Comments Add Comment

भारतमा फेरि बढ्यो कोरोना संक्रमण, सोमबार २६ हजार जनामा पुष्टि

२ चैत, काठमाडौं । भारतमा एकैदिन २६ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २६ हजार २९१ नयाँ संक्रमित फेला परेका हुन् ।

भारतमा सन् २०२१ को सुरुवातदेखि निरन्तर घट्दो क्रममा रहेको कोरोना संक्रमण केही समययता निरन्तर बढिरहेको छ । फेब्रुअरीको मध्यमा भारतमा दैनिक करिब ९ हजार नयाँ संक्रमित भेटिएका थिए । तर, त्यसपछि भने संक्रमण पुनः बढ्न थालेको हो ।

एक साताअघिसम्म भारतमा दैनिक नयाँ संक्रमित करिब १५ हजार थिए । तर, एक सातामा भने यो संख्या करिब दोब्बर बढेको हो । आइतबार पनि भारतमा कोरोनाका २५ हजारभन्दा धेरै संक्रमित फेला परेका थिए ।

अहिले देखिएका नयाँ संक्रमितमध्ये आधाभन्दा धेरै महाराष्ट्रका छन् । पछिल्लो २४ घण्टामा महाराष्ट्रमा मात्र १६ हजार ६२० नयाँ संक्रमित फेला परेका छन् । अहिलेसम्म भारतमा एक करोड १० लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् भने एक लाख ५८ हजारभन्दा धेरैको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ ।

भारतको महाराष्ट्रसहित अन्य सात राज्यमा निरन्तर कोरोना संक्रमण बढिरहेको छ ।

भारतका स्वास्थ्य अधिकारीहरुले कोरोना संक्रमणमा देखिएको वृद्धिले आश्चर्यमा पारेको बताएका छन् । उनीहरुका अनुसार भारतमा कोरोनाको नयाँ प्रकार (भेरियन्ट) फैलिएकाले यसले कोरोना संक्रमण नियन्त्रणको काम थप जटिल भएको हो ।

केही अधिकारीहरुले भने मानिसहरुले कोरोना नियन्त्रणको मापदण्ड पालना गर्न छाडेकाले संक्रमण बढ्न थालेको बताएका छन् । कोरोना नियन्त्रणको लागि अहिले भारतले कोरोना खोप अभियान पनि सञ्चालन गरिरहेको छ । अहिलेसम्म भारतमा साढे दुई करोडभन्दा धेरै मानिसले कोरोना खोप लगाइसकेका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment