Comments Add Comment

पर्यटन श्रमिकको ज्याला ४० प्रतिशत बढाउन माग

१० चैत, काठमाडौं । पर्यटन क्षेत्रको पुनर्जीवन र श्रमिकको जीवन रक्षाको माग गर्दै पर्यटन क्षेत्रसँग सम्बन्धित एक प्रतिनिधिमण्डलले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई १७ बुँदे मागपत्र बुझाएको छ ।

नेपाल ट्रेकिङ, ट्राभल्स, र्‍याफ्टिङ, एयरलाइन्स, संस्कृति पुरातात्विक, कार्गो कुरियर श्रमिक युनियन (युनिट्राभ)को एक प्रतिनिधिमण्डलले मंगलबार मन्त्री ढकाललाई भेटी मागपत्र बुझाएको हो ।

कोरोना महामारीपछि अस्तव्यस्त बनेको पर्यटन क्षेत्रको उत्थान गर्नुपर्ने, समाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई सूचीकृत गर्नुपर्ने, पर्यटन श्रमिकको ज्याला तथा पारिश्रमिक ४० प्रतिशतले बढाउनुपर्ने, नेचर गाइडको समस्या समाधान गरिनुपर्ने, पदमार्ग क्षेत्रका श्रमिकमाथि हुने विभेदको अन्त्य गरिनुपर्ने, माउन्टेन गाइडको तलब र बीमा निर्धारण गरिनुपर्ने, हेलिकप्टर रेस्क्यूमा हुने विभेद अन्त्य गरिनुपर्ने, विमानस्थलका श्रमिक आपूर्तिकर्ता कम्पनीबाट लिने व्यवस्थाको अन्त्य गर्नुपर्ने लगायतका माग समावेश गरिएको युनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले बताए ।

विकासको नाममा महत्वपूर्ण पदमार्गमा डोजर चलाउने कार्य पनि तत्काल बन्द गर्न युनिट्राभले माग गरेको छ । यसबाहेक महिला पथप्रदर्शकमाथि हुने विभेदपूर्ण व्यवहार अन्त्य गरिनुपर्ने, हरेक पदमार्गको प्रवेशद्वारमा अनिवार्य रुपमा प्राथमिक उपचारका सामग्रीहरुको निःशुल्क व्यवस्था गर्नुपर्ने, विभिन्न पदमार्ग क्षेत्रमा लागेका सिण्डिकेट बन्द गर्न, पर्यटन विभागबाट इजाजतपत्र प्राप्त गरी पथप्रदर्शकमा काम गर्दै आएका सबै गाइडलाई श्रमिकमैत्री रुपमा व्यक्तिगत प्यान उपलब्ध गराउन र सगरमाथा पदमार्ग क्षेत्रमा सगरमाथा राष्ट्रिय निकुञ्जले गाइड श्रमिकहरुलाई अनावश्यक रुपमा लिँदै आएको रकम तुरुन्त बन्द गर्नुपर्ने मागसमेत उनीहरुको छ ।

मागपत्रका विषयमा आफू सकारात्मक रहेको भन्दै पर्यटनमन्त्री ढकालले अध्ययन गरेर समस्या समाधान गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment