Comments Add Comment

एकपछि अर्को यौन काण्डले अष्ट्रेलियाको संसद बद्‍नाम

११ चैत, काठमाडौं । मध्य फेब्रुअरीमा ब्रिटानी हिग्गिङ्सले सन् २०१९ मा संसद् भवनभित्र आफ्नो सहकर्मीबाट बलात्कृत भएको दाबी गरिन् ।

त्यसयता एकपछि अर्को काण्ड सार्वजनिक भइरहेको छ, जसले सरकारमाथि त दबाव परेको छ नै, त्यहाँको संसदले बद्‍नामीसमेत कमाएको छ ।

भिडियो नै सार्वजनिक

हिग्गिङ्सले २०१९ मा आफ्नो बलात्कार भएको दाबी गरेसँगै अष्ट्रेलियामा संसद् भवनमा हुने गरेका गतिविधिबारे प्रश्न उठेको थियो । उनलाई साथ दिँदै अरु महिलाले आफूमाथि भएको घटनाबारे बोलेनन् मात्र, महान्यायाधिवक्ता क्रिस्टियन पोर्टरले सन् १९८८ मा १६ वर्षीया किशोरीको बलात्कार गरेको मुद्दा चर्चामा आयो ।

यो घटनाका पीडितले आत्महत्या गरिसकेकी छिन् भने महान्यायधिवक्ताले आरोपको खण्डन गर्दै आएका छन् । घटनाको निष्पक्ष छानबिन हुनुपर्ने पीडितका साथीहरुको माग सरकारले सुनेको छैन ।

तर सोमबार संसद् भवनभित्र भएका यौन गतिविधिको भिडियो स्थानीय सञ्चारमाध्यममा सार्वजनिक भएपछि सरकार दबावमा परेको छ ।

अष्ट्रेलियाका सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार संसदमा काम गर्ने एक पूर्व कर्मचारीले भिडियो तथा तस्वीर सार्वजनिक गरेका हुन्, जसमा संसद् भवनका कर्मचारीहरु एक महिला सांसदको कार्यकक्षमा यौनजन्य क्रियाकलाप गरिरहेको देखिन्छ ।

अष्ट्रेलियाको संसद् भवनमा यस्ता घटनाहरु नौलो नभएको समेत उनको दाबी छ ।

संसद् भवनको प्रार्थना हलमा संसद्का कर्मचारीहरुले यौनजन्य क्रियाकलाप गर्नुका साथै सत्तारुढ गठबन्धनका सांसदलाई खुसी पार्न यौनकर्मीहरु संसद् भवनमा बोलाइने गरेको दाबी गरे ।

भिडियो सार्वजनिक भएसँगै भिडियोमा देखिएकी महिला कर्मचारीलाई निश्कासन गरिएको छ । प्रधानमन्त्री स्कट मौरिसनले सार्वजनिक भिडियो अपमानजनक र लज्जास्पद रहेको प्रतिक्रिया दिएका छन् ।

संसद् भवनलाई सही प्रणालीमा ल्याउनु जरुरी रहेको भन्दै उनले भने, ‘यो निकै नराम्रो कुरा हो र कुनै पनि हातलमा स्वीकार्य हुन सक्दैन ।’

प्रधानमन्त्री मौरिसनले संसद् भवनको वातावरण सुधार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संसदलाई महिलामैत्री बनाउँदै अझै धेरै महिलालाई संसद्‍मा आउन प्रेरित गर्नेसमेत उनले बताएका छन् । साथै कन्जरर्भेटिभ पार्टीबाट निर्वाचन लड्न महिलाका लागि निश्चित कोटा छुट्याउने विषयमा छलफल गर्न तयार रहेको पनि बताएका छन् । विपक्षी लेबर पार्टीमा भने लामो समयदेखि निर्वाचनमा जान महिलालाई केही निश्चित कोटा छुट्याइएको छ ।

तर अष्ट्रेलियाका महिला नेतृहरुले सोमबार सार्वजनिक भएको भिडियोसँगै संसद् भवनको खराब संस्कृतिको आलोचना गरेका छन् । सोमबारको भिडियो संसद् भवनको संस्कार महिलाप्रति अपमानजनक छ भन्ने प्रमाण रहेको उनीहरुले बताएका छन् । केहीले भने संसदका कर्मचारीहरुलाई आफूले चाहेको जे पनि गर्न सक्छु भन्ने लागेकाले यस्तो गतिविधि भएको बताएका छन् ।

अष्ट्रेलियाका वित्तमन्त्री सिमोन ब्रिमिंघमले यो घटनाले संसद्‍मा काम गर्ने अन्य मानिसहरुको अपमान भएको बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment