Comments Add Comment

मप विश्वविद्यालयमा कानुन संकायको प्रवेश परीक्षामा विवाद, नतिजा रद्द

१३ चैत, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालय अगाडि धर्नामा बसेका विद्यर्थीमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

विश्वविद्यालय कानुन संकायतर्फको प्रवेश परीक्षाबाट अध्ययनका लागि छनोट भएका विद्यार्थीहरूले तत्काल भर्ना लिन माग गर्दै दुई दिनदेखि केन्द्रीय कार्यालय अगाडि धर्ना दिएका छन् ।

शुक्रबार प्रहरीले धर्नामा बसेका विद्यार्थीलाई हटाउन खोज्दा विद्यार्थी र प्रहरीबीच धकेलाधकेल भएको थियो । माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने विद्यार्थी नारायण रोकायले बताए ।

कानुन संकायको प्रवेश परीक्षा विवादित भएपछि विश्वविद्यालयको कार्यकारी परिषद्ले नतिजा नै रद्द गरिदिएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।

फागुन १७ गतेदेखि १९ गतेसम्म विश्वविद्यालयको कानुन संकायको केन्द्रीय क्याम्पसले स्नातक तह अध्ययनका लागि प्रवेश परीक्षा लिएको थियो । ४५ सिटका लागि गरिएको प्रवेश परीक्षामा १९० जना सहभागी थिए ।

परीक्षाअघि नै केही परीक्षार्थीलाई प्रश्नपत्र दिइएको भन्दै विरोध भएपछि परीक्षा रद्द गरिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विश्वविद्यालयको मिलेमतोमा प्रश्नपत्र आछ गरिएको भन्दै विद्यार्थीले छानबिनका लागि निवेदन दिएका थिए । उनीहरुले उपप्राध्यापकबाट नै प्रश्नपत्र बाहिरिएको भन्दै नतिजा रद्द गर्न माग गरेका थिए ।

उनीहरूले उत्तीर्ण भएका एक जना विद्यार्थीको फेसबुक म्यासेन्जरमा एक जना उपप्राध्यापकले प्रश्नहरू पठाइदिएको स्क्रिनसट पनि निवेदनसाथ दिएका थिए ।

उपकुलपतिको कार्यालयमा तालाबन्दी

विद्यार्थीको मागप्रति विश्वविद्यालय गम्भीर नभएको भन्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले उपकुलपति सिंहको कार्य कक्षमा शुक्रबार नै ताला लगाएको छ ।

विश्वविद्यालयले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको र विद्यार्थीका मागप्रति नजरअन्दाज गरेकाले ताला लगाइएको स्ववियु सदस्य रोशन बस्नेतले बताए ।

‘विद्यार्थीका मागप्रति विश्वविद्यालय प्रशसनले नजरअन्दाज गर्दै आएको छ, शान्तिपूर्ण धर्नामा बसेका विद्यार्थीमाथि दमन गरिन्छ’ उनले भने, ‘विश्वविद्यालय भित्रको मनोमानी रोक्न, उपकुलपतिको कार्यालयमा ताला लगाउन बाध्य भयौं ।’

पुनः प्रवेश परीक्षा लिइने

मध्यपश्चिमाञ्चल विश्वविदालयको कानुन संकायका निर्देशक उपेन्द्र विकले पुनः प्रवेश परीक्षा लिने बताए । अघिल्लो परीक्षामा सहभागी भएका विद्यार्थी मात्र सहभागी हुन पाउने गरी पुनः प्रवेश परीक्षा गर्न लागिएको उनले जानकारी दिए ।

प्रवेश परीक्षामा सोधिएका प्रश्नहरूमध्ये १५ प्रतिशत प्रश्न चुहावट भएको पाइएको उपकुलपति सिंहले बताए । विश्वविद्यालयको ‘स्कुल अफ ल’ मा अध्यापन गर्ने व्यक्तिले आफूले ट्युसन पढाइरहेका विद्यार्थीलाई प्रश्न पठाइदिएको उनले बताए ।

विद्यार्थीहरूले दिएको निवेदनका आधारमा विश्वविद्यालयले ३ सदस्यीय छानबिन समिति समेत गठन गरेको थियो । उक्त समितिले प्रतिवेदन उपकुलपतिलाई पेश गरिसकेको छ । तर सूचनाको हकअनुसार प्रतिवेदन माग गर्दा पनि सार्वजनिक नगरिएको आन्दोलित विद्यार्थी विष्णु विवेक ढुंगानाले बताए ।

विश्वविद्यालयको कार्यकारी परिषदले प्रवेश परीक्षाका बेला ल क्याम्पसका निर्देशक रहेका अर्जुनबहादुर ऐडीलाई जिम्मेवारीबाट हटाएको र करार सेवाका उपप्राध्यापक सुजन पन्तलाई ३ महिनाका लागि निलम्बन गरेको उपकुलपति सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment