Comments Add Comment

त्रिविका ७ प्राध्यापकलाई बाैद्धिक चोरीको आरोपमा कारबाही

१३ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्ले बाैद्धिक चोरी गर्ने प्राध्यापक, आंशिक प्राध्यापक, सहप्राध्यापकलाई कारबाहीको निर्णय गरेको छ ।

परिषदले एक प्राध्यापक, आंशिक प्राध्यापक, सहप्राध्यापकसहित सात जनालाई कारबाही गर्ने निर्णय गरेको त्रिवि उपकुलपति डा. धर्मकान्त बास्कोटाले बताए ।

उनीहरुले फ्रान्सका प्राध्यापक आरमेली वेलको क्रिस्टल स्ट्रक्चर नामक कृतिबाट चित्रसहितको सामग्री हुबहु नक्कल गरेर आफ्नो नाममा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गरेको भन्दै परिषद्ले कारबाही गर्ने निर्णय गरेको छ ।

त्रिविको विराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पसका रसायनशास्त्रका प्राध्यापक परशुराम मिश्र, आंशिक प्राध्यापक रोहित देव, सहप्राध्यापक जनक अधिकारी, *, विमल कण्ठ र हरेराम मिश्रलाई परिषदले कारबाही गरेको छ ।

प्राध्यापक आरमेलीले आफ्नो सामग्री चोरी भएको इमेलमार्फत त्रिविमा उजुरी गरेपछि परिषद्ले छानबिन समिति गठन गरेको थियो । त्रिवि केन्द्रीय क्याम्पस रसायन शास्त्र विभागका प्रा.डा रामचन्द्र बस्नेतको संयोजकत्वमा गठन भएको छानबिन समितिले आरोपित सातै जनाले बाैद्धिक चोरी गरेको प्रतिवेदन बुझाएको थियो । छानबिन समितिले गरेको कारबाहीको सिफारिस अनुसार नै कारबाही भएको परिषद्ले जनाएको छ ।

आरोपितहरुको हालसम्म विभिन्न जर्नलमा छापिएको आर्टिकल अमान्य हुने, दुई वर्षसम्म कुनै पनि अध्ययन–अनुसन्धानमा सहभागी हुन नपाउने, थेसिस गाइड तथा सुपरीवेक्षक बन्न नपाउने भएका छन् । आंशिक प्राध्यापक रोहित देवले दुई वर्ष कुनै पनि विश्वविद्यालय वा क्यापम्सहरूमा कक्षा लिन नपाउने भएका छन् ।

उनीहरु सातै जनाको विवरणसहित बाैद्धिक चोरीको आरोपमा कारबाहीमा परेको सूचना देशभरका आंगिक क्याम्पस तथा विभागहरुमा पत्राचार गरिएको परिषदले जनाएको छ । त्रिवि कार्यकारी परिषद्ले पहिलोपटक बाैद्धिक चोरीको आरोपमा कारबाही गरेको हो ।

(*बौद्धिक चोरीको आरोपमा कारबाहीमा परेकाहरुको सूचीमा नरेन्द्र चौधरीको नाम असावधानीबस यस समाचारमा पर्न गएकोमा क्षमाप्रार्थीसहित उहाँको नाम हटाएका छौं । सं.)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment