+
+
Shares

त्रिपालमुनि रात बिताउँदै नरैनापुरका आगलागी पीडित

रासस रासस
२०७७ चैत १३ गते १९:४२

१३ चैत, बाँके । बाँकेको नरैनापुरका आगलागी पीडित त्रिपालमुनी रात बिताउन बाध्य भएका छन् । आगलागीले घर गोठ जलेपछि त्रिपालमुनी बास बस्नुपरेको नरैनापुर गाउँपालिका–६ दोन्द्राकी आगलागी पीडित रमादेवी कोरीले बताइन् । त्रिपालमुनी बास बस्दा बालबालिका र वृद्धवृद्धालाई समस्या हुने गरेको उहाँको भनाइ छ ।

गत फागुन २४ गते वडा नं १ सुईया गाउँमा २४ घर नष्ट हुनेगरी आगलागी भएको थियो । त्यसयता वडा नं. ५ मोतिपुर, वडा नं ६ दोन्द्रा, वडा नं २ लक्ष्मणपुर र सोही वडाकै देउचहवा गाउँमा आगलागी भएको नेपाल रेडक्रस सोसाइटी गङ्गापुर उपशाखाका सचिव सोहनलाल यादवले जानकारी दिए ।

उहाँका अनुसार गाउँपालिकामा आगलागीका घटना यस वर्ष ठूलो प्रकोपका रुपमा भइरहेका छन् । आगलागी पीडितलाई रेडक्रसमार्फत त्रिपाल, भाँडावर्तन र कम्बल वितरण गरिएको छ भने विभिन्न सङ्घ संस्थाद्वारा खाद्यान्नलगायत राहत वितरण गरिँदै आएको छ ।

नरैनापुरका अधिकांश वस्तीमा एकआपसमा जोडिएर खरको छानाबाट बनेका घरमा आगलागीको धेरै जोखिम हुने गरेको यादवको भनाइ छ । गर्मीयामको शुरुवातसँगै नरैनापुर क्षेत्रमा आगलागीका घटना बढेका छन् । एक महिनाको अवधिमै ३९ घरमा आगलागी भई खाद्यान्न नष्ट भएको छ । आगलागी पीडित अहिले त्रिपालमुनि रात बिताउन बाध्य छन् ।

आगलागीको प्रकोप न्यूनिकरण गर्न गाउँपालिकाले अब खरका छाना हटाउने अभियान सञ्चालन गर्ने भएको छ । अहिले तत्काल आगलागी पीडित ३१ परिवारलाई प्रदेश सरकारसँगको साझेदारीमा कर्कटपाता वितरण प्रक्रिया अगाडि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले जानकारी दिए।

राहत वितरण

नरैनापुरका आगलागी पीडितलाई राष्ट्रिय युवा सङ्घ नेपाल बाँकेले आज राहत वितरण गरेको छ । वडा नं ६ गङ्गापुरको दोन्द्रा र वडा नं २ लक्ष्मणपुरका आगलागी पीडितलाई खाद्य सामग्री प्रदान गरिएको राष्ट्रिय युवा सङ्घका अध्यक्ष तिलकवीर सुनारले जानकारी दिए ।

नेकपा एमाले बाँकेका अध्यक्ष सूर्य ढकाल, राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय सचिव रबिन्द्र लम्साल, केन्द्रीय सचिवालय सदस्य खेम शर्मालगायत नेताले राहत सामग्री वितरण गरेका थिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?