Comments Add Comment

भारतमा २४ घण्टामा ४७ हजार जनामा कोरोना संक्रमण

९ चैत, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण निरन्तर बढ्दो क्रममा छ ।

सोमबार भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ४६ हजार ९५१ जना नयाँ संक्रमित फेला परेका छन् । २४ घण्टाको अवधिमा २१२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

पछिल्लो एक सातामा मात्र भारतमा कोरोनाका दुई लाख ६० हजार नयाँ संक्रमित थपिएका छन् । जसमध्ये ७० प्रतिशत भन्दा बढी महाराष्ट्रका छन् । भारतीय स्वास्थ्य विशेषज्ञहरुले लापरबाहीका कारण पछिल्लो समय कोरोना संक्रमण बढिरहेको बताएका छन् ।

केहीले भने कोरोनाको नयाँ प्रकार (भेरियन्ट) का कारण संक्रमण बढेको पनि बताएका छन् । यद्यपि अहिलेसम्म के कारणले संक्रमण बढ्यो भन्ने पुष्टि भएको छैन ।

अहिलेसम्म भारतमा कोरोनाबाट एक करोड १६ लाखभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने करिब एक लाख ६० हजार जनाको मृत्यु भइसकेको छ । मार्च १५ देखि २१ सम्मको एक सातामा अघिल्लो साताको तुलनामा नयाँ संक्रमितको संख्या एक लाखले बढेको छ ।

स्वास्थ्य सेवामा देखिएको अव्यवस्था र मानिसहरुको लापरबाहीका कारण कोरोना संक्रमण बढेको निश्कर्ष निकालेर केही राज्यले सामाजिक गतिविधिमा कडाइ सुरु गरेका छन् ।

भारतले कोरोनाविरुद्धको खोप अभियान पनि सञ्चालन गरिरहेको छ । अहिलेसम्म भारतमा चार करोड ५० लाखभन्दा धेरैले कोरोना खोप लगाइसकेका छन् । आगामी जुलाईसम्ममा २५ करोडभन्दा धेरैलाई कोरोना खोप दिने भारतको लक्ष्य छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment