Comments Add Comment

मोटरसाइकलबाट खुल्यो हत्याको पोल

२५ फागुन, वीरगञ्ज । बाराको निजगढ नगरपालिका–९ बुद्धचोकमा १९ वर्षीय रोहित शर्माको हत्या भएको खबर प्रहरीकहाँ मंगलबार बिहान साढे ४ बजे आयो । नजिकको प्रहरी टोली तत्काल घटनास्थलमा पुग्यो ।

जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी नायब उपरीक्षक गौतम मिश्र नेतृत्वको अनुसन्धान टोली खटियो । प्रारम्भिक अनुसन्धानबाट प्रहरीले धारिलो हतियारको प्रयोगबाट हत्या भएको निश्कर्ष निकाल्यो ।

रोहितको रौतहटको चन्द्रनिगाहपुर र बाराको निजगढ नगरपालिका दुवै ठाउँमा घर थियो । निजगढस्थित दुईतले घरको तल्लो तला खाजा पसललाई भाडामा दिएका थिए, माथिल्लो तलामा उनी एक्लै बस्थे । टाँगियाबस्ती घर भएका पसल सञ्चालक मंगलबार बिहानै पसल खोल्न आइपुगेका थिए ।

बिहानै खाजा पसल खोलिएको थियो । माथिल्लो तलामा हल्लाखल्ला सुनियो । ‘ऐया मरेँ !’ भनेको आवाज पनि सुनियो । केहीबेरमा एकजना व्यक्ति भर्‍याङबाट ओर्लिएर बाइक स्टार्ट गरेर भागे ।

स्थानीयले प्रहरीलाई खबर गर्‍यो । प्रहरीले शव सिरकले छोपेको अवस्थामा भेटेको थियो ।

प्रहरीले मोटरसाइकलको आधारमा अभियुक्त पक्राउ गरेको छ । उक्त घरबाट निस्केको व्यक्ति ना १३ प ७२१२ नम्बरको मोटरसाइकल चढेर भागेको थाहा पाएपछि प्रहरीले सवारी धनीको खोजी सुरु गर्‍यो । ठाउँ-ठाउँमा भएका सीसीटीभीका फुटेजहरुले मद्दत मिल्यो । घटना भएको ४ घण्टाभित्रै प्रहरीले घटनामा संलग्न रहेको आशंकामा एक जनालाई पक्राउ गर्न सफल भयो ।

चन्द्रपुर नगरपालिका–४ बस्ने मक्करे भनिने ३० वर्षीय अरूणकुमार साह पक्राउ परेका छन् । उनी अरूण इन्टरप्राइजेज बिस्कुट तथा चकलेट सपका सञ्चालक हुन् । प्रहरीले मोटरसाइकलसँगै घटनामा प्रयोग भएको चक्कु, रगत लागेको कपडा बरामद भएको दाबी गरेको छ । पसलबाटै पक्राउ परेका साहको हातमा चोट लागेको छ । साहले हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेको प्रहरी स्रोतको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी मिश्रले घटनामा संलग्न रहेको आशंकामा एकजनालाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिए । ‘तालिम प्राप्त कुकुर झिकाएका हौं, कुकुर आइपुग्नु अघि नै शंकास्पद एक जनालाई नियन्त्रणमा लिन सफल भएका छौं,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले घटनाबारे प्रहरी अनुसन्धान लगभग टुंगोमा पुग्न लागेको जानकारी दिए । ‘निजगढ घटनाका सम्बन्धमा लगभग टुंगोमा छौं, छिट्टै अभियुक्तलाई सार्वजनिक गर्छौ,’ उनले भने ।

घटनाबारे विस्तृत विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment