Comments Add Comment

उपचार खर्च नभएपछि सन्तान माया मारेर हिँडे बाबुआमा

उपचारका क्रममा शिशुको मृत्यु

३ चैत, विराटनगर । उपचार खर्च नभएपछि नाबालक शिशुलाई अस्पतालमै छाडेर घर गएका एक दम्पत्तिले छोरा गुमाएका छन् । नवशिशुको उपचारका क्रममा मृत्यु भएपछि अहिले शव जिम्मा पनि कसैले लिएको छैन ।

मोरङको जहदा गाउँपालिका–७ कि २४ वर्षीय पार्वती मुर्मुले फागुन २५ गते छोरा जन्माएकी थिइन् । तर शिशु अस्वस्थ भएपछि पार्वती र उनका श्रीमान राजा मरण्डीले उपचारका लागि सञ्जिवनी अस्पतालमा पुर्‍याए । एनआईसीयू नभएको भन्दै सञ्जीवनीले नोबेल मेडिकल कलेजमा रेफर गर्‍यो ।

शिशुलाई नोबेल मेडिकल कलेजको एनआईसीयूमा भर्ना गरियो । तर मरण्डी दम्पत्ति छोरा छाडेर घर गए ।

शिशुको बुबा आमा सम्पर्कविहीन भएपछि नोबेल मेडिकल कलेजले प्रहरीलाई खबर गरेको थियो । ‘आफन्तलाई खोज्दा सम्पर्कमा नआएपछि हामीले प्रहरीलाई खबर गर्‍यौं,’ नोबेल मेडिकल कलेजका प्रशासकीय अधिकृत दीपेश राईले भने ‘प्रहरीलाई खबर गरेको भोलिपल्ट शिशुको मृत्यु भयो ।’

शव बुझ्न कोही पनि आएनन् । अस्पतालले उजुरी गरेपछि प्रहरीले सोमबार राजा मरण्डीलाई नियन्त्रणमा लिएको थियो । प्रहरीको सोधपुछका क्रममा मरण्डीले छोराको उपचार र औषधी खरिद गर्दा आफूसँग भएको १६ हजार रुपैयाँ सकिएपछि छोरालाई माया मारेर घर फर्किएको बताएका थिए ।

‘पहिलो सन्तान बचाउन सक्छु कि भनेर प्रयास गरेँ’ राजा मरण्डीको भनाइ उधृत गर्दै एक प्रहरी अधिकारीले भने, ‘१६ हजार रुपैयाँ सकियो, अरु पैसा जुटाउन सकिनँ । त्यसपछि सुत्केरी श्रीमतीको स्याहार घर गएँ ।’

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईका अनुसार मरण्डीलाई छोराको शव बुझ्न भन्दै सम्झाएर छाडिएको छ ।

मरण्डी दम्पत्ति ऐलानी जग्गामा बनाएको झुप्रो घरमा बसेर जीवन निर्वाह गर्दै आइरहेको छ ।

नोबेल मेडिकल कलेजका प्रशासकीय अधिकृत राईका अनुसार आमा पार्वतीको स्वास्थ्य बिमा भएका कारण शिशुको उपचार खर्च बिमाबाटै ब्यहोरिन्छ ।

अब यो दम्पत्तिले नोबल मेडिकल कलेजमा छोराको उपचार खर्चवापत ११४ रुपैयाँ तिर्नुपर्नेछ । ‘आमाको स्वास्थ्य बिमा भएकाले सोहीबाट छोराको उपचार भयो,’ उनले भने ‘शुल्क लाग्दैन थियो, किन उहाँहरु छाडेर जानुभयो जानकारी भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment