट मागिएको र ओलीलाई नै जनताले विश्वास गरेकाले उनको विकल्प खोज्ने विषय अस्वभाविक भएको उनको तर्क थियो । उनले प्रतिनिधिसभा पुनर्स्थापनासँगै मुलुकमा अस्वभाविक क्रियाकलाप हुन थालेको र त्यस्ता घिनलाग्दा काम नेकपा भित्रैका नेताहरुबाट भइरहेको दाबी गरे ।

उनले भने, ‘अहिले तमासा के रे भने । आफ्नो झण्डै झण्डै दुई तिहाइको समर्थनमा सरकार छ । त्यो सरकारको प्रधानमन्त्री हटाउने अनि अर्को प्रधानमन्त्री कसलाई बनाउने भन्दा बूढानीलकण्ठ गएर कांग्रेसको सभापतिलाई प्रधानमन्त्री भइदेऊ भन्ने यस्तो घिनलाग्दो काम यही नेकपा भित्रका नेताहरुबाट भइरहँदा यो कति निन्दनीय कुरा हो ? कति दुःखको कुरा हो यो । त्यसकारण अहिले जुन बिग्रह पैदा भएको छ, त्यसपछाडि सत्ताको लिप्सा, ईष्या कुण्ठा, यही कारणले यी सब कुरा भएको छ ।”

उनले महिला अधिकारको विषयमा संसदमा पहिलो अगुवाइ गरेर राज्यका अंगहरुमा ३३ प्रतिशत प्रतिनिधित्व हुनुपर्छ भनेर प्रस्ताव लैजाने र सफल बनाउने नेतृ वर्तमान राष्ट्रपतिलाई अपमान गर्ने काम हुनु दुःखद भएको बताए ।

महिला अधिकार कसैले दिएर दिइने विषय नभएको उल्लेख गर्दे उनले श्रम, उत्पादन तथा सम्पत्तिमाथिको अधिकारसँग महिला अधिकारलाई हेर्नुपर्ने तर्क गरे ।

उनले भने, ‘महिला अधिकार कसैले दिएर दिइँदैन । यो श्रम र उत्पादन तथा सम्पत्तिमाथिको अधिकारसँग गाँसिएको छ । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा जमिनको लालपुर्जा दिँदा महिलाको नाममा हुँदा दस्तुर मिनाहा गर्ने खालको कुरा पनि प्रारम्भ भयो । जहिलेसम्म सम्पत्तिमाथि पुरुष सरह महिलाको अधिकार हुँदैन त्यसबेलासम्म महिला स्वतन्त्र हुन सक्क्तैन । महिलाको मेहनतलाई श्रमको रुपमा नबुझ्ने हाम्रो परम्परा र बुझाइ छ । महिलाले घरभित्र गर्ने काम पनि ठूलो श्रम हो भनेर बुझ्नुपर्छ त्यो नबुझेसम्म समानता हुँदैन । ”

आफूलाई ठूला घरानीया भन्नेहरुले श्रीमतीको नाममा लालपुर्जा बनाएर सम्पत्ति माथिको अधिकार छ भनेर देखाउने गरेको भन्दै त्यसलाई समानता र अधिकारको कडी मान्न नसकिने तर्क उनले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment