Comments Add Comment

बुटवलमा पहिलोपटक क्यालिस्थेनिक्स प्रतियोगिता

८ चैत, बुटवल । नेपालमा नौलो खेलको रुपमा उदाउँदै गरेको क्यालिस्थेनिक्स खेलको प्रतियोगिता बुटवलमा पहिलोपटक भएको छ ।

जिल्ला खेलकुद विकास समितिको प्राङ्गणमा निर्मित क्यालिस्थेनिक्स पार्क (खुल्ला व्यायामशाला) मा भएको प्रतियोगितामा रुपन्देहीका १७ युवती र २२ युवा खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा पुरुषतर्फ सागर खत्री प्रथम, सन्दीप बुढाथोकी दोस्रो र सुदन केसी तेस्रो भएका छन् । यस्तै महिलातर्फ डिना पुन प्रथम, मनिषा विके दोस्रो र मन्जिता राजभण्डारी तेस्रो भएका छन् ।

प्रतिस्पर्धीहरुले पुल अप, पुस अप, बक्स जम्प, प्यारालल डिप्स, बर्पी, टायर फ्लीक्स र फार्मर्स क्यारी जस्ता खेल कौशल प्रदर्शन गरेका थिए । विजयी खेलाडीहरुलाई नेपाल युथ फिटनेस एण्ड क्यालिस्थेनिक्सका संस्थापक शुकदेव कार्की, आयोजक बुटवल क्यालिस्थेनिक्सका अध्यक्ष पुकार थापा, प्रतियोगिता व्यवस्थापक एडभेन्ट नेपालका सुमन श्रेष्ठले नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

सो अवसरमा संस्थापक कार्कीले नेपालमा यो खेल भित्रिएको ५ वर्ष मात्रै भएको जानकारी दिए । उनका अनुसार हाल काठमाडौं, नारायणगढ, वीरगञ्ज, नेपालगञ्ज र बुटवल गरी पाँच शहरमा क्यालिस्थेनिक्स पार्क स्थापना भएका छन् । देशभर करिब १५ सय खेलाडी रहेको उनले बताए ।

विशेषगरी हातको शक्तिले शारीरिक ब्यायाम गर्नुलाई क्यालिस्थेनिक्स भनिन्छ । यो खेलमा शारीरिक सुगठन र जिम्न्यास्टिक खेलका विशेषता मिश्रित हुने र अहिले साहसिक खेलका रुपमा चिनिन थालेको खेलाडी पुकार थापाले बताए । यो खेललाई राष्ट्रिय खेलकुद परिषदमा समावेश गराउने पहल भइरहेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment