Comments Add Comment

प्रतिनिधिसभाको बैठक बस्दै

२६ फागुन, काठमाडौं । पुनःस्थापित संसदको दोस्रो बैठक बुधबार बस्दै छ ।

दिउँसो एक बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा सात वटा अध्यादेश पेस हुने र बहालवाला तथा पूर्वसांसदको निधनमा शोक प्रस्ताव पेस हुने उल्लेख छ ।

संसद सचिवालयका अनुसार सोमबारको बैठकमा पेस भएर पारित हुन नसकेका विधेयकहरु बुधबारको बैठकमा पनि पेस हुने छ ।

सोमबारको बैठकमा विपक्षी दलहरुको विरोधका बाबजुद संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेस भएको थियो । सो विधेयक संविधानसँग बाझिएको भन्दै संसदबाट पारित गर्न नदिने रणनीति विपक्षी दलहरुले बनाएका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपासहितका सांसदहरुले अध्यादेश संविधानसँग बाझिएको भन्दै यसअघि नै विरोधको सूचना दर्ता गराएका छन् । विरोधको सूचना दर्ता गराएकी नेकपा माओवादी केन्द्रकी सांसद यशोदा सुवेदी गुरुङले प्रक्रियाअनुसार विरोध जनाउने बताइन् ।

यसअघि २३ फागुनमा बसेको संसद बैठकमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश पेस गर्दा कांग्रेस र समाजवादी दलका सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेपछि सभामुख अग्नि सापकोटाले २६ फागुनसम्मका लागि बैठक स्थगित गरेका थिए ।

बुधबारको बैठकमा पनि बिभिन्न विधेयकहरु पेस गर्ने र दिवंगत सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची छ ।

संसद सचिवालयले अघिल्लो दिन नै सार्वजनिक गरेको कार्यसूचीमा लेखिएअनुसार गृहमन्त्री रामबहादुर थापा (बादल)ले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सन्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश पेस गर्नेछन् ।

गृहमन्त्री थापाले नै सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश पेस गर्ने छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले औषधि तेस्रो संशोधन अध्यादेश २०७७ पेस गर्ने कार्यसूची छ ।

कानुन मन्त्री लिलानाथ श्रेष्ठले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन अध्यादेश पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment