Comments Add Comment

झा दम्पती बेपत्ता प्रकरण : अपहरणको आरोपमा चार जना पक्राउ

८ चैत, जनकपुरधाम । एक महिनाअघि आफ्नै घरबाट बेपत्ता भएका महोत्तरीका वृद्ध दम्पतीको अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

जिल्लाको पिपरा गाउँपालिका–५, सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा फागुन १० गते राति बेपत्ता भएका थिए । उनीहरुको अवस्था अझै अज्ञात छ ।

तर उनीहरुलाई अपहरण गरेको आरोपमा प्रहरीले चैत ५ गते सहोडबाका ५२ वर्षीय रामबाबु यादव, उनका जेठो छोरा २६ वर्षीय सुरेन्द्र यादव, कान्छो छोरा २४ वर्षीय राजेन्द्र यादव र पिपरा गाउँपालिका–६ बनौली चोक बस्ने भारतीय नागरिक ५० वर्षीय हरेन्द्र ठाकुरलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार चार जनाले वृद्ध दम्पतीको अपहरण गरेको केही प्रमाण भेटिएको छ । पक्राउ परेकामध्ये रामबाबु यादवको घरमा भेटिएको रगत परीक्षण गर्दा मानव रगत नै भएको प्रमाणित भएको छ । पक्राउ परेकाहरुको पोलिग्राफ टेष्टसमेत गरिएको छ र, उनीहरुले झुटो बोलेको पाइएको छ ।

रामबाबुसँग हरेन्द्र ठाकुर पनि जोडिएका छन् । फागुन ११ गते प्लटिङ गरेको जग्गामा उपस्थित भएका उनले राति पटक/पटक कुराकानी भएको र गतिविधि शंकास्पद देखिएको प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिए ।

जग्गाको विवाद थियो

भारतीय नागरिक हरेन्द्र ठाकुरको समूहले महोत्तरी, सहोडबामा १३ बिघा जग्गामा प्लटिङ गरेका थिए । प्लटिङको उत्तरतर्फ बेपत्ता भएका मुसाफिर झाको १४ कट्ठा जग्गा थियो । र, त्यसभन्दा उत्तरतर्फ हरेन्द्रले दुई बिघा जग्गा लिएका थिए । आफ्नो जग्गासम्म पुग्ने बाटो नभएपछि हरेन्द्रले झाको १४ कट्ठा जग्गा किन्न खोजेका थिए । तर झाले जग्गा बेच्न मानेका थिएनन् ।

ठाकुरले झालाई प्लटिङ स्थलमा बोलाउने र बाटो नभएकै कारण घडेरी बन्ने जग्गा खेत हुने गुनासो गर्ने गरेका थिए । उनले झा दम्पतीलाई जग्गा बिक्री गर्न सहमत गराउन रामबाबु यादवलाई समेत प्रयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

फेला परेनन् झा दम्पती

यही विवादमा हरेन्द्र, रामबाबुको समूहले झा दम्पतीको अपहरण गरेको प्रहरीको दाबी छ ।

तर झा दम्पतीको अवस्था अझै अज्ञात छ । उनीहरुको खोजी भइरहेको भन्दै प्रहरीले कुनै जानकारी वा सूचना भए जानकारी गराउन अनुरोध गरेको छ ।

घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय, महोत्तरी र २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका साथ केन्द्रीय अनुसन्धान ब्युरोको टोली खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment