
२७ फागुन, काठमाडौं । सिद्धार्थ राजमार्गको पाल्पा र रुपन्देहीको सीमामा रहेको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको लागि ठेक्का लगाउन ढिलाइ भएको छ । सरकारले गत वर्ष २०७६ को मंसिर पहिलो साता नै यो सुरुङमार्ग निर्माणका लागि बहुवर्षीय ठेक्का लगाउन सडक विभागलाई स्वीकृति दिएको थियो ।
तर, सुरुङमार्गको बोलपत्रको कागजात (बिड डकुमेन्ट) बनाएर स्वीकृत गर्न नै सरकार अलमलिएको छ । यो सुरुङमार्ग इन्जिनियरिङ, प्रक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण गर्न लागिएकाले ‘बिड डकुमेन्ट’को तयारी गर्न बढी समय लागेको सडक विभागका गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक विजय जैसीले जानकारी दिए ।
विभागले ६ महिनाअघि नै सार्वजनिक खरिद अनुगमन कार्यालयमा आफूले तयार गरेका कागजात पेश गरेको थियो । ईपीसी मोडलमा नेपालले अहिलेसम्म ठूलो ठेक्का नगरेका कारण केही ढिलाइ भएको उनले बताए ।
जैसीका अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयको नेतृत्वमा विज्ञहरुमार्फत सो बोलपत्रको कागजातको मस्यौदा तयार भएको छ । अहिले पनि सो बोलपत्रको कागजात सोही कार्यालयले स्वीकृत गर्ने कि मन्त्रिपरिषद बैठकमा लैजाने भन्ने विषयमा अन्योल छ ।
‘सरकारले स्वीकृत गरेर बोलपत्रको कागजात पठाउनासाथ ठेक्कामा जान सकिन्छ,’ जैसीले भने, ‘सुरुङमार्गको लागि स्रोत सुनिश्चित भइसकेकाले टेन्डरमा जान रोकिनुपर्ने अवस्था छैन ।’
अर्थ मन्त्रालयले गत आर्थिक वर्षमा नै यो सुरुङमार्गका लागि १० अर्ब बजेटको स्रोत सुनिश्चित गरेको थियो ।
सिद्धबाबाको मुख्य प्रभावित क्षेत्रमा ११ सय मिटर लामो सुरुङ बन्नेछ । त्यसबाहेक सडकमा ९ सय मिटर लामो ढुंगा रोक्ने छानो (रक सेड) पनि बनाउनुपर्ने छ ।
त्यसबाहेक करिब एक किलोमिटर क्षेत्रमा ढुंगा खस्नबाट रोक्न जाली पनि बाँधिनेछ । सो खण्डमा सडकलाई दुई लेनको बनाउने गरी काम हुने निर्देशक जैसीले बताए ।
सिद्धबाबाको पहिरो छल्न बनाइने सुरुङमार्गको स्वीस सरकारको सहयोगमा २०७५ सालमै अध्ययन भएको थियो ।
बुटवल र पाल्पाको सीमानामा पर्ने सिद्धबाबाको पहिरो पार गर्दै पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बाग्लुङ, म्याग्दी लगायतका गन्तव्यमा पुग्ने गाडी गुड्छन् । यहाँ वर्षैसाल खस्ने पहिरोमा परेर थुप्रैको ज्यान गइसकेको छ ।
नरम माटोमा अडिएको चट्टान सुख्खायाममा पनि खस्ने समस्या छ । ज्यानको माया मारेर यात्रा गर्नुपर्ने कारण यहाँ सुरुङमार्ग बनाउन माग हुँदै आएको छ ।
प्रतिक्रिया 4