Comments Add Comment

संसदीय समितिमा जसपा नेतालाई प्रश्न : माननीयज्यू, मन्त्री कहिले हुने हो ?

'संसदीय समितिमा संसद पुनर्स्थापनाको खुसी'

उद्योग समितिको फाइल तस्वीर ।

२८ फागुन, काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि शुक्रबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पहिलो पटक बैठक राख्यो । विषय थियो– सातवटै प्रदेशका पर्यटकीय गन्तव्यका सम्बन्धमा छलफल गर्ने ।

विषय र प्रसंग अर्को भए पनि सांसदहरुले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा धारणा राखे ।

माओवादी केन्द्रकी सांसद बोधमाया कुमारी यादवले समितिको बैठकमा उपस्थित हुन पाउँदा खुसी लागेको बताइन् । ‘प्रतिगमनको पश्चात यो बैठकमा बस्दा खुसी लागिराखेको छ । किनभने हामी यो बैठकमा पुनः बस्न पाइराखेका छौं’ उनले भनिन् ।

माओवादी केन्द्रकै अर्का सांसद सुदन किरातीले पनि ‘प्रतिगमन सच्चिएपछिको पहिलो बैठकमा उपस्थित छौं’ भन्दै धारणा राख्न सुरु गरे । तर, यस सम्बन्धमा थप चर्चा गरेनन् ।

बैठकपछि किरातीले अनलाइनखबरसँग भने ‘संसद नै समाप्त पारेको सन्दर्भमा, कोमामा पुगेको संसद ब्युँझिएर आउँदा को खुसी हुँदैन र ! स्वाभाविक रुपमा खुसी हुनुपर्छ’ किरातीले अनलाइनखबरसँग भने ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले प्रतिनिधिसभा विघटन हुनु र सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनर्स्थापित हुनुलाई ‘राजनीतिमा कोरोनाको पहिलो सर्ट’ को संज्ञा दिए ।

राजनीतिमा कोरोनाको दोस्रो सर्ट देखिन बाँकी रहेको उनको भनाइ छ ।

‘राजनीतिमा कोरोनाको पहिलो सर्ट सिद्धिएपछि बसिरहेका छौं । अब सेकेण्ड सर्टमा नेपालको राजनीति कहाँ पुग्ने हो ठेगान छैन’ उनले भने, ‘तथापि हामी अनिश्चयकै परिस्थितिमा समितिको क्रियाकलाप अघि बढाउन उपस्थित छौं ।’

सांसद राजभण्डारीले समितिको बैठक अलि धेरै राख्न सभापति सभापति पवित्रा निरौला (खरेल) लाई आग्रह गरे ।

जवाफमा सभापति खरेलले कोरोना भाइरस (कोभिड–१९) र राजनीतिक कोभिडको समस्याले सोचेजति काम गर्न नपाएको बताइन् ।

‘समितिको कामलाई अझै व्यवस्थित ढङ्गले लैजानुपर्ने हो । तर, कहिले कोभिडको समस्या, कहिले राजनीतिक कोभिडको समस्या, कहिले के का समस्या, यी समस्याले जति काम गर्नुपर्ने हो, त्यति गर्न अप्ठ्यारा आइलागे’ सभापति खरेलले भनिन् ।

बार्षिक कार्ययोजना नै तयार पारेर समितिको कामलाई प्रभावकारी बनाउन खोजिएको भए पनि राजनीतिक कोभिड (प्रतिनिधिसभा विघटन)ले रोकिएको उनको भनाइ थियो ।

बैठकपछि सभापति खरेललाई ‘प्रतिनिधिसभा पुनर्स्थापित हुँदा खुसी देखिनु भएन किन ? भन्ने प्रश्न गर्दा उनले खुसी भइहाल्ने राजनीतिक परिस्थिति निर्माण भइनसकेको जवाफ फर्काइन् ।

‘अहिले पुनर्स्थापित भयो भनेर म खुसी, उत्साह, चौपट्टै भएको छैन । अहिले नै रमाउनुपर्ने केही छैन । निराश, हताश हुनुपर्ने पनि होइन । मलाई ठूलो विजय भयो भन्ने लागेको पनि छैन’, खरेलले अनलाइनखबरसंग भनिन् ।

प्रतिनिधिसभा विघटन हुँदा सांसदहरुको महत्वपूर्ण समय खेर गएको सभापति खरेलको भनाइ छ ।

‘पुनर्स्थापित हुँदा खुसी लागेको छ, संविधानमै नभएको अधिकार प्रयोग गरिएको थियो, त्यसैलाई टेकेर अदलातबाट पुनस्थापित भयो । अब कुनै पनि प्रधनमन्त्रीले विघटन गर्न नपाउने भए, यो नजीर बन्यो’, सभापति खरेलले भनिन् ‘तर, यो बीचको समय हाम्रो त्यसै खेर गयो । हामी देशको विकासका लागि कति धेरै काम गर्न सक्थ्यौं होला । केही गर्न पाइएन ।’

जसपाका सांसदप्रति छेडछाड

शुक्रबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको पनि बैठक थियो । सभापति बिमल श्रीस्वास्तवले बैठकको अन्तिममा अर्को बैठक चैत ४ गते बस्ने जानकारी गराए ।

बैठक हलमा सभापतिको सामुन्ने बसेका प्रमुख विपक्षी कांग्रेस सांसद अभिषेकप्रताप साहले हाँस्दै प्रश्न गरे ‘सभापतिज्यू त्यतीबेलासम्म मन्त्री भइसक्ने हो कि ! बैठकको सभापतित्व कसले गर्ने ?’

बैठक कक्षमा हाँसो फैलियो ।

कुर्सीबाट उठ्दै गरेका एमालेका सांसद सोमप्रसाद पाण्डेले सांसद साहको भनाइमा सही थाप्दै भने, ‘साँच्ची मन्त्री कहिले हुने हो ? पक्कै हो ?

सांसदहरु फेरि हाँसे ।

सभापतिको नजिकै रहेका कांग्रेसका अर्को सांसद प्रकाश रसाइली (स्नेही)ले पनि साह र पाण्डेको बोलीमा लोली मिलाउँदै ‘चार गतेसम्म सभापतिज्यू मन्त्री हुने’ भन्दै हाँसे ।

सांसदहरुले आफूलाई मन्त्री हुने भन्दै अर्को बैठकमा सभापतित्व गर्ने मान्छेको खोजी गरेपछि जनता समाजवादी पार्टी (जसपा)का सांसद एवं समिति सभापति श्रीस्वास्तवले दुवै हात उठाए र हाँस्दै भने ‘साथीहरुले कुरा उठाउनु भयो, ठीकै हो तर वास्तवमा भन्दा म मन्त्रीको दौडमा छैन ।’

सभाहलमा पुनः हाँसो गुञ्जियो ।

पछिल्लो समय जसपा सरकारमा जाने चर्चा छ । प्रधानमन्त्री ओलीले जसपालाई सरकारमा लगेर आफ्नो पक्षमा बहुमत जुटाउने प्रयास गरिरहेका छन् ।
जसपा सरकारमा जाने चर्चामै टेकेर सांसदहरुले सभापति श्रीस्वास्तवप्रति छेडछाड गरेका हुन् ।

लयमा फर्किँदै मिनी संसद

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेसंगै संसदीय समितिका काम कारबाही ठप्प भएका थिए । सर्वोच्च अदालतबाट फागुन ११ गते प्रतिनिधिसभा पुनर्स्थापित भएपछि संसदीय समितिहरु पुस ५ अघिकै लयमा फर्किन खोजिरहेका छन् ।

शुक्रबार प्रतिनिधिसभाका विभिन्न पाँच वटा संसदीय समितिका बैठक थिए ।

जनसरोकारका विषयमा सरकारलाई खबरदारी गर्ने र सरकारका कामको निगरानी गर्ने र गलत गरे सच्याउन निर्देशन दिने काम संसदीय समितिका हुन् । सार्वजनिक वृत्तमा हुने भ्रष्टाचार र अनियमितताबारे पनि संसदीय समितिहरुले खबरदारी गर्ने गर्दछन् ।

तर, राजनीतिक सरगर्मी कता केन्द्रित हुन्छ भन्ने यकीन नभएका कारण संसदीय समितिहरु अझै सक्रिय हुन सक्ने स्थिति नरहेको बताउँछिन् अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति खरेल ।

प्रतिनिधिसभाको बैठक चैत ३ गते बस्दैछ । उक्त बैठकपछि राजनीति कता जान्छ भन्ने देखिन सक्ने भएकाले सोही अनुसार अगाडि बढ्ने सोच बनाएको पनि सभापति खरेलले जानकारी दिइन् ।

सभापति खरेल एमालेका वरिष्ठ नेता माधव नेपाल निकट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment