Comments Add Comment

सेना दिवस समारोहमा सभामुखको आसन पछाडि किन ?

सेना दिवस २०७७ को अवसरमा विहीबार सैनिकमञ्च टुँडिखेलमा आयोजित समारोहमा सहभागी विशिष्ट अतिथिहरु

२८ फागुन, काठमाडौं । सैनिक दिवसको दिन नेपाली सेनाले टुँडिखेलमा आयोजना गरेको कवाज, बढाइसहितको विशेष समारोहले सबैको ध्यान त तान्यो नै । त्यससँगसँगै विशिष्ट अतिथिहरुको आसनले पनि धेरैको ध्यान खिच्यो । किनभने यस वर्षको आसन अघिल्लो वर्षको तुलनामा फरक थियो ।

सैनिक मञ्चमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली सबैभन्दा अघिल्लो लहरमा छन् । कार्यक्रम आयोजक भएकाले प्रधानसेनापति पूर्णचन्द्र थापा पनि अघिल्लो लहरमै छन् । तर, सभामुख अग्नि सापकोटा र प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा भने दोस्रो लहरमा छन् ।

२०७६ सालको सैनिक दिवस समारोहको आसन

अघिल्लो वर्षसम्म राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीश अघिल्लो लहरमै हुन्थे तर यस वर्ष सभामुख र प्रधानन्यायाधीशलाई दोस्रो लहरमा राखिएको दृष्यले धेरैको ध्यान खिच्यो ।

हामीले यो जिज्ञासा नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेललाई राख्यौं । पौडेलले कोभिड संक्रमणको जोखिमलाई ध्यान दिँदै आसन परिवर्तन गरिएको बताए । ‘भौतिक दुरी कायम गर्नु पर्ने भएको हुनाले र पहिलो-दोस्रो लहरको बीचको कुर्सि हटाइएकाले फरक दृष्य देखिएको हो ।’ उनले यसलाई अन्यथा अर्थ लगाउन नहुने बताए । ‘यो असहज होइन, यसलाई असहज नबनाऔं,’ सैनिक प्रवक्ता पौडेलले भने, ‘यो विशुद्ध स्वास्थ्य सुरक्षाको मापदण्डअनुसार भएको हो ।’

कार्यक्रम आयोजक भएकाले र कार्यक्रमको विवरण टक्राउनु पर्ने भएकाले प्रधानसेनापति सधैं अघिल्लो लहरको दायाँपट्टी कुनामा बस्ने गरेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment