Comments Add Comment

अफगानिस्तानमा अमेरिकी द्विविधा : तालिबानले गर्ला त युद्धविराम ?

२५ फागुन, काठमाडौं । अफगानिस्तानमा पछिल्लो दुई दशकदेखि जारी युद्धविरामको लागि अहिले चरमपन्थी संगठन तालिबानसँग सरकारले कतारको राजधानी सहर दोहामा वार्ता गरिरहेको छ । तर, अझैसम्म पनि यो वार्ताले अफगानिस्तानमा शान्ति ल्याउने वा नल्याउने निधो गर्न सकेको छैन ।

विशेषगरी अफगानिस्तानको युद्धमा अमेरिकाले देखाएको द्विविधाको कारण यो शान्ति वार्तामा उल्लेख्य प्रगति हुन नसकेको हो । अफगानिस्तानमा शान्ति कायम गर्न अमेरिका तथा उसका सहयोगी मुलुकहरुका सैनिकहरु अफगानिस्तानमा छन् । त्यसैले अफगानिस्तानको युद्धमा अमेरिकाको निर्णय निकै महत्वपूर्ण हुने गरेको छ । यसअघि तालिबानले पनि अफगानिस्तानको सरकारको आफ्नो निर्णय नभएको भन्दै प्रत्यक्षरुपमा अमेरिकासँग वार्ता गर्ने अडान राखेको थियो । सोहीअनुसार गत वर्ष तालिबानले अमेरिकासँग शान्ति सम्झौता गरेको थियो, त्यसपछि बल्ल अफगानिस्तानसँगको शान्ति वार्ता अघि बढाएको हो ।

यद्यपि अमेरिकासँग तालिबानको शान्ति वार्ता भएको एक वर्षपछि पनि अफगानिस्तानसँग भने तालिबानको शान्ति सम्झौता हुन सकेको छैन । त्यसको ठीक विपरीत अफगानिस्तानमा हिंसात्मक आक्रमण भने अहिलेसम्मकै उच्च देखिएको थियो । यद्यपि पछिल्लो एक वर्षको अधिकांश आक्रमण भने अमेरिका तथा विदेशी सेनाभन्दा पनि अफगानिस्तानी सेनालाई लक्षित गरी भएका थिए ।

अमेरिकाले गत वर्ष तालिबानसँग शान्ति सम्झौता भएपछि निरन्तर आफ्नो सेना पनि फिर्ता गर्दै लगेको थियो । त्यस्तै सम्झौताअनुसार तालिबानी कैदीहरु पनि रिहा भएका थिए । यद्यपि तालिबानले भने अफगानिस्तानमा हिंसा घटाउने सम्झौता पालना नगरेको भन्दै जानकारहरुले चिन्ता व्यक्त गर्दै आएका छन् ।

अमेरिकी द्विविधा

तालिबानसँगको शान्ति सम्झौता एउटा निष्कर्षमा पुग्नुभन्दा पहिला नै अमेरिकामा राजनीतिक परिवर्तन हुनुले अर्को अफगानिस्तानको युद्धविरामबारे अर्को आशंका उत्पन्न भएको छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबानसँगको सम्झौता पूर्णरुपमा लागू गर्ने प्रतिबद्धता जनाएका थिए । जसअनुसार उनले आधाभन्दा धेरै सैनिक फिर्ता पनि गरिसकेका थिए । तर, गत जनवरी २० बाट अमेरिकामा जो बाइडन आएसँगै अमेरिकाले अफगानिस्तान युद्धबारे आफ्नो स्पष्ट नीति सार्वजनिक गरेको छैन ।

अमेरिकाले गत वर्ष तालिबानसँग भएको सम्झौताबारे अहिले पुनरवलोकन भइरहेको बताएको छ । यस्तोमा तालबानले सम्झौता पूरा नगरेको पाइएमा सम्झौता अघि नबढाउने संकेत अमेरिकाले गरिसकेको छ । सम्झौताअनुसार अमेरिकाले अप्रिलको अन्तिमसम्ममा अफगानिस्तानबाट आफ्ना सबै सैनिक फिर्ता गर्नुपर्नेछ । तर, सैनिक फिर्ता गर्ने वा नगर्नेबारे अमेरिकाले अझै स्पष्ट पारेको छैन । अमेरिकाले गत वर्षको सम्झौताबारे पुनरवलोकन सकिएपछि मात्र सैनिक फिर्ता गर्ने वा नगर्ने बताएको छ ।

यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अफगानिस्तानका राष्ट्रपति असर्फ घानीलाई एक पत्र लेख्दै अमेरिकी सेनाले अहिले तत्काल अफगानिस्तान छाडे तालिबानको दबदबा झनै बढ्ने र उनले अफगानिस्तानको अझै धेरै भू–भाग कब्जामा लिने चेतावनी दिएका थिए । अमेरिकाले अफगानिस्तानलाई तालिबानलाई शान्ति सम्झौतामा ल्याउन अन्तरिम सरकारको गठन गरी त्यसमा तालिबानलाई पनि समावेश गर्ने प्रस्ताव पनि गरेको छ । साथै उक्त अन्तरिम सरकारले मुलुकमा निर्वाचन गराउने र युद्धविरामको नियमन गर्न अर्को एक आयोग बनाउने प्रस्ताव अमेरिकाको छ ।

गर्ला त तालिबानले युद्धविराम ?

गत सेप्टेम्बरदेखि कतारको दोहामा तालिबान र अफगानिस्तानको सरकारका प्रतिनिधिबीच वार्ता भइरहे पनि खासै प्रगति भने हुन सकेको छैन । न त अफगानिस्तानमा हिंसात्मक आक्रमण नै रोकिएको छ । तालिबानको वार्तामा खासै प्रगति नहुनुलाई अमेरिकामा भएको राजनीतिक प्रगतिलाई नै एक कारक मानिएको छ । अमेरिकाको नयाँ प्रशासनले गत वर्ष भएको सम्झौतालाई कुन रुपमा लिन्छ भन्ने स्पष्ट नहुँदा पनि वार्ताले गति लिन नसकेको हो । अझैसम्म पनि अमेरिकाले यस विषयमा आफ्नो रणनीति स्पष्ट नगरेकाले वार्ता लम्बिइरहेको छ ।

अमेरिकाले अहिले प्रस्ताव गरेअनुसारको अन्तरिम सरकारको विषयमा पनि सहमति जुट्ने सम्भावना कमै मात्र देखिन्छ । अफगानिस्तानका राष्ट्रपति घानीले अन्तरिम सरकारको प्रस्तावलाई यसअघि नै अस्वीकार गरेका थिए । उनले मुलुकको संसद् तथा सरकार बनाउने एकमात्र बाटो निर्वाचन भएको र निर्वाचनभन्दा बाहिर राजनीतिक सम्झौताको माध्यमबाट अन्तरिम सरकार बन्न नसक्ने जिकिर गर्दै आएका छन् । त्यस्तै तालिबानले पनि अन्तरिम सरकारमा सामेल नहुने बताउँदै आएको छ । यसले अफगानिस्तानमा तालिबानले युद्धविराम गर्ने विषयमा थप आशंका उत्पन्न गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment