Comments Add Comment

श्रीमानकाे सालिक अनावरणपछि रमाले भनिन् – बल्ल सपना पूरा भयो

९ चैत, सप्तरी । श्रीमान् वेदप्रसाद भट्टराईले रमालाई जीवनभर साथ दिन पाएनन् । आधा उमेरसम्म पनि श्रीमानकाे साथ नपाएकी उनी हिजोआज पनि झलझली सम्झिरहन्छिन् । ज्यूँदो नभए पनि श्रीमानकाे अनुहार उनको घर अगाडि नै छ ।

सोमबार स्व. भट्टराईको सालिक आफ्नै सप्तरीको सुरुङ्गा नगरपालिका–१ स्थित घरअगाडि अनावरण हुँदा रमा र उनकी कान्छी छोरी सरला १० मिनेटसम्म वेदप्रसादको सालिकमा टाँसिइरहे । आमा छोरी मिलेर अगरबत्ती बाल्दै उनको सालिकमा माला लगाइरहे ।

२०७५ सालमा नै निर्माण भएको सालिक सोमबार माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले अनावरण गरेका हुन् । दुई वर्षभन्दा बढी समय सालिक निर्माण पूरा भए पनि छोपेर राखिएको थियो ।

‘घरै अगाडि हुनुहुन्थ्यो । तर हेर्न पाउँदिनथें । उहाँको अनुहार नै छोपिएको थियो’ ५१ वर्षकी रमाले भनिन्, ‘अब उठ्नेबित्तिकै सधैं उहाँको दर्शन गर्न पाउँछु ।’

माओवादी जनयुद्धका कमाण्डर थिए सप्तरीको तत्कालीन शिशुवारी गाविस (अहिलेको सुरुङ्गा नगरपालिका– १ का वेदप्रसाद भट्टराई । २०५८ साल चैत ९ गते नेपाली सेनाले भट्टराईलाई सप्तरीकै तत्कालीन बसबिट्टी गाविसमा नियन्त्रणमा लिई हत्या गरेकाे थियाे ।

त्यतिबेला रमाको काखमा चार वर्षकी कान्छी छोरी थिइन्, जेठी ८ वर्ष र माइली ६ वर्षकी थिइन् । तीन छोरीलाई पाल्ने जिम्मेवारी उनीमाथि आइलाग्यो । उनले हिम्मतका साथ तीनै जना छोरीको पालनपोषण गर्दै शिक्षा पनि दिइन् । दुई छोरीको विवाह भइसकेको छ ।

द्वन्द्वकालीन अवस्थामा घरमा सेना र प्रहरीले निगरानी बढाएका कारण रमाले श्रीमान्को धेरै वटा श्राद्ध पनि गर्न सकिनन् । रमाको एउटा सपना थियो, श्रीमानकाे सालिक बनोस् ।

यसका निम्ति उनले तत्कालीन माओवादीको जिल्ला नेतृत्वसँग आग्रह गरिन् । जिल्ला नेतृत्वले २०७५ सालतिर रमाको घरै अगाडि वेदप्रसादको सालिक निर्माण गरिदियो ।

‘सालिक निर्माण भएको तीन वर्षसम्म छोपेरै राखिएको थियो’ उनले भनिन्, ‘बल्ल आजदेखि अनुहार हेर्न पाउने भएको छु । बल्ल सपना पूरा भएको छ ।’

कान्छी छोरी सरला भन्छिन्, ‘बाबाको माया पाउन नसके पनि अब उहाँलाई सधैं हेरिरहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment