Comments Add Comment

पाकिस्तान अदालतले दियो टिकटकमाथि प्रतिबन्धको आदेश

२८ फागुन, काठमाडौं । पाकिस्तानको एक अदालतले लोकप्रिय भिडियो एप टिकटकमाथि प्रतिबन्धको आदेश दिएको छ । टिकटकमा अश्लील सामग्रीका भिडियो राखिएको भन्दै अदालतले टिकटकमाथि प्रतिबन्धको आदेश दिएको हो । पाकिस्तानमा ६ महिनामा दोस्रोपटक टिकटकमाथि प्रतिबन्ध लगाइएको हो ।

पाकिस्तानको पेशावरको उच्च अदालतका मुख्य न्यायाधीश काइसर रासिद खानले बिहीबार टिकटकमाथिको मुद्दामा यस्तो आदेश दिएका हुन् । खानले टिकटकमा पोस्ट भएका केही भिडियोहरु ‘पाकिस्तानी समाजको लागि अस्वीकार्य’ रहेको बताएका छन् । अदालतले इन्टरनेट सेवा प्रदायकहरुलाई टिकटकले आफ्नो प्लेटफर्ममा त्यस किसिमका भिडियो नियन्त्रण गर्ने व्यवस्था नगरेसम्मका लागि यो सेवामा रोक लगाउन आदेश दिएको छ ।

पाकिस्तानको दूरसञ्चार प्राधिकरण (पीटीए)ले अदालतको आदेश पालना गर्ने बताएको छ । टिकटकले भने अदालतको आदेशलाई चुनौती दिँदै पुनरवलोकनको आवेदन दिने बताएको छ । टिकटकले यस किसिमका सामग्रीलाई नियन्त्रण गर्ने मापदण्ड अहिले आफ्नो प्लेटफर्ममा रहेको दाबी गरेको छ । टिकटकले मानिसले आफ्नो क्षमता प्रदर्शनको लागि यो प्लेटफर्म ल्याइएको बताउँदै कुनै किसिमको गलत सामग्रीहरु आफ्नो प्लेटफर्ममा प्रकाशित नहुने बताएको छ । पाकिस्तानमा पनि मापदण्डभन्दा बाहिरका कुनै पनि सामग्री पोस्ट हुनबाट रोक्न स्थानीय भाषा बुझ्ने मानिसहरुको टोली रहेको कम्पनीले एक विज्ञप्तिमा उल्लेख गरेको छ । आगामी दिनमा पनि पाकिस्तानका लाखौं प्रयोगकर्ताको लागि सेवालाई निरन्तरता दिने बताएको छ ।

यसअघि गत अक्टोबरमा पनि पीटीएले टिकटकमाथि यस्तै मामिलामा प्रतिबन्धको निर्णय गरेको थियो । १० दिनपछि पीटीएले टिकटकमाथिको प्रतिबन्ध हटाएको थियो ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment