Comments Add Comment

ब्राजिलमा कोरोनाबाट एकैदिन दुई हजारभन्दा धेरैको मृत्यु

Photo Credit : REUTERS

२७ फागुन, काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९) बाट बुधबार एकैदिनमा दुई हजारभन्दा धेरैको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार बुधबार ब्राजिलमा कोरोनाबाट दुई हजार २८६ जनाको मृत्यु भएको हो । यससँगै ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ६८ हजार ३७० पुगेको छ ।

विशेषज्ञहरुले ब्राजिलमा पछिल्लो समय कोरोना संक्रमण बढ्नुको कारण मुलुकमा फैलिएको कोरोनाको नयाँ प्रकार (भेरियन्ट) रहेको बताएका छन् । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक कदम नचाल्नु पनि कोरोना संक्रमण बढ्नुको एक कारण रहेको जानकारहरुको भनाइ छ । बुधबार राष्ट्रपति बोल्सोनारो पहिलोपटक सार्वजनिक कार्यक्रममा मास्क लगाएर उपस्थित भएका थिए । उनले साताको सुरुमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेसँगै मानिसहरुलाई ‘रुने काम बन्द गर्न’ आग्रह गरेका थिए ।

ब्राजिलमा कोरोना संक्रमण बढेसँगै त्यहाँका अस्पतालहरु पनि बिरामी धान्न नसक्ने अवस्थामा पुगेका छन् । ब्राजिलका स्वास्थ्यकर्मीहरुले अहिले ब्राजिल महामारीको अहिलेसम्मकै सबैभन्दा खराब अवस्थामा पुगेको बताएका छन् । ब्राजिलका लागि सन् २०२१ निकै कठिन वर्ष हुने उनीहरुको भनाइ छ ।

बुधबार ब्राजिलमा कोरोनाका ७९ हजार ८७६ नयाँ संक्रमित फेला परेका छन् ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment