
८ चैत, काठमाडौं । टेलिभिजन-युट्युबमा प्रसारण हुने अधिकांश म्युजिक भिडियोमा एउटा नाम प्रायः जोडिएर आउँछ । त्यो हो, शिव विक ।
कोरियोग्राफर-नृत्य निर्देशकको रुपमा उनी निरन्तर गतिशील छन् ।
खासमा पप संगीतको जगमा उनले आफ्नो करियर उठाएका हुन् । राजेन्द्र सलभले उनलाई मौका दिए, एउटा गीतको नृत्य निर्देशन गर्न ।
नलिना चित्रकारको गीत थियो, ‘मेहेन्दी लगाउ मलाई, ऋङ्गारले सजाउ न ।’ २०५४ सालबाट उनले लोकदोहोरी गीतको कोरियोग्राफी सुरु गरे । त्यसयता उनले कहिल्यै विश्राम लिनु परेन । यो जाँगर, यो ऊर्जा, यो सिर्जनशीलता आखिर कसरी टिकिरहेको छ त ?
राजेश हमाल, भुवन केसीलाई लोकदोहोरीमा नचाउने शिव नै हुन् । आर्यन सिग्देललाई कोरस डान्सर बनाउने उनै शिव । तमामौँ म्युजिक भिडियो छन्, जसमा शिव विक जोडिएका छन् । आँखिर कस्तो पृष्टभूमिबाट उनले यो सबै गरे ?
शिवको संघर्षशील कथा छ ।
वि.स. २०५० साल । १७ वर्षको उमेरमा शिव विक चितवनबाट आठमाडौं आए । काठमाडौंमा उनका दाइ थिए । उनको दाइसँगै बसेर पढ्ने योजना थियो । तर, उनको मन नाचगानमा मन गइसकेको थियो । लेखपढमा कहाँबाट ध्यान जाओस । पढाइमा भन्दा नृत्यमा उनको झुकाव बढ्दै गयो ।
चितवनमा छँदा पनि उनी पूजाआजा वा सांगीतिक कार्यक्रममा पुगिहाल्थे । धुलो उडाएर नाच्थे । जसै काठमाडौं आए, उनले सुकिला र चम्किला मञ्चको दर्शन पाए । कहिले पुरानो नाचघर त, कहिले राष्ट्रिय सभागृह पुग्न थाले । जहाँ हरेक शुक्रबार र शनिबार नाटक तथा नृत्य प्रदर्शन हुन्थ्यो ।
शिवस्मरण गर्छन्, ‘मानिसहरुको भीडभाड लाग्थ्यो । म घुसेर भित्र छिर्थेँ । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसीलगायतका कलाकारले हाँस्य कार्यक्रम प्रस्तुत गर्थे । नृत्यका कार्यक्रम हुन्थे ।’
त्यहाँ उनी आफूलाई पनि नृत्यका लागि अवसर दिन आग्रह गर्थे । विस्तारै उनले त्यस्तास्टेज कार्यक्रममा समूहमा नाच्न पाए ।
पहिल्यैदेखि केही फरक काम गर्न चाहने शिवले नाचघरमा फरक खालको नृत्य देखाए । उनकै भाषामा ‘ट्युवलाइट डान्स’ थियो त्यो ।
‘आफ्नै ज्यानमा सिसा फोर्ने । मुखमा सिसा चपाउने, सिसामा हिँडने खालको डान्स थियो’, त्यो नृत्य गर्दाको तस्वीर देखाउँदै शिव भन्छन्, ‘त्यसबाट मैले पुरस्कारसमेत पाएँ ।’
स्टेजबाटै कोरियोग्राफीको अफर
स्टेज कार्यक्रममा थुप्रै चिरपरिचित अनुहार उपस्थित हुन्थे । शिव स्टेज कार्यक्रम गर्थे । नेपाली चलचित्रका चलेका अनुहारहरु अतिथिका रुपमा त्यहाँ आउँथे ।
एकदिन शिवको नृत्यबाट प्रभावित चलचित्र निर्देशक राजेन्द्र सलभले म्युजिक भिडियोमा कोरियोग्राफीको प्रस्ताव गरे ।
शिवले नलिना चित्रकारको आवाजमा ‘मेहन्दी लगाउ’ बोलको पप आधुनिक गीतमा मेलिना मानन्धरलाई नचाउँदै करिअर सुरु गरे । त्यो गीत राम्रो चलेको शिव बताउँछन् ।
शर्मिला वर्देवाको ‘काँस झै केश’ गीतमा कोरियोग्राफी गरे । यशकुमारलाई पहिलोपटक क्यामेरा फेस गराएको भिडियो आफूले कोरियोग्राफी गरेको शिवले बताए ।
आफ्नो कोरियोग्राफी रहेको सिताराम पोखरेलको गीतमा आर्यन सिग्देल कोरस नाचेको शिव स्मरण गर्छन ।
क्रमश लगातार म्युजिक भिडियोमा कोरियोग्राफी गर्दै गए । शिवले लोकदोहोरी भिडियोमा कोरियोग्राफी गर्ने अवसर भने कृष्ण फिल्मस्बाट पाए ।
लोकदोहोरीतर्फ पहिलो भिडियो ‘घुम्तीमा पिपलबोट’ भएको शिव बताउँछन् ।
‘वनमा काँडा छ’, ‘माझीदाई पोखरा फेवातालको’, ‘वनको काफल वनकै चरीलाई’, ‘सररर पानी घट्टमा’ जस्ता एकपछि अर्को भिडियो आए ।
शिवको कोरियोग्राफी रहेका गीतहरु चल्दै गए । त्यतिबेला म्युजिक भिडियो कोरियोग्राफरमा आफूमात्र रहेको शिव जिकिर गर्छन ।
दिनमा लोकेशन मिलाएर २-३ वटासम्म भिडियो छायाँकन गरेको उनको दाबी छ ।
स्टेज कार्यक्रममा एकैपटक धेरै कलाकार लाई नचाए पनि भिडियोमा तीनजना नचाउने प्रचलन थियो ।
शिवले ५ जना कलाकारलाई एकैपटक नचाए । पछि मुख्य मोडल राख्ने प्रचलनको सुरुआत भयो ।
शंकर बिसी चलचित्रको कोरस तथा स्टेजमा नृत्य गर्दै आएका थिए । शिवले शंकरलाई ‘पूर्वेली ए कान्छी’ बोलको गीतमा मोडलका रुपमा नचाए ।
४० जना कोरस राखेर शंकर र कविता थपलियालाई भिडियोमा नचाएको शिवले बताए । यो २०६३-६४ सालतिरको कुरा भएको उनको भनाइ छ ।
पछि शंकरले नै उनलाई पछाडि पारे । आफैँ नाच्ने, आफैँ निर्देशन गर्ने भएकाले एक समय शंकरले लोकदोहोरी भिडियोमा एकलौटी राज गरे ।
त्यसपछि पनि केही निर्देशकहरु आए । केही निर्देशकहरु हराए । तर, शिव दुई दशकभन्दा लामो समयदेखि कोरियोग्राफीमा सक्रिय छन् । शिवको कोरियोग्राफी रहेको ‘सालको पात टपरी’ पछिल्लो समयको लोकपि्रय गीत हो ।
उसो त शिवको सक्रियता लोकदोहोरी म्युजिक भिडियो कोरियोग्राफीमा मात्र रहेन् । चलचित्रमा समेत शिवले काम गरे । डेढ दशक अगाडि चलचित्र ‘बारुद’को गीतमा शिवले कोरियोग्राफी गरे ।
दुई वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र ‘प्रसाद’को ‘वनकी चरी के भन्छे’ गीत शिवले नै कोरियोग्राफी गरेका हुन् । ‘छ माया छपक्कै’को गीतमा पनि शिवले कोरियोग्राफी गरे ।
अन्य दर्जनौं चलचित्रमा कोरियोग्राफी गरेको शिव सम्झन्छन् । केही भोजपुरी चलचित्रका गीतहरुमा समेत कोरियोग्राफी गरिसकेका उनले आजसम्म पाँच हजार गीतमा कोरियोग्राफी गरेको बताए ।
राजेश हमालदेखि भुवन केसीसम्मलाई लोकदोहोरीमा नचाए
लोकदोहोरीमा चलचित्रका कलाकार कमैले काम गरिरहेको समय थियो । चलचित्रका कलाकार लोकदोहोरी भिडियोमा अभिनय गर्न हिच्किच्याउँथे ।
त्यही समयमा शिवले चलचित्रमा चलेका नायक-नायिकाहरूलाई लोकदोहोहोरी गीतको भिडियोमा नचाउन सुरु गरे ।
शिवले २०६०-६१ सालमा शिव श्रेष्ठ, भुवन केसी, धिरेन शाक्यलाई लोकदोहोरीमा नचाए ।
शिव श्रेष्ठले ‘के हुन्छ कुन्नी’ बोलको लोकदोहोरी गीतमा अभिनय गरे । त्यस्तै भुवनले ‘पानमा पराग छ’ बोलको गीतमा अभिनय गरे । अभिनेता धिरेनले सुरुआतमा ‘सररर पानी घट्टमा’ बोलको लोकगीतमा अभिनय गरेको शिवले जानकारी दिए ।
पहिल्यैदेखि केही नयाँ र फरक काम गरौं भन्ने सोँच राख्दै आएका शिव त्यही सोँचका कारण चलचित्रका कलाकार लाई लोकदोहोरी भिडियोमा अभिनय गराउन लागिपरेको बताउँछन् ।
चलचित्रका कलाकारहरुलाई लोकदोहोरीमा खेलाउनुको मुख्य कारण भने लोकदोहोरीप्रतिको हेराई परिवर्तन गर्नु रहेको उनले बताए ।
अफर गरेको २ वर्षपछि राजेशले राजु परियार र विष्णु माझीको ‘कस्तो अचम्म’ बोलको भिडियोमा अभिनय गरेका थिए
शिवले अभिनेता राजेश हमाललाई लोकदोहोरी भिडियोका लागि प्रस्ताव गरे । राजेश व्यस्त भएकाले उनलाई लोकदोहोरीमा खेलाउन दुई वर्ष कुरेको शिव बताउँछन् ।
अफर गरेको दुई वर्षपछि राजेशले राजु परियार र विष्णु माझीको ‘कस्तो अचम्म’ बोलको भिडियोमा अभिनय गरेका थिए । शिव भन्छन्, ‘राजेश दाइ चलचित्रमै व्यस्त हुनुहुन्थ्यो । त्यो समयसम्म पनि लोकदोहोरी भन्नेबित्तिकै नाक खुम्च्याउने गरिन्थ्यो । मैले दुई वर्ष कुरेरै राजेश दाइलाई पहिलोपटक लोकदोहोरी भिडियोमा अभिनय गराएँ ।
दुई वर्ष अगाडिमात्र उनले निखिल उप्रेतीलाई ‘धानको चामल धानको चिउरा’बोलको लोकदोहोरी गीतमा नचाएका छन् ।
उनी लोकदोहोरीप्रति रहेको हेयको भावना हटाउन चलचित्रमा नाम चलेका कलाकारलाई भिडियोमा अभिनय गराएको बताउँछन् ।
अहिले सबैको आकर्षण
‘सालको पात टपरी’मा पनि धेरै अभिनेत्रीले अभिनय गर्न अस्वीकार गरेको उनलाई सम्झना छ । भने, ‘सातको पात टपरी’मा पनि थुप्रै अभिनेत्रीकहाँ प्रस्ताव लगेर पुगेको थिएँ । तर, धेरै अभिनेत्रीले नमानेपछि मरिष्का पोखरेलले काम गर्नुभएको हो ।’
केही चलचित्रमा अभिनय गरेर पाएकोभन्दा सो गीतले मरिष्कालाई कयौं गुणा परिचित बनायो ।
शिवले थपे, ‘त्यसपछि लोकगीत नसुन्नेहरुले पनि लोकगीत सुन्न थाले । लोकगीत नहेर्नेहरुले पनि लोकगीतको भिडियो हेर्न थाले ।’
पछिल्लो समय चलचित्रका धेरै कलाकार लोकदोहोरीको भिडियोमा अभिनय गर्न थालेका छन् । धेरै नायक नायिकाले लोकदोहोरीमा अभिनय गरिसकेका छन् ।
शिव यसलाई लोकदोहारीप्रति आकर्षण बढेको रुपमा हेर्छन । अहिले अधिकांश कलाकार लोकदोहोरी भिडियो खेल्न राजी हुने शिवको अनुभव छ । अहिले लोकदोहोरी भिडियोको स्तरीयता पनि बढेको उनी बताउँछन् ।
उनी आफू म्युजिक भिडियोबाट पैसाभन्दा पनि सबैको माया पाएको बताउँछन् । भन्छन्, ‘पैसा पनि कमाए । तर, त्यो बचाउन सकिएन् । मैले यसबाट कमाएको भनेको दर्शक, कलाकार तथा शुभचिन्तकको माया हो ।’ उनी दर्शकको मायाकै कारण आफू लामो समय टिकिरहेको दोहोर्याउँछन् ।
‘म कामलाई प्राथमिकता दिन्छु । मैले यो क्षेत्रलाई विजनेशका रुपमा हेरेको छैन्,’ काठमाडौं बल्खु निवासी शिवले भने, ‘अर्को कुरा धैर्यता हो । बीचमा धेरै निर्देशक आउनुभयो, जानुभयो । मैले काम नपाउँदासमेत अन्यन्त्र गइन् ।’ आगामी दिनमा पनि आफू म्युजिक भिडियोबाट अन्यन्त्र नजाने शिवले प्रतिवद्धता गरे ।
प्रतिक्रिया 4