Comments Add Comment

कमजोर अडियोको साइड इफेक्टः पलका भिडियोले पनि भ्यूज पाएनन्

नेपाली म्यूजिक भिडियोमा मोडल तथा नायक पल शाहको एकछत्र राज छ भन्दा फरक पर्दैन । पल शाहलाई लिएपछि गीतको भिडियोले युटुबमा दर्शक पाइहाल्छ भन्ने सोच धेरै लगानीकर्तामा छ । यसैले उनलाई पछिल्ला दिनमा डेढ लाखसम्म पारिश्रमिक दिन लगानीकर्ता तयार छन् । अवस्था यस्तो छ कि, पल शाहसँग समय नै छैन ।

लकडाउनयता केही गीतले राम्रो भ्यूज पाएपछि पलको डिमाण्ड चुलिएको हो । पलले पनि भिडियोमा काम गर्दा गीत, मोडल, मेकर केही नहेरी काम गरे । उनको दैनिक एउटा गीत सार्वजनिक भयो, उनी दैनिक एउटा गीतको छायांकनमा रमाए ।

तर, क्रेज सधै एउटै रहँदैन । अझ, भिडियोमा नयाँ प्रयोग केही पनि नगर्दा पलको भिडियोमा दर्शकले सधै एउटै शैली हेरिरहेका छन् । पल शाहको चकलेटी अनुहार र उनको डान्स । दर्शकले पलले खेलेका २ सय भन्दा बढी भिडियोमा यही मात्र हेरिरहेका छन् ।

पलसँग केही रेकर्ड पनि छन् । उनले अभिनय गरेको ‘फुलबुट्टे सारी र टाढा भएपनि’ले रेकर्ड नै राखे । २४ घन्टामा ९ लाख ७२ हजार भ्यूज पाउने गीतमा पनि पलले नै अभिनय गरेका हुन् ।

तर, यसमा एउटा कुरा के विर्सन हुँदैन भने यी गीतहरु पलकै कारणले भन्दा पनि अडियोका कारणले चलेका हुन् । अर्जुन पोखरेलको संगीत रहेको ‘नबोली नबोली’ बोलको गीतमा सुधिर श्रेष्ठ र गरिमा शर्माले काम गरेका छन् । यो गीत राम्रो भएकै कारण १ करोड ८० लाख बढी भ्यूज पाइसकेको छ ।

तर, अडियो कमजोर भएका गीतका भिडियोले पल शाहलाई मोडल राख्दा पनि भ्यूज पाउन सकेका छैनन् । गीत उत्कृष्ट पर्दा २४ घन्टामा ९ लाख ७२ हजारको भ्यूजको रेकर्ड राखेका पलका भिडियोहरु अडियो कमजोर हुँदा २४ घन्टामा २ लाख भ्यूज पाउन पनि सकिरहेका छैनन् ।

नायिका पूजा शर्मा र नायक पल शाहले अभिनय गरेका ‘डल्ली रेशम’ सार्वजनिक भएको ३ दिन भयो । तर, यसले २ लाख ४० हजार भ्यूज पाएको छ । पलले नै अभिनय गरेका ‘तिमी छौं र’ बोलको गीतले साढे १ महिनामा ७ लाख ६८ हजार भ्यूज पाएको छ ।

पल शाह, उषा उप्रेती जसता मोडलहरुले काम गरेको ‘काली काली टिकटकवाली’ बोलको गीतले डेढ महिनामा करिब १४ लाख मात्र भ्यूज पाएको छ । केन्द्र मोशन पिक्चर्स जसतो सफल च्यानलबाट सार्वजनिक भएको ‘यस्तो माया’ बोलको गीत करिब १ महिनामा १६ लाख भ्यूजमा अड्किएको छ । जसमा, पल शाह र उषा उप्रेतीको अभिनय छ ।

पलले नै अभिनय गरेको ‘स्वर्गकी परी’ बोलको गीत सार्वजनिक भयो । डेढ महिना अघि सार्वजनिक भएको यो गीतले करिब ४ लाख भ्यूज पाएको छ । पलले नै अभिनय गरेको ‘बैगुनी ३’ सार्वजनिक भएको ३ साता भयो । यो गीतलाई युटुबमा ४ लाख ६० हजार पटक हेरिएको छ ।

पल शाह, गरिमा शर्मा, दुर्गेस थापा जस्ता कलाकारले अभिनय गरेको ‘टिकटक क्विन’ सार्वजनिक भएको एक महिना भयो । यो गीतको भिडियोलाई पनि ४ लाख १४ हजार पटक मात्र हेरिएको छ । पलले नै अभिनय गरेको ‘कर्ली कपालवाली’ बोलको गीत सार्वजनिक भएको एक महिना बढी भयो । यो गीतलाई २ लाख ८५ हजार पटक मात्र हेरिएको छ ।

पलले नै अभिनय गरेको ‘क्या मज्जा आको’ बोलको गीतको भिडियो सार्वजनिक भएको साढे २ महिना बढी भयो । यो गीतको भिडियोलाई ७ लाख २१ हजार पटक हेरिएको छ । पल र वर्षा राउतले अभिनय गरेको ‘फिदा’ बोलको गीतले पनि भ्यूज पाएन । सार्वजनिक भएको १ महिना बढी भैसक्दा यो गीतलाई हेर्नेको संख्या ७ लाख २१ हजार मात्र छ ।

हेमन्त शर्माको स्वरमा समावेश ‘हेल्लो सिस्टर’ बोलको गीतमा पनि पलले अभिनय गरेका छन् । यो गीतले ८ लाख ८३ हजार मात्र भ्यूज पाएको छ । पलले नै अभिनय गरेको ‘पोखरेली झापाली’को अवस्था पनि कमजोर छ । यो गीत सार्वजनिक भएको एक साता बढी भयो । गीतले ३ लाख ८४ हजार भ्यूज मात्रै पाएको छ ।

पलले अभिनय गरेका यस्ता थुप्रै भिडियोहरु छन्, जसको अडियो कमजोर हुँदा त्यसको साइड इफेक्ट भ्यूजमा देखिएको छ । तर, अडियो राम्रा भएका गीतले भने धमाका मच्चाएका उदाहरण पनि छन् ।

लकडाउनयता पलले गीतको अडियोमा वेवास्ता गरेको देखिन्छ । यस्तो अवस्थामा केही गीत राम्रा पर्दा उनलाई पनि फाइदा मिलेको छ । तर, पललाई डेढ लाख पारिश्रमिक दिएर भिडियो खेलाएका धेरै मेकरको लगानी भने बालुवामा पानी नै भएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment