Comments Add Comment

दाङ र नवलपरासीमा भएका सवारी दुर्घटनामा बालकसहित ३ जनाको मृत्यु

११ चैत, काठमाडौं । दाङ र नवलपरासीमा भएका छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–१७ मा ट्रकको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ ।

ना ५ ख २०६२ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री घोराही उपमहानगरपालिका–३ झिङ्नी बस्ने कलौ भन्ने ४० वर्षीय विष्णु चौधरीको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको हो । ट्रक चालक राप्ती गाउँपालिका–६ का ५० वर्षीय प्रेम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी घोराही उपमहानगरपालिका–७ जबरपुरमा रोकी राखेको ना ४ ख ८३३७ नम्बरको ट्रकमा रा ४ प ४९१४ नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–५ बस्ने २१ वर्षीय रविन डाँगीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका रविनको उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार घोराही उपमहानगरपालिका–५ बस्ने २२ वर्षीय सिरिन्ज भण्डारीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–२ दन्दरमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । लु १ क ३९९९ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने सुकमाया परियारका तीन वर्षीय छोरा कृष परियारको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । फरार रहेका बस चालकको खोजी गरिरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment