Comments Add Comment

सप्तरी प्रिमियर लिग : तिलाठी कोइलाडी र टीभीएस किङ्स विजयी

९ चैत, सप्तरी । सप्तरीमा जारी राजविराज मेयर कप सप्तरी प्रिमियर लिग क्रिकेटमा तिलाठी कोइलाडी जायन्ट्स र टीभीएस किङ्स राजविराजले जित निकालेका छन् ।

राज रंगशालामा सोमबार भएको पहिलो खेलमा दीपेन्द्र ऐरी कप्तान रहेको तिलाठी कोइलाडी जायन्ट्सले विवेक यादव कप्तानीको बजाज खडक वारियर्सलाई ४ विकेटले पराजित गरेको छ । बजाज खडक वारियर्सले दिएको एक सय रनको लक्ष्य तिलाठी कोइलाडी जायन्ट्सले १७.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो ।

तिलाठी कोइलाडी जायन्ट्सका लागि ओपनर आशिष झाले सर्वाधिक ६५ रन बनाए । उनले ५० बलमा ८ चौका र ३ छक्का प्रहार गरे । दीपेश कँडेलले अविजित १३ रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरीले १ रन मात्र बनाउन सके ।

बजाज खडक वारियर्सको बलिङमा भुलावन सहानीले सर्वाधिक ३ विकेट लिए भने अनिल खरेल, विवेक यादव र पवन सर्राफले समान १ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको बजाज खडक वारियर्सले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९९ रन बनाएको थियो ।

 

वारियर्सको लागि अनिल शाहले सर्वाधिक २२ रन, कप्तान विवेक यादवले २१ रन, पवन सर्राफ र निरज यादवले समान १४ रन तथा पप्पु यादवले १० रन बनाए ।
तिलाठी कोइलाडी जायन्ट्सको बलिङमा दायाँ हाते फास्ट बलर आदिल अन्सारीले सर्वाधिक ४ विकेट लिए । उनले ३.३ ओभरमा २० रन खर्चिए । राशिद खान र दीपेश कँडेलले समान २ विकेट लिए । दुवै बलरले ४ ओभरमा मात्र १३ रन खर्चिए । दीपेन्द्र र मनिष मण्डलले समान १ विकेट लिए ।

खेलको प्लेयर अफ द म्याच तिलाठी कोइलाडीका आशिष झा घोषित भए ।

सोमबार भएको अर्को खेलमा टीभीएस किङ्स राजविराजले बोदे बर्साइन थन्डर्सलाई सुपर ओभरमा पराजित गर्‍यो । टीभीएस किङ्स राजविराजले दिएको १५७ रनको लक्ष्य पछ्याउने क्रममा बोदे बर्साइन थन्डर्सले २० ओभरमा ७ विकेट गुमाएर १५६ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको बोदे बर्साइनले मात्र ४ रन बनाएको थियो । ५ रनको लक्ष्य टीभीएस किङ्सले ३ बलमा भेटायो ।

बोदे बर्साइन थन्डर्सको ब्याटिमा योगेन्द्रसिंह कार्कीले सर्वाधिक ४६ रन बनाए । उनले २५ बलमा ५ चौका र २ छक्का प्रहार गरे । यस्तै अविनाश कर्णले ४३ बलमा ४ चौका मद्दतले ४२ रन बनाए । नारायण जोशीले २२ रन तथा अमित दासले १७ रन बनाए ।

टिभीएस किङ्सको बलिङमा रोहित सिंह र दिनेश अधिकारीले समान २ विकेट तथा मेहबुब आलम र सुरज कुर्मीले १–१ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको टीभीएस किङ्स राजविराजले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा १५६ रन बनाएको थियो ।

टीभीएस किङ्सका लागि दिनेश अधिकरीले सर्वाधिक ५१ रन योगदान दिए । उनले २८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । यस्तै सोनु अन्सारीले ३० रन, सुरजप्रसाद कुर्मीले २५ रन, प्रशान्त सिंहले २१ रन तथा रोबिन सिंहले अविजित १० रन बनाए । कप्तान मेहबुब आलम खाता नखोली आउट भए ।

बोदे बर्साइनको बलिङमा विशाल सुस्लिङ, वसन्त रेग्मी र सिद्धान्त लोहनीले समान २ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच दिनेश अधिकारी घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment