+
+
Shares

संसदीय दल र केन्द्रीय कमिटीको दुवै बैठकमा नजाने नेपाल समूहको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ६ गते २०:०७

६ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको समूहले भोलि शनिबार बोलाइएको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।

एमाले अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बिहान संसदीय दल र केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

तर नेपाल समूहले दुवै बैठकमा नजाने बताएको छ । बानेश्वरमा बसेको नेपाल समूहको स्थायी कमिटी सदस्यहरुको बैठकले संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबार वा संसद भवन बानेश्वरको साटो प्रधानमन्त्रीको निजी निवासमा राखेर दललाई निजीकरण गर्न खोजेकाले बहिष्कारको निर्णय गरेको छ ।

दलको कार्यालय वा संसद भवनमा बैठक राखेर उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरे विचार गर्ने एक नेताले बताए ।

यस्तै २८ फागुनमा ‘विधान उल्लंघन गर्दै भएको निर्णय’ खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठकमा नजाने नेपाल समूहको निर्णय छ । ‘केन्द्रीय कमिटी बैठकका नाममा आफ्ना गुटका मानिसलाई मात्र खबर गरी फागुन २८ गते अवैध ढंगले भेला गरी विधान उल्लंघन गरिएकाले उक्त कथित बैठक खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने भएकाले भोलिका लागि प्रचारित बैठकमा सहभागी नहुने’ बानेश्वर बैठकको निर्णयमा भनिएको छ ।

सर्वोच्च अदालतको फैसालाले एमाले ब्युँताएपछि अध्यक्ष ओलीले २८ फागुनमा आफ्नो समूहको बैठक राखेर विधान संशोधन, जिम्मेवारी हेरफेर र माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादलसहित २३ नेतालाई केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरेको थियो । नेपाल समूहले भने सर्वोच्चको फैसलाअनुसार २ जेठ २०७५ को सांगठनिक संरचनामा फर्किनुपर्ने अडान राख्दै आएको छ ।

४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेको यो समूहले त्यही कमिटी ब्युँताउने समेत निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?