Comments Add Comment

श्रमिक महिलालाई साइकल, एकल महिलालाई रातो टिका र पछ्यौरा

२४ फागुन, बुटवल । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा रुपन्देहीका केही स्थानीय तहले श्रमिक महिलालाई साइकल वितरण र एकल महिलालाई रातो पछ्यौरा ओढाएर सम्मान गरेका छन् ।

तिलोत्तमा नगरपालिकाले ५१ जना श्रमिक महिलालाई नारी दिवसको अवसर पारेर सोमबार साइकल प्रदान गरेको छ । श्रमिक महिलाहरुको सम्मानको साथै उनीहरुको दैनिकीलाई सहज बनाउन सहयोग पुगोस् भनेर साइकल प्रदान गरिएको नगर उपप्रमुख जागेश्वरीदेवी चौधरीले जानकारी दिइन् ।

श्रमिकको आर्थिक–सामाजिक अवस्थाको आधारमा वडा कार्यालयको सिफारिस अनुसार प्रत्येक वडाका ३ जनाको दरले १७ वटा वडाका ५१ जनालाई साइकल प्रदान गरिएको नगरपालिकाले जनाएको छ । महिला दिवसको अवसरमा नगरपालिकामा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश उपसभामुख कृष्णी थारुले श्रमिक महिलाहरुलाई साइकल हस्तान्तरण गरिन् ।

महिला दिवसकै अवसरमा नगरपालिकाले ‘महिला सुरक्षा र रोजगार : समृद्ध तिलोत्तमा निर्माणको आधार’ विषयक वक्तृत्वकला प्रतियोगितामा समेत आयोजना गरेको छ । १७ जनाले सहभागिता जनाएको प्रतियोगितामा चन्द्रा घिमिरे प्रथम भइन् । कार्यक्रममा प्रदेश उपसभामुख कृष्णी थारुले सकारात्मक व्यवहारले मात्र लैङ्गिक विभेद हट्ने भन्दै परिवारबाटै समानता कायम हुनुपर्नेमा जोड दिइन् ।

यसैबीच रुपन्देहीको सियारी गाउँपालिकाले एकल महिलालाई रातो टिका र रातो पछ्यौरा ओढाएर सम्मान गरेको छ । नारी दिवसको अवसर पारेर गाउँपालिकाका ६५ जना एकल महिलालाई गाउँपालिकाले सम्मान गरेको हो । एकल महिला पनि अन्य महिला जस्तै समान रहेको र समाजमा रहेको रुढिवादी चिन्तनलाई हटाउन गाउँपालिकाले नारी सम्मान अभियान नै सञ्चालन गरेको गाउँपालिकाका उपाध्यक्ष अमृता गुरुङ्गले बताइन् ।

गाउँपालिकाले नै सार्वजनिक समारोह गरेर एकल महिलालाई रातो टिका र रातो पछ्यौरा ओढाइदिएपछि २६ वर्षीया एकल महिला सीता बस्याल भट्टराईले खुसी व्यक्त गरिन् ।

‘२० वर्षको उमेरमै श्रीमानको मृत्युको पीडा एकातिर र अर्कोतिर समाजको रुढिवादी संस्कारका कारण हुने भेदभावले पीडामाथि पीडा थियो,’ बस्यालले भनिन्, ‘समाजको डरले रातो पहिरन लगाउन सकेकी थिइन, अब गाउँपालिकाले समाजलाई अगाडि राखेर रातो टिका र रातो पछ्यौरा दिएर सम्मान गरेपछि धेरै सहज महसुस भयो ।’

यस्तै गाउँपालिकाले व्यावसायिक क्षेत्रमा लागेर आर्थिक रुपमा सबल बनेका महिलालाई समेत सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment