+
+

भारतबाट पेट्रोल ढुवानी गर्ने ट्याङ्करमा विराटनगरबाट डिजेल तस्करी

हरि अधिकारी हरि अधिकारी
२०७७ चैत २ गते १३:०२

२ चैत, विराटनगर । विराटनगरबाट भारततर्फ तस्करीका लागि डिजेल लोड गरिएको ट्याङ्कर प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतको बरौनीबाट ल्याएको पेट्रोल डिलरहरुमा अनलोड गरी तस्करीका लागि डिजेल लोड गरेको अवस्थामा को१ख ५९१२ नम्बरको ट्याङ्कर प्रहरीले नियन्त्रणमा लिएको हो ।

शनिबार आयल निगमका कर्मचारीले लक लगाउने क्रममा इन्धन भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत अररिया मिरगन्जका २६ वर्षीय मोहमद सजाद र २१ वर्षीय इमरोज आलम छन् ।

आयल निगम प्रादेशिक कार्यालय विराटनगरका सूचना अधिकारी दिवस विष्टका अनुसार शुक्रबार दिउँसो २० हजार लिटर पेट्रोल लिएको आएको ट्याङ्करलाई सोही दिन बेलुका डिलरहरुमा पठाइएको थियो ।

शनिबार बिहान आयल निगम कार्यालयमा प्रवेश गरेको ट्याङ्कर लक गर्ने क्रममा डिजेल भेटिएको हो । ट्याङ्करको २ नम्बर च्याम्बरमा २ हजार ६६० लिटर भेटिएको हो ।
भारतमा इन्धन महङ्गो भएपछि निगमले बरौनीबाट लोड भएका र विराटनगरबाट इन्धन लिनका लागि बरौनी जाने ट्याङ्करमा लक लगाउँदै आएको थियो । शनिबार बिहान लक लगाउने क्रममा ट्याङ्करमा इन्धन भेटिएको उनले बताए ।

‘लक लगाउने क्रममा पेट्रोल बोक्ने ट्याङ्करमा डिजेल लोड गरेको भेट्यौं,’ उनले भने, ‘सोधीखोजी गर्दा चोरी गरी लैजान खोजेको देखिएपछि कारबाहीका लागि प्रहरी हुँदै राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएका छौं ।’

पक्राउ परेका मोहमद सजाद र इमरोज आलम ।

नेपालको तुलनामा भारतीय बजारमा पेट्रोल करिब २५ रुपैयाँ र डिजेल २० रुपैयाँ महङ्गो छ । महङ्गो भएका कारण ट्याङ्करबाटै इन्धन तस्करी हुने गरेको भेटिएको हो । ‘दुई महिनाअघि वीरगञ्जमा यस्तै घटना भेटिएपछि हामीले कडाइ गरेका थियौं,’ विष्टले भने, ‘यहाँ पनि त्यस्तै प्रकृतिको घटना देखियो ।’

डिजेल बरामद भएको ट्याङ्कर ढुवानी व्यवसायी चरणपि्रत सिंहको हो । शुक्रबार राति सिंहको ट्याङ्करले बुढीगंगागको निुमवामा महेश अग्रवालले सञ्चालन गरेको नितेश आयलबाट डिजेल लोड गरेको थियो ।

तेल तस्करीमा पम्प सञ्चालक र ट्याङ्कर धनीको संलग्नता रहेको आयल निगम स्रोतले बताएको छ । ड्राइभरले मात्रै यति ठूलो तस्करी गर्ने आट गर्न सक्दैन्,’ आयल निगम स्रोतले भन्यो, ‘भारतबाट वैधानिक बाटो हुँदै पेट्रोल ल्याउने र यहाँबाट डिजेल तस्करी गरेको देखियो ।’

ट्याङ्कमा लागेको लक खोल्ने चाबी बरौनी र विराटनगरमा मात्रै रहेको निगमको दाबी छ । तेल तस्करी गर्ने गिरोहले बाटोमा नै लक खोलेर चोरी गर्दै आएको प्रहरीले स्रोतले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईका अनुसार इन्धन तस्करीको घटना बाहिर आएपछि प्रहरीले पनि अनुसन्धान सुरु गरेको बताए । तस्करीमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरी अनुसन्धान भइरहेको बताए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?