
२७ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी हुन राखेको तीनबुँदे शर्तमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका छन् ।
प्रधानमन्त्री ओलीले बिहीबार एमाले शीर्ष नेताहरुलाई राखेर जसपाका नेताहरुसँग छलफल गरेका थिए । पदाधिकारीको बैठक सकेर जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राईलगायतका नेता एमालेसँगको छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।
भेटमा सहभागी जसपाका नेता लक्षणलाल कर्णले अनलाइनखबरसँग भने, ‘हामीले कैदीबन्दी साथीहरुको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधन हाम्रो बटमलाइन हो भनेका छौं । प्रधानमन्त्रीजीले म सकारात्मक छु भन्नु भएको छ ।’
उनका अनुसार अबको वार्ता कार्यदल स्तरमा हुनेछ ।
एमालेले जसपासँग वार्ता गर्न सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई रहेको कार्यदल बनाएको छ । जसपा अध्यक्ष महन्थ ठाकुरले सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई खटाएका थिए । अब त्यसमा अरु नेताहरुलाई राखेर कार्यदल बनाउने तयारी छ ।
बालुवाटार जानु अघि जसपा शीर्ष नेताहरुको बैठक बसेको थियो । बालुकुमारीस्थित पार्टी कार्यालयमा बसेको बैठकले सबै दलसँग छलफल गर्ने निर्णय गरेको थियो ।
त्यही बैठकमा अध्यक्ष ठाकुरले प्रधानमन्त्रीले ५ बजे भेट्न चाहेको बताएपछि सबै नेताहरु जाने सहमति भएको थियो । एक नेताका अनुसार जसपाले १ चैतमा संसदीय दल र ५ गते कार्यकारिणी समितिको बैठक समेत बताइएको छ ।
प्रतिक्रिया 4