
११ चैत, काठमाडौँ । इजिप्ट (मिश्र) को स्वेज नहरको आसपासको क्षेत्रमा धेरै मालबाहक पानीजहाज फसेको छ । एउटा ठूलो कन्टेनरसहितको पानीजहाज नियन्त्रण बाहिर गएपछि अरु पानी जहाजहरु पनि रोकिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
करीब ४ सय मिटर लामो (१३१२ फिट) तथा ५९ मिटर चौडाइ भएको पानी जहाजलाई स्वेज नहरबाट हटाउन अरु धेरै जहाजहरु पनि ल्याइएको छ। तर, ती जहाजहरु पनि धेरै दिनसम्म फस्न सक्ने आशंका गरिएको छ ।
यो घटना मंगलबार बिहान स्वेज नहरको उत्तरी क्षेत्रमा भएको हो, स्वेज नहरले जलमार्गमार्फत भूमध्यसागरलाई लाल सागरसँग जोड्ने गर्दछ । यो एसिया तथा युरोपको बीचबाट सबैभन्दा छोटो समुन्द्रिक लिंक हो ।
View this post on Instagram
पनामामा दर्ता भएको एवर गिवे नामको उक्त कन्टेनर पानीजहाज चीनबाट नेदरल्याण्ड्सको बन्दरगाह शहर रोटेरडमतर्फ गइरहेको थियो । जहाजले उत्तरको भूमध्यसागरतर्फ जाँने बेला स्वेज नहरको बाटो लिएको थियो । स्थानीय समयका अनुसार मंगलबार विहान ७ बजेर ४० मिनेटमा यो जहाज फसेको थियो ।
सन् २०१८ मा निर्मित तथा ताइवानको ट्रान्सपोर्ट कम्पनी एवर ग्रिन मरिनद्वारा सञ्चालित यो जहाजले नियन्त्रण गुमाएपछि त्यहाँ फस्न पुगेको हो । उक्त पानीजहाज फसेकै कारण त्यहाँबाट आउने-जाने जहाजको बाटो पनि अवरुद्ध भएको छ । समाचार एजेन्सी रोयर्टसका अनुसार एवर ग्रिन मरिनले भने अचानक आएको तीव्र गतिको हावाको प्रभावको कारण यस्तो भएको हुनुपर्ने बताएको छ ।
जहाज निकाल्न कैयौं दिन लाग्न सक्छ
स्वेज नहरका एक अधिकारीका अनुसार त्यहाँ फसेको जहाजलाई निकाल्न तीव्र वेगमा रहेको पानीको धारलाई कम गर्नु पर्ने हुन्छ । यसका लागि धेरै दिन लाग्न सक्छ । सन् २०१७ मा एक जापानी जहाजले स्वेज नहरको बाटो नै रोकिदिएको थियो । त्यतिबेला अरु धेरै जहाज ल्याएर तिनै जहाजको सहयोगमा बाहिर निकालिएको थियो ।
स्वेज नहर लगभग १९३ किलोमिटर लामो छ भने यहाँ प्राकृतिक तालहरुसमेत रहेका छन् । यस्तै सन् २०१५ मा मिश्रको सरकारले स्वेज नहरलाई विस्तार गरेको थियो। सो विस्तारका कारण जलमार्ग अझ गहिरो बनाइएको थियो र त्यहाँबाट आउने-जाने जहाजलाई ३५ किलोमिटरको समानान्तर बाटो दिइएको छ ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4