Comments Add Comment

कोरियामा कोरोना परीक्षण नगर्ने विदेशीलाई ३० लाख वनसम्म जरिमाना हुने

२७ फागुन, सउल । पछिल्लो समय कोरोना पुष्टि हुने क्रम घट्दै गए पनि यहाँ रहेका विदेशीमा भने वृद्धि हुन थालेपछि दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तमा बसोबास गर्ने सबै विदेशीलाई यहाँको स्थानीय सरकारले अनिवार्यरूपमा कोभिड-१९ परीक्षण गर्नुपर्ने निर्देशन दिएको छ ।

स्थानीय प्रशासनले यही मार्च २२ तारिख (चैत ९ गते) भित्र यहाँ रहेका सम्पूर्ण विदेशीलाई अनिवार्य परीक्षण गर्न निर्देशन दिएको हो ।

स्थानीय प्रशासनको निर्देशन नमानी उक्त अवधिमा परीक्षण नगरे २० देखि ३० लाख कोरियन वनसम्म जरिवाना तिर्नुपर्ने हुनसक्ने बताइएको छ । पछिल्लो समय ख्याङ्गिदो प्रान्तका केही कम्पनीमा कार्यरत विदेशी कामदारमा सामूहिक सङ्क्रमण देखा परेपछि स्थानीय सरकारले सो नियम ल्याएको हो ।

स्थानीय सरकारले कोरोना परीक्षणका लागि विदेशी काम गर्ने कम्पनीमा सम्पर्क गर्ने, विभिन्न माध्यमबाट सूचना दिनेलगायतका कार्य गरेर जानकारी दिएको जनाएको छ ।

कोरोना परीक्षण वैधानिक तथा अवैधानिक सबै कामदारले समेत अनिवार्यरूपमा गर्नुपर्नेछ । अवैधानिक कामदारको हकमा कुनै पनि परिचय खुलाउनुपर्ने छैन । परीक्षण सबैले निःशुल्करूपमा प्राप्त गर्नेछन । विभिन्न स्थानमा क्याम्प खडा गरी भइरहेको परीक्षणका सम्बन्धमा आफूले काम गर्ने कम्पनीको कार्यालयमा बुझ्दा कसरी परीक्षण गर्ने भन्ने कुराको पूर्ण जानकारी प्राप्त हुनेछ ।

ख्याङ्गिदो प्रान्तमा २५ हजार रोजगारदाताले विदेशी कामदार राखेको अनुमान गरिन्छ । व्यवसायको हकमा कम्पनीमा कम्तीमा एक विदेशी कामदार रहे पनि मार्च २२ सम्म अनिवार्यरूपमा कोरोना परीक्षण गरेको हुनुपर्ने निर्देशन गरिएको छ । हालसम्मको तथ्याङ्कअनुसार कोरियाको ख्याङ्गिदो प्रान्तमा रहने एक हजार ७४७ विदेशीले कोरोना भाइरस परीक्षण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment