+
+
Shares
संसद्‌मा नयाँ :

यातायात तथा पूर्वाधारविज्ञको संसद्‍मा पाइला

गजुरेलले सार्वजनिक यातायात र पूर्वाधारका बेथितिलाई निरन्तर सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट उठाउँदै आएका छन् ।

अच्युत पुरी अच्युत पुरी
२०८२ फागुन ३० गते १६:१३

२९ फागुन, काठमाडौं । यातायात तथा पूर्वाधारविद् आशिष गजुरेल सिन्धुली–२ मा रास्वपाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए । कडा प्रतिस्पर्धाबीच नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ दाहाल (राजन) लाई उछिन्दै गजुरेलले संसद्को यात्रा तय गरेका थिए ।

आफूलाई मतदाताले कामको मूल्यांकन गर्दै संसद्का लागि चुनेर पठाएको उनले बताएका छन् । गजुरेल चुनावमा होमिनुअघि नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकको भूमिकामा कार्यरत थिए । सो पदमा उनको दोस्रो कार्यकाल थियो ।

अर्थात् उनी राज्य संयन्त्र भित्रै बसेर निरन्तर काम गरिरहेका थिए । ‘म विद्रोही र आफूलाई चित्त नबुझेको कुरा गरिहाल्ने स्वभावको मान्छे । त्यसकारण म पदमा रहँदा पनि राज्यले गर्ने गल्तीमा प्रश्न उठाउन कहिल्यै छाडिनँ,’ उनले भने ।

प्रश्न उठाउँदा उनी मन्त्री, सचिव र नेताहरूको तारोसमेत बन्थे । साथीभाइले पनि सुझाव दिन्थे, ‘जागिर खाएपछि धेरै नबोल्नू ।’ तर उनलाई जागिरको परवाह भने थिएन । बरु आफ्नो स्थानबाट कति सुधार गर्न सकिन्छ, त्यसमा तल्लिन रहे ।

‘म इन्टरमोडल यातायात समितिमा आउँदा अधिकांश परियोजना अलपत्र थिए,’ गजुरेल भन्छन्, ‘चोभार सुक्खा बन्दरगाह मेरो नेतृत्वमा निर्माण सम्पन्न भई सञ्चालनमा आयो । अन्य बन्दरगाह तीव्र गतिमा निर्माण भइरहेका छन् ।’

यसबीचमा आयोजना कार्यान्वयनमा उनले जे भोगे, त्यसले राजनीतिमा आउन प्रेरित गर्‍यो । ‘चाँदनी दोधारा सुक्खा बन्दरगाह ३ वर्षमा सकिनुपर्ने आयोजना हो । तर रुख कटानको प्रक्रिया सक्नै ३ वर्ष लाग्यो,’ उनी भन्छन्, ‘यो शैलीले विकास सम्भव छैन ।’

चुनावी मैदानमा होमिनु अगाडि नै सिन्धुली क्षेत्र नम्बर २ मा ‘सजिलो छैन है’ भन्ने सुझाव धेरैबाट आएको थियो । तर पार्टी केन्द्रीय नेतृत्वको विश्वास र स्थानीय नेतृत्वले गरेको पूर्ण सहयोगले जित सम्भव भएको उनको विश्लेषण छ ।

निर्वाचनका दौरान उनी सिन्धुली–२ का सबै वडामा पुगे । सो क्रममा यति धेरै पैदल यात्राको अनुभव भयो कि, सोही मिहिनेतले आफूलाई जनमानसमा चिनाउने मौकासमेत पाएको उनी बताउँछन् । ४५ दिनको चुनावी अभियानमा झन्डै १ हजार किलोमिटर पैदल यात्रा गरेको अनुमान उनी गर्छन् । दैनिक २३/२३ किलोमिटरसम्म हिँडेको उनले बताए ।

आफ्नो जित आफूले उठाइरहेका मुद्दा सम्बोधनको एक कदम भएकोसमेत उनी बताउँछन् । सार्वजनिक यातायात सुधार र पूर्वाधार निर्माणमा देखिएका ढिलासुस्तीमा खरो उत्रन सकिने अवस्था भए पनि विगतका सरकारहरूले त्यसो नगर्दा नागरिकमा असन्तुष्टि बढेको उनी स्वीकार गर्छन् । ‘हामीप्रति जुन भरोसा गर्नु भएको छ, अब असफल हुने छुट छैन,’ उनी भन्छन् ।

गजुरेलले सार्वजनिक यातायात र पूर्वाधारका बेथितिलाई निरन्तर सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट उठाउँदै आएका छन् । आफ्नो जितमा सामाजिक सञ्जालको पनि भूमिका उनी देख्छन् । धेरै मतदाताले यसअघि नै यातायात पूर्वाधार विज्ञ आफ्नो क्षेत्रमा उठेको जानकारी पाएको प्रतिक्रिया दिने गरेको अनुभव उनी सुनाउँछन् । धेरै मतदाताले टिकट पाउनासाथ सोही रूपमा चिनेको उनले बताए ।

कतिपय ग्रामीण भेगका मतदातासँग भने आशिष गजुरेल को हो र किन चाहिन्छ ? भन्नेबारे चिनाउने समय नपुगेको उनको भनाइ छ । सोहीअनुसार मत ग्रामीण भेगमा कम आएको विश्लेषण उनको छ ।

यस पटक मतदाताले सुशासन कायम हुनुपर्छ, भ्रष्टाचार अन्त्य हुनुपर्छ र रोजगारी पाउनु पर्‍यो भन्ने मुद्दा विशेषगरी उठाएको उनले पाए । ‘अहिले जनताले ६ लेनको सडक चाहेकै छैनन्,’ उनी भन्छन्, ‘बरु सडक, खानेपानी विस्तारै बन्लान्, तर देशमा सुशासन र भ्रष्टाचार हुनु भएन भन्नेमा जनता स्पष्ट छन् ।’

हरेक गाउँमा पुग्दा आफूले यस्तै माग सुनेको उनको भनाइ छ । सोही भारी बोकेर सिंहदरबार आएको उनले बताए । ‘म निर्वाचित भई गेटबाट निस्कनासाथ जनताले आफ्नो काँधमा बोकेर घुमाउनुभयो । जनताले मलाई काँधमा बोक्नुको मतलब आफ्नो भारी हामीमाथि बिसाएको हो नि,’ उनी भन्छन्, ‘सोही भारी लिएर म सिंहदरबार आएको हुँ ।’ उनको अबको प्राथमिकता समेत सोही भारी कम गर्नेतर्फ हुने उनको भनाइ छ ।

पेसाले इन्जिनियर गजुरेल राजनीति सुरु गरेको ५० दिनमै सांसद भए । त्यस कारण उनी आफूलाई भाग्यमानी ठान्छन् । त्यसको पृष्ठभूमिमा भने उनको व्यावसायिक योगदान धेरै छ ।

गजुरेल एक दशक जर्मनीमा पढेर देशको सेवा गर्ने उद्देश्यले नेपाल फर्किएका हुन् । अबको बाँकी जीवन राजनीति र समाजसेवामै बिताउने उनको योजना छ । सोहीअनुसार जनताको सेवामा आफू सक्रिय हुने उनी बताउँछन् ।

भिडियो/फोटो : कमल प्रसाईं

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?