Comments Add Comment

काठमाडौँको सार्वजनिक यातायातमा मास्क अनिवार्य

१३ चैत, काठमाडौं । कोभिड-१९ संक्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौंमा सार्वजनिक यातायातमा मास्क प्रयोग अनिवार्य गरिएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरहरुबीच भएको छलफलमा कोरोना महामारीको जोखिम न्युनीकरणका लागि मास्क प्रयोग अनिवार्य गर्ने निर्णय भएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने निर्णय भएको बताए ।सार्वजनिक यातायातमा मास्क नलगाउने यात्रुलाई कारबाही गर्ने निर्णय भएको छ ।

त्यस्तै सार्वजनिक यातायातमा सिट क्षमता बराबर मात्र यात्रु राख्ने, भौतिक दूरीलाई व्यवस्थित गर्ने र बसपार्कमा साबुनपानीले हात धुने व्यवस्था गर्ने, अनुगमनलाई प्रभावकारी बनाउनेलगायतको निर्णय भएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँरले भारतमा कोरोनाको संक्रमण दर बढ्दै गएको र नेपालमा पनि बढ्दै जाने देखिएकाले पूर्व सावधानी अपनाउने सम्बन्धमा छलफल भएको बताए ।

कोभिड-१९ संक्रमणको दोस्रो लहर आउनसक्ने सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँग छलफल गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment