Comments Add Comment

ताप्लेजुङमा विप्लव समूहका नेता पक्राउ

१३ चैत, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ताप्लेजुङ जिल्ला कमिटी सदस्य सागर लिम्बु (सक्कल) पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले उनलाई बिहीबार राति पक्राउ गरेको ताप्लेजुङका डीएसपी महेन्द्र श्रेष्ठले अनलाइनखबरलाई बताए ।

सरकारले २१ फागुनमा चन्द नेतृत्वको पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्दै सबै मुद्दा खारेज गर्ने सहमति गरेको थियो । तर, अदालतले समूहका नेताहरुविरुद्ध पक्राउ पूर्जी जारी गर्ने क्रम रोकिएको छैन । सरकारसँग सहमति भएपछि सम्भवतः पहिलो पटक विप्लव समूहका नेता समातिएका हुन् ।

समूहका सबै नेता, कार्यकर्तालाई छाड्ने भनिएपनि त्यसले गति लिन सकेको छैन । केही दिनअघि महासचिव चन्दले पनि नेता, कार्यकर्ताको रिहाइमा विलम्ब भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका थिए ।

ताप्लेजुङका डीएसपी श्रेष्ठले भने राजनीतिक आस्थाको रुपमा नभइ अपराधमा संलग्न भएकाले पक्राउ गरिएको बताए । उनले भने, ‘उहाँविरुद्ध विष्फोटन सम्बन्धी कसूरमा पहिल्यै अदालतले पक्राउ पूर्जी पनि जारी गरिसकेको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment