Comments Add Comment

पर्यटन पुनरुत्थानका लागि वीरगञ्जमा साझेदारी कार्यक्रम

२६ फागुन, वीरगञ्ज । पर्यटन पुनरुत्थानका लागि सीमा नाकामा लागेको प्रतिबन्ध हटाउनु पर्ने सरोकारवालाहरुले बताएका छन् ।

‘पर्यटन समृद्धिको आधार, हामी सबै साझेदार’ भन्ने मूल नाराका साथ वीरगञ्ज महानगरपालिकासँगको सहकार्यमा होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्ज र पर्यटन पत्रकार संघ पर्साले पर्यटन पुनरुत्थानका लागि साझेदारी कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले पर्यटन पुनरुत्थानका लागि सीमा नाकामा लागेको प्रतिबन्ध हटाउनुपर्ने बताए । उनले मान्छेबाट मान्छेमा कोरोना सर्ने भएपनि सीमामा भारतीय गाडीलाई रोकेर मान्छे आउन अनुमति दिइएको बताए ।

‘गाडी रक्सौलमा छोडेर मान्छे आउन पाउने यो कस्तो नियम हो ? अनि भन्सारमा समान लिएर गाडी आउँदा कोरोना नआउने ?’ उनले भने, ‘गाडीले हैन मानिसले कोरोना सार्छ, प्रोटोकल बनाएर लागू गरौं । भारतीय गाडीलाई आउन दिँदा पर्यटन क्षेत्रमाथि उठ्छ । सीमा क्षेत्रमा रोक लगाएर पर्यटन क्षेत्रलाई माथि उठाउन सकिँदैन ।’
पर्यटकलाई आकर्षित गर्न विभिन्न योजना बनाएपनि संघ सरकारको असहयोगका कारण अघि बढ्न नसकेको उनको भनाइ छ ।

‘पहाड, जंगल हेरेर मात्रै पर्यटक लोभिदैनन्, सिंगापुर, दुबई, थाइल्याण्डमा के छ ? डेढ सय करोड लगानी गरेर बौदी खोलामा पर्यटकीय पूर्वाधार बनाउन खोजेका छौं, ३५ विगाहा सार्वजनिक जग्गा र विद्यालयको १४ विगाहा जग्गा फेला पारेका थियौं, आधा जग्गा भूमाफियाले कब्जा गरिसकेको रहेछ । रामवन क्षेत्रमा प्राकृतिक चिडियाखाना बनाउन डीपीआर तयार गरिरहेका छौं । वीरगञ्ज महानगरपालिकाले ७० विगाहा जग्गा घेरेर वृक्षारोपण गर्र्दैछ ।’ उनले भने, ‘तर स्थानीय सरकारलाई सार्वजनिक जग्गाको चौकीदार मात्रै बनाएर राखिएको छ । लिजमा दिन सक्ने अधिकार छैन । संघ सरकारलाई १ हजारवटा पत्र लेखिसक्दा एउटा पत्रको समेत जवाफ आएको छैन ।’

होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका संरक्षक अनिल रुँगटाले कोभिडले होटल तथा पर्यटन व्यवसाय ९ महिनासम्म शून्य अवस्थामा रहेको बताए । तर राज्यबाट प्याकेज घोषणा गरेर उचित सम्बोधन हुन नसकेको उनको भनाइ छ ।

‘कोभिड महामारीबाट थला परेका होटललाई सरकारले कुनैपनि हिसाबले सहयोगको घोषणा गरेन, यसबाट पर्यटन क्षेत्रको विकासका लागि चासो लिएको छैन भन्ने प्रष्ट देखिएको छ,’ उनले भने, ‘वीरगञ्जमा पर्यटन क्षेत्रको विकासका लागि मात्रै नभएर अन्य पूर्वाधार निर्माणमा कतैबाट कुनै किसिमको सहयोग प्राप्त छैन । नयाँ संचरना आउन सकेको छैन, भएका संरचनाको पुनरुत्थान भएको छैन । धुलोमय सहरमा बसिरहेका छौं ।’

सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले दीर्घकालीन र अल्पकालीन योजना बनाएर अगाडि बढ्न आग्रह गरे । उनले वीरगञ्ज पर्यटनको सम्भावना बोकेको सहर भएको बताए ।

‘वीरगञ्ज पर्यटनका लागि धेरै सम्भावना बोकेको ठाउँ छ, छेउमै पर्सागढी, गढीमाईसँगै पर्सा राष्टिय निकुञ्ज छ,’ उनले भने, ‘तर एकदिन हैन, दुईदिन हैन, वर्षौदेखि सीमा नाकामा कालो धुलो धुँवा कायम छ । नाकामा चिल्लो बाटो हुँदै पर्यटक आउने वातावरण बनाउन आवश्यक छ ।’

वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुवोध गुप्ताले भारतीय पर्यटकलाई हेर्ने नजरमा परिवर्तन गर्नुपर्नेमा जोड दिए । ‘रक्सौलदेखि पटना एयरलाइन्स सुचारु गर्ने, रक्सौलबाट सुपरफाष्ट ट्रेन व्यवस्था मिलाउन सके ‘गेट वे अफ नेपाल’ हुँदै नेपाल आउन चाहने तेस्रो मुलुकको पर्यटक आउँछन् ।’ उनले भने ।

कन्टेनर कार्गो लिएर आउने व्यक्ति, पढ्न आउने विद्यार्थीलाई पर्यटक मान्नुपर्ने भन्दै गुप्ताले ५ हजार रुपैयाँ लिएर आउँदा प्रहरीले समात्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दूत नितेश कुमारले आफ्नो तर्फबाट गर्न सक्ने सहयोग गर्ने आश्वासन दिए ।

होटल व्यवसायी युवराज लामाले वीरगञ्ज अन्तर्राष्ट्रिय पर्यटनको ट्रान्जिट प्वाइन्ट भएको बताए । ‘विगतमा भारतीय र अन्य देशका ‘अफिसियल’ व्यक्तिहरु र व्यवसायका लागि आउने मानिसहरु यही बस्थे, होटल व्यवसाय अहिलेसम्म पनि त्यही देखिन्छ ।’ उनले भने ।

नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसी लामिछानेले विचार गोष्ठी र अन्तरक्रियामा रुमल्लिएर पर्यटन क्षेत्रको विकास हुन नसक्ने बताए । ‘एउटा प्रोडक्ट बनाएर लन्च गर्न नसकेको अवस्था छ, वीरगञ्जमा आएर एक–दुई दिन पर्यटकले के गर्ने ? त्यसका लागि पूर्वाधार बनाउनुपर्छ । वीरगञ्जमा ठूला ठूला होटल छन्, दुई दिन वीरगञ्जमा बस्ने प्याकेज के छ ? उत्तर भेटिँदैन,’ उनले भने, ‘गर्मी वातावरणमा कस्तो पर्यटकीय गन्तव्य आवश्यक छ । पर्सागढीमा पर्यटकलाई आकर्षित गर्न सकिन्छ कि ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment