Comments Add Comment
साताको बजार :

दैनिक उपभोग्य खाद्यवस्तुमा अस्वभाविक मूल्यवृद्धि

२८ फागुन, काठमाडौं । गत एक हप्तामा बजारमा धेरै प्रकारका खाद्य वस्तुको मूल्य बढेको छ । हरियो तरकारी, तयारी कुखुराको मासु, खाने तेल, दाललगायतका खाद्यन्नको मूल्य खुद्रा विक्रेताले बताएका छन् ।

खाने तेलको भाउ यो साता पनि बढेको छ । कुखुराको मासु तथा हरियो तरकारीको भाउ वृद्धि भएको छ । तर, नियामक निकायबाट भने कुनै अनुगमन भएको छैन ।

यो साता बजारमा तोरी, सोयबिन, सूर्यमूखी गरी तीनै प्रकारका तेलको मूल्य बढेको छ । गत साता प्रतिलिटरमा १० रुपैयाँले बढेको सूर्यमुखी तेलको थोक मूल्य पुनः १० रुपैयाँले बढेर २२५ रुपैयाँ प्रतिलिटरमा पुगेको नेपाल खुद्रा ब्यापार संघले जनाएको छ ।

सोयबिनको तेलको भाउ प्रतिलिटर २०० सय रुपैयाँबाट बढेर २१० पुगेको छ भने २७३ रुपैयाँ प्रतिलिटरबाट ७ रुपैयाँले बढाएर तोरीको तेलको प्रतिलिटर मूल्य २८० रुपैयाँ पगेको संघका सदस्य ध्रुब अधिकारीले  जानकारी दिए । अस्वभाविक रूपमा मूल्यवृद्धि हुन थालेको उनले बताए ।

यो साता मासको दालको भाउ पनि सामान्य वृद्धि भएको छ ।

बर्डफ्लुका कारण बजारमा मासुको अभाव भएको भन्दै व्यवसायीहरुले कुखुराको मासुको भाउ प्रतिकिलो ४ सय रुपैयाँ नघाएका छन् । गत साता ३९० देखि ४०० रुपैयाँसम्म कारोबार भएको तयारी मासुको भाउ ४१० रुपैयाँ पुगेको राष्ट्रिय मासु व्यवसायी संघका अध्यक्ष रमेश खड्गीले जानकारी दिए ।

दुई साताको अवधिमा झण्डै ६० रुपैयाँले प्रतिकिलोमा मासुको मूल्य बढेको उनको भनाइ छ । यो साता राँगाको मासु र बंगुरको मासु भाउ स्थिर छ ।

यस्तै यो साता मसलाजन्य तरकारीको भाउ ५ देखि २० रुपैयाँसम्मले घटेकोे छ । लसुनको भाउ प्रतिकिलोमा २० रुपैयाँसम्मले सस्तिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

यो साता केराको भाउ दर्जनमा १० रुपैयाँले बढ्दा अन्य फलफूलहरुको मूल्य स्थिरजस्तै छ ।

हरियो तरकारीहरुमा काउली, च्याउ, गोलभेडा लगायतको भाउ बढेको छ । तराई र स्थानीय काउलीको भाउ किलोमा २५ रुपैयाँसम्म थोकमै बढेको छ भने गोलभेडाको भाउ प्रतिकिलो १० रुपैयाँसम्म बढेको छ ।

कन्य च्याउको मूल्य किलोमा ५० रुपैयाँसम्मले बढ्दा ब्रो-काउलीको भाउ १० रुपैया थोकमै महँगो भएको छ ।

राजनीतिक संक्रमणका कारण देखाएर बजार अनुगमन नहुँदा ब्यापारीहरु खाद्य वस्तुमा मनलादी भाउ बढाइएको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना बताउँछन् ।

थोकमै बढेको भाउ खुद्रामा झन पसलपिच्छे फरक हुने र उपभोक्ताको ढाड सेक्ने काम भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment