Comments Add Comment
विश्व क्षयरोग दिवस २०२१ :

झापामा ९० प्रतिशत क्षयरोग निको, दमौलीमा बिरामी पहिचान गर्नै कठिन

११ चैत, काठमाडौँ ।  झापामा क्षयरोग निको हुने दर उच्च रहेको पाइएको छ । यहाँ क्षयरोग निको हुने दर ९०.१ प्रतिशत रहेको छ । पछिल्लो समय जिल्लामा क्षयरोग निको हुने दर बढ्दै गएको स्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक जीवन चम्लागाईंले जानकारी दिए ।

आर्थिक वर्ष २०७६-७७ मा जिल्लामा ४०० महिला र ७१० पुरुष गरी एक हजार ११० क्षयरोगी फेला परेका थिए । चालु आव २०७७-७८ मा ३७३ महिला र ६३० गरी एक हजार तीन नयाँ क्षयरोगी फेला परेका छन् ।

जिल्लाको बिर्तामोड, दमक र मेचीनगर नगरपालिकामा क्षयरोग सङ्क्रमण धेरै रहेको संयोजक चम्लागाईंले बताए । झापामा धुलाबारी स्वास्थ्य केन्द्र र मेची प्रादेशिक अस्पताल भद्रपुरबाट क्षयरोग परीक्षण हुँदै आएको छ । क्षयरोगको औषधि सबै सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क वितरण हुँदै आएको छ ।

नेपालमा वर्षेनी ४५ हजार नयाँ क्षयरोगी फेला पर्ने गरेका छन् । छ हजार ६०० को मृत्यु हुने गरेको चम्लागाईंले बताए । उनका अनुसार नेपालमा दैनिक १२३ नयाँ सङ्क्रमित फेला पर्ने गरेका छन् । अठार सङ्क्रमितको मृत्यु र ३४ सङ्क्रमित सम्पर्कविहीन भएका छन् । विश्वबाटै सन् २०५० सम्ममा क्षयरोग अन्त्य गर्ने लक्ष्य छ ।

यसैबीच झापाको बिर्तामोडमा आज विश्व क्षयरोग दिवस मनाइएको छ । ‘सङ्केत समयको क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा दिवस मनाइएको हो । बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीका अध्यक्षतामा भएको कार्यक्रममा क्षयरोग निवारणमा योगदान पुर्‍याउने चार जनालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सूर्योदय टेलिभिजनका पत्रकार तिलक योञ्जन, महिला सामुदायिक स्वास्थ्य स्वंम्सेविका गङ्गाकुमारी केसी, चारपाने स्वास्थ्य चौकीका कृष्णकुमारी अधिकारी, गरामनी स्वास्थ्यचौकीका राजेन्द्र निरौला, अनारमनी नगर अस्पतालका अजय विकलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नगरप्रमुख शिवाकोटीले प्रतिनिधिमूलक रुपमा विकलाई सम्मान गरिए पनि क्षयरोग निवारणमा सबैको भूमिका गहन भएको बताए । उनले ‘क्षयरोग निवारणमा सबै सचेत हुन आवश्यक छ’ भने ।

बिरामी पहिचान गर्न कठिन
दमौली : नेपालमा दैनिक १८९ क्षयरोगका बिरामी थपिने गरेको तथ्याङ्क रहे पनि तनहुँमा भने क्षयरोगका बिरामी पहिचान गर्न कठिन भएको छ। विगत एक वर्षकोमा कोभिड सङ्क्रमणका कारण क्षयरोगका बिरामी पहिचान गर्न कठिन भएको हो ।

कोभिड सङ्क्रमणका कारण कोभिड न्यूनीकरणमा खटिनुपर्दा क्षयरोगका बिरामी पहिचान गर्न नसकिएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत कृष्णप्रसाद सुवेदीले बताए । यद्यपि अशिक्षा, अज्ञानता र भौगोलिक कारणले पनि क्षयरोगी उपचारको पहुँचमा आउन नसकेको सुवेदीको भनाइ छ । ‘क्षयरोगी पहिचान गरी उपचारको पहुँचमा ल्याउनुपर्ने विद्यमान चुनौती छ”, सुवेदीले भने, ‘त्यसका लागि सबै पक्षको सहयोग अपरिहार्य हुन्छ ।”

सन् २०५० सम्म नेपाल क्षयरोगविहीन बनाउने लक्ष्य छ । त्यसका लागि क्षयरोगका बिरामी पहिचान गरी उपचार गर्नुपर्ने बाध्यता रहेको सुवेदीले बताए । ‘उपचारमा नरहेको एक क्षयरोगीले औसतमा १० देखि १५ स्वस्थ्य व्यक्तिलाई रोग सार्न सक्छ”, उनले भने, ‘सो तथ्याङ्कलाई घटाउन पनि नयाँ क्षयरोगीको पहिचान आवश्यक छ ।”

क्षयरोगी पहिचानका लागि कार्यालयले शङ्का लागेका व्यक्तिको घरमा पुगेर नै खकार सङ्कलन गरी प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था मिलाएको छ । ‘दुई हप्तासम्म खोकी लागेका शङ्कास्पद व्यक्ति पत्ता लागे घरमै पुगेर खकार सङ्कलन गरी परीक्षणको व्यवस्था मिलाएका छौँ”, सुवेदीले भने।

क्षयरोगी पहिचानका लागि कन्ट्याक्ट ट्रेसिङको व्यवस्था पनि छ । सुवेदीका अनुसार ६ महिनामा दुईपटक कन्ट्याक्ट ट्रेसिङ गरिन्छ । दुई महिनामा पहिलोपटक र ६ महिनाभित्र अर्को पटक गरी कन्ट्याक्ट ट्रेसिङको व्यवस्था मिलाइएको छ ।

सुवेदीका अनुसार क्षयरोगी भएको घरका पाँच वर्षमुनिका बच्चालाई क्षयरोग छैन भन्ने प्रमाणित भएको खण्डमा तीन महिनासम्म औषधि खुवाइने गरेको छ । ‘घरपरिवारका सदस्यबाट नसरोस् भन्नका लागि उनीहरूलाई पनि औषधि खुवाउने व्यवस्था मिलाइएको हो”, उनले भने ।

लुकेर बसेका क्षयरोगीलाई पहिचान गर्न नसकिए जोखिम बढ्ने जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले बताए । ‘पछिल्लो एक वर्ष कोभिडका कारण समस्या भएको हो, तर जनशक्ति अभाव, अज्ञानता र अशिक्षा नै यसको मुख्य कारण हो ।’, अधिकारीले भने ।

अधिकारीका अनुसार लुकेर बसेका क्षयरोगी पत्ता लगाउन जन्तर भन्ने संस्थाले गाउँगाउँ पुगेर सहयोग गरिरहेको छ । ‘नियमित औषधि सेवन गरे क्षयरोग निको हुन्छ, यसको प्रचारप्रसार गर्दै क्षयरोगीलाई उपचारको पहुँचमा ल्याउनुपर्छ”, अधिकारीले भने ।

तनहुँमा २५४ बिरामी : १५ को मृत्यु

तनहुँमा क्षयरोगका कूल २५४ बिरामी छन् । कार्यालयका अनुसार सबैभन्दा बढी व्यास नगरपालिकामा ६८, शुक्लागण्डकी नगरपालिकामा ३५, भानु नगरपालिकाका ३२, देवघाट गाउँपालिकामा २२, भीमाद नगरपालिकामा २४, आँबुखैरेनी गाउँपालिकामा २७, म्याग्दे गाउँपालिकामा १३, घिरिङ गाउँपालिकामा सात, ऋषिङ गाउँपालिकामा ११ र बन्दीपुर गाउँपालिकामा १५ क्षयरोगका बिरामी छन् ।

त्यसमध्ये चालु आवको साउनदेखि फागुनसम्म जिल्लामा १४२ क्षयरोगका बिरामी पहिचान भएका छन् । चालु आवमा व्यास ४१, आँबुखैरेनी १५, भानु १९, बन्दीपुर १६, शुक्लागण्डकी २१, भीमाद ११, घिरिङ ११, ऋषिङ चार र म्याग्देमा चारजना क्षयरोगका बिरामी थपिएका छन् ।

नियमित ६ महिना औषधि सेवन गरेपश्चात् ७० प्रतिशत उपचार सफल भएको कार्यालयले जनाएको छ । क्षयरोगीको उपचारका लागि जिल्लामा ५० उपचार केन्द्र र नौवटा प्रयोगशाला छन् । नेपालमा ८० हजार क्षयरोगी छन् । वार्षिक पाँच हजारदेखि ६ हजार ५०० सम्म क्षयरोगका कारणबाट मृत्यु हुने गरेको छ । चौवालीस हजार नयाँ बिरामी थपिने गरेकामा ३४ हजार बिरामी उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्ने गरेका छन् ।

पन्ध्रदेखि ४९ वर्ष उमेर समूहका व्यक्ति क्षयरोगबाट सङ्क्रमित हुने गरेको तथ्याङ्क छ । गण्डकी प्रदेशमा एक हजार ९४७ क्षयरोगी छन् भने ५७९ उपचार केन्द्र रहेको छ । गण्डकी प्रदेशमा ७० जनाको क्षयरोगबाट मृत्यु भएको तथ्याङ्क छ ।

बाँकेमा ५८ को मृत्यु

बाँके– यहाँ १९ महिनामा क्षयरोगबाट ५८ जनाको ज्यान गएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य निरीक्षक तथा क्षयरोग र कुष्ठरोग फोकल पर्सन मानव नेपालीले अघिल्लो आव र चालु आवका सात महिनामा ५८ जना क्षयरोगीले ज्यान गुमाएको जानकारी दिए ।

अघिल्लो आवमा ३८ र चालु आवमा २० जनाको क्षयरोगबाट ज्यान गएको नेपालीले जानकारी दिए । लुम्बिनी प्रदेशमा धेरै क्षयरोगी भएका जिल्लामध्ये बाँके तेस्रो नंमा रहेको उनले बताए ।

सबैभन्दा बढी रुपन्देहीमा एक हजार १६३, दोस्रो दाङमा ९१६ र तेस्रो बाँकेमा ८३३ क्षयरोगी छन् । यो अघिल्लो आवको तथ्यांक हो । यो वर्षको सात महिनामा थपिएका ४७५ क्षयरोगी जोड्दा जिल्लामा १९ महिनामा एक हजार ३०८ जना क्षयरोगी भएका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख अजयकुमार श्रीवास्तवले बाँकेमा १९ महिनाकामा क्षयरोगबाट ५८ जनाको ज्यान गएकामा आफूहरूले अब आउने दिनमा कसैको मृत्यु नहोस् भनेर यो रोग नियन्त्रण गर्न लागिपरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment