Comments Add Comment

म्यानमारमा सुरक्षाकर्मीबाट ७ वर्षकी बालिका घरभित्रै मारिइन्

११ चैत, काठमाडौं । म्यानमारको दोस्रो ठूलो सहर मान्डलेमा सुरक्षाकर्मीले घरमा बसिरहेकी सात वर्षीया बालिकाको हत्या गरेका छन् ।

खिम म्यो चिट नामकी ती बालिका सैनिक आक्रमणमा मारिने कम उमेरको व्यक्ति भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बीबीसीका अनुसार मान्डलेमा मंगलबार सेनाले घरहरुमा खानतलासी गरेको थियो । त्यस क्रममा सेना ती बालिकाको घरमा आएका थिए । ‘उनीहरुले लात्ताले हानेर ढोका खोले’ बालिकाकी दिदी २२ वर्षकी मे थु सुमायाले भनिन् ‘ढोका खुलेपछि उनीहरुले बुबालाई घरमा अरु मानिस छ कि छैन भनी प्रश्न गरे ।’

छैन भन्ने जवाफ दिएपछि उनीहरुले बालिकाका बाबुलाई भुइँमा लम्पसार पर्न आदेश दिए र घर खानतलासी गर्न थाले । त्यसै क्रममा ७ वर्षकी बालिका खिम म्यो चिट दौडदै बाबुको काखमा आएकी थिइन् । ‘त्यसपछि सुरक्षाकर्मीले उनलाई गोली हाने’ बालिकाकी दिदीले भनिन् ।

मंगलबार उक्त सहरमा अन्य दुई जनाको पनि हत्या भएको छ । यो घटनाको विषयमा म्यानमारको सेनाले कुनै प्रतिक्रिया दिएको छैन । म्यानमारमा सेनाले शासन हातमा लिएपछि प्रजातन्त्र पक्षधर आन्दोलनकारीमाथि निरन्तर दमन गर्दै आएको छ । उसले मानिसको मृत्यु हुनेमा आन्दोलनकारी नै जिम्मेवार रहेको प्रतिक्रिया दिने गरेको छ ।

मंगलबार सेनाका प्रवक्ता ज मिन टुनले आन्दोलनमा अहिलेसम्म १६४ जनाको मृत्यु भएको भन्दै त्यसप्रति दुख व्यक्त गरेका छन् । ‘उनीहरु पनि हाम्रै नागरिक थिए’, उनले भने ।

एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)ले सैन्य कदमविद्ध भएको आन्दोलनमा मंगलबारसम्म कम्तीमा २७५ जनाको मृत्यु भएको बताएको छ ।
बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था सेभ द चिल्ड्रेनले अहिलेसम्म म्यानमारमा कम्तीमा २० बालबालिका मारिएको बताएको छ ।

म्यानमारमा जारी आन्दोलनको निशानामा बालबालिका परेको भन्दै सेभ द चिल्ड्रेनले चिन्ता व्यक्त गरेको छ । यसअघि सोमबार मान्डलेमा नै १४ वर्षीय बालकको पनि सुरक्षाकर्मीले गोली हानी हत्या गरेका थिए ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment