News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वाधार विकास समितिले अलपत्र पूर्वाधार आयोजनाको व्यवस्थापन समयमा सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ।
- सभापति आशिष गजुरेलले आगामी परियोजनामा विगतका कमजोरी नदोहोरिन नीतिगत सुधार आवश्यक भएको बताए।
- समितिले राष्ट्रिय गौरवका आयोजनाको प्रगति र समस्याको समाधानका लागि उपसमिति गठन गरेको छ।
१५ वैशाख, काठमाडौं । पूर्वाधार विकास समितिले अलपत्र अवस्थामा रहेका पूर्वाधार आयोजनाको व्यवस्थापन समयमा नै सम्पन्न गर्न निर्देशन दिएको छ ।
मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको समितिको बैठकमा सभापति आशिष गजुरेलले विकास निर्माणका परियोजनालाई तत्काल व्यवस्थित गर्न सरकारलाई निर्देशन दिएका हुन् ।
उनले आगामी दिनमा शुरु हुने परियोजनामा पनि विगतका कमजोरी दोहोरिन नदिन नीतिगत सुधार गर्नुपर्ने बताए ।
नियम, प्रक्रिया र कार्यान्वयन तहमा रहेका अस्पष्टता र त्रुटिहरूको गहिरो अध्ययन गरी समितिले सरकारलाई ठोस सुझाव र निर्देशन दिने उनको भनाइ छ ।
उनले विकास निर्माणका सन्दर्भमा समितिप्रति सरकार जवाफदेही हुनुपर्ने बताए ।
मन्त्री र सचिवहरूले संसदीय समितिमा उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘पूर्वाधारहरू जुन अलपत्र परेका छन्, तिनीहरूको पनि व्यवस्थापन हुनुपर्यो, समयमा नै काम सम्पन्न हुनुपर्छ । आगामी दिनमा आउने परियोजनामा विगतका गल्तीहरू दोहोरिन दिनु हुँदैन । त्यसका लागि हामीले निती नियम र प्रक्रियामा के के अस्पष्टता छन् ? के के त्रुटिहरू छन् ?, ती कुराहरूमा हामीले गहन ढंगले छलफल गरेर सरकारलाई सुझाव, निर्देशन दिने, समन्वय गर्ने गर्नुपर्छ ।’
उनले संसदीय समितिभन्दा सरकार माथि नहुने बताए । समितिले कुनै दबाबमा नपरी स्वतन्त्र रूपमा काम गर्ने उनले प्रतिबद्धता पनि जनाए ।
‘सरकारका मन्त्री, सचिवले पनि समितिमा आएर जवाफ दिनुपर्छ । संसदीय समितिको अनुगमनमा मन्त्री, सचिवसँगै नजाने भन्ने हुँदैन, उहाँहरू जानैपर्छ । सरकार हामीभन्दा माथि हुँदैन । समितिले आफ्नो काम गर्छ, यसमा हामी कसैको दबाबमा नपरी काम गर्छौं,’ उनले भने ।
समितिले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति, देखिएका समस्या र तीनको समाधान गर्नका लागि प्रतिवेदन तयार गर्न उपसमिति समेत गठन गरेको छ ।
प्रतिक्रिया 4