Comments Add Comment

सातै प्रदेशमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२१’ हुने

५ चैत, काठमाडौं । लिभिङ विथ आइसिटीले सातै प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२१ को आयोजना गर्ने भएको छ । वैशाख पहिलो सातादेखि शुरु हुने आइडिया फेस्टमा स्थानीय स्टार्टअप र इन्नोभेटिभ आइडिया भएका व्यक्तिहरूले प्रतिस्पर्धामा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।

आइसिटी अवार्ड २०२१ को प्रि इभेन्ट क्याम्पियनको रूपमा आयोजना हुन लागिरहेको स्टार्टअप एण्ड आइडिया फेस्ट २०२१ सातै प्रदेशका प्रमुख शहरहरूमा आयोजना हुने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए । उनले अलाइनखबरसँग भने, ‘वैशाख पहिलो साता प्रदेश नं. १ को विराटनगरबाट शुरू हुन्छ । साथै कार्यक्रम जेष्ठ दोस्रो साता सुदूरपश्चिम प्रदेशको धनगढीमा गएर समापन हुन्छ ।’

यसैगरी प्रदेश २ मा बिरगञ्ज, बागमती प्रदेशमा हेटौडा, गण्डकी प्रदेशमा पोखरा, लुम्बिनी प्रदेशमा बुटवल र कर्णाली प्रदेशमा सुर्खेतमा कार्यक्रम आयोजना हुनेछ । फेस्टमा प्रविधि क्षेत्रमा काम गरिरहेका स्थानीय स्टार्टअप र विद्यार्थीका इन्नोभेटिभ प्रोजेक्टहरूले प्रतिस्पर्धामा सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ । चैत १ गतेदेखि खुला गरिएको रजिस्ट्रेशन चैत २५ गतेसम्म जारी रहनेछ । नेपाली स्टार्टअप डटकममा गएर स्टार्टअप वा आइडिया रजिस्टर गर्न सकिनेछ।

स्टार्टअप एण्ड आइडिया फेस्ट २०२१ मा उत्कृष्ट स्टार्टअपहरूका प्रडक्टहरू प्रदर्शनी गरिनेछ । यस कार्यक्रममा स्कुल तथा कलेजका विद्यार्थीले समेत इन्नोभेटिभ प्रोजेक्टहरू प्रदर्शन गर्न सक्नेछन् ।

फेस्टमा स्टार्टअपहरूका लागि मेन्टरिङ तथा बिजनेश ग्रोथको सेसनहरू र केहि स्थानमा ह्याकाथुन पनि सञ्चालन हुने आयोजकले बताएको छ । ह्याकाथुन कार्यक्रम कोड फर चेन्जसँग सहकार्यमा हुनेछ । यसैगरी राष्ट्रिय वाणिज्य बैंक, ब्रेनडिजिट र टेक्नोरियोले फेस्टको आयोजनामा सहकार्य गरेका छन् ।

हरेक प्रदेशबाट उत्कृष्ट एक स्टार्टअपलाई रू. १० लाखसम्मको सहुलियतपूर्ण ऋण सुविधा प्रदान गरिनेछ भने उत्कृष्ट आइडियालाई ३ लाखसम्मको ‘सिड फण्डिङ’ गरिनेछ ।

देशैभर स्टार्टअप, इन्नोभेसन र उद्यमशीलतालाई प्रवद्र्धन गर्ने उद्देश्यले फेस्ट आयोजना गरिएको छ भने सातै प्रदेशका उत्कृष्ट स्टार्टअप र आइडियालाई आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनालेमा सम्मान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment