Comments Add Comment

त्रिदेशीय कप : बंगलादेशविरुद्ध अंक जोड्दै फाइनल पुग्ने लक्ष्यमा नेपाल

१४ चैत, काठमाडौं ।त्रिदेशीय कप फुटबल अन्तर्गत नेपाल र बंगलादेशबीच लिगको अन्तिम खेल आज हुँदैछ । नेपाल बंगलादेश र किर्गिस्तान यू-२३ टिम सम्मिलित प्रतियोगितामा बंगलादेश यसअघि नै फाइनल पुगिसकेको छ।

नेपालले फाइनल पुग्न बंगलादेशसंग बराबरी खेले पर्याप्त हुनेछ । बंगलादेशले पहिलो खेलमा किर्गिस्तानलाई १-० ले पराजित गरेको थियो । नेपालले किर्गिस्तानसँग गोलरहित बराबरी खेलेपछि बंगलादेश एक खेलअघि फाइनल पुगेको हो।

नेपाल र बंगलादेशबीचको खेलपछि नै फाइनल समीकरण तय हुनेछ । यस्तोमा घरेलु टोलीले सोमबार हुने फाइनलमा स्थान बनाउन कम्तीमा हार टार्नु पर्नेछ ।

किर्गिस्तानको ओलम्पिक टिम भएकोले यसअघि भएको दुवै खेलले अन्तर्राष्ट्रिय मान्यता पाएको थिएन । त्यसैले नेपाल र बंगलादेशबीच हुने खेलले अन्तर्राष्ट्रिय मान्यतासमेत पाउनेछ।

सन् २०१५ मा विश्वकप छनोट अन्तर्गत भारतसँग खेलेयता बंगलादेशविरुद्धको खेल नै दशरथ रंगशालमा सिनियर टोलीको पहिलो आधिकारिक अन्तर्राष्ट्रिय खेल हुनेछ ।

किर्गिस्तानसँग नेपालको सिनियर टोलीले खेलेपनि किर्गिस्तानको राष्ट्रिय टोली नभएकोले त्यसले अन्तर्राष्ट्रिय मान्यता भने पाउने छैन ।

पहिलो खेलमा किर्स्तानसँग बराबरीमा रोकिएपछि नेपालमा मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बंगलादेशविरुद्ध अंक जोड्दै फाइनल पुग्ने लक्ष्य रहेको बताएका थिए ।

किर्गिस्तानसँग नेपालको अट्याकिङ थर्ड कमजोर भएकोले स्कोर निस्कन नसकेको स्वीकार गरेका महर्जनले बंगलादेशविरुद्ध त्यसलाई सुधार गर्ने बताएका थिए ।

‘पहिलो खेलमा हाम्रो अट्याकिङ थर्ड कमजोर भयो । अब त्यसलाई सुधार गर्दै बंगलादेशविरुद्ध खेल्नेछौँ । अबको खेलमा अंक जोड्दै फाइनलमा पुग्ने प्रयास गर्ने छौं,’ महर्जनले भने ।

बंगलादेशविरुद्ध बदला लिने अवसर

गत नोभेम्बरमा नेपालले बंगलादेशसँग उसैको मैदानमा दुई खेलको मैत्रीपूर्ण सिरिज खेलेको थियो । जसमा नेपाल पहिलो खेलमा २-० ले पराजित भएको थियो भने दोस्रो खेल गोलरहित बराबरीमा सकिएको थियो ।

यस पटक घरेलु मैदान र घरेलु दर्शकको साथ पाएको नेपालको लागि त्यो हारको बदला लिने अवसर समेत छ । ढाका भएको दुवै खेलमा नेपाले गोल गर्न सकेन । अहिले त्रिदेशिय कपमा पनि पहिलो खेलमा गोल गर्न सकेन । त्यसैले बंगलादेशविरुद्ध गोल गर्दै खेल जित्नको लागि नेपाललाई अवसर र चुनौती दुवै छ ।

बंगलादेशले पहिलो खेलमा किर्गिस्तानलाई हराइकसको र फाइनलमा पनि स्थान पक्का गरिसकेकोले मनोबल उच्च छ । किर्गिस्तानलाई हराएपछि बंगलादेशका प्रशिक्षक जेम्स डे ले नेपालको पहिलो खेल हेरेर त्यस अनुसार रणनीति बनाएर खेल्ने बताएका थिए । फाइनलमा स्थान पक्का गरिसकेकोले बंगलादेशलाई नेपालसंग खेल्दा कुनै दबाब हुने छैन ।

उता किर्गिस्तानको पनि फाइनल पुग्ने सम्भावना अझै सकिएको छैन । किर्गिस्तान नेपाल र बंगलादेशको खेलको नतिजाको पर्खाइमा छ । किर्गिस्तानका प्रशिक्षक झोल्डोसोभ नुर्बेकले नेपाल र बंगलादेशबीचको खेलमा न्यायपूर्ण नतिजा आउने आशा राखेका छन् ।

यदी बंगलादेशले नेपाललाई २ वा त्योभन्दा बढी गोलअन्तरले पराजित गरे किर्गिस्तान फाइनल पुग्नेछ । प्रशिक्षक महर्जनले बंगलादेशविरुद्ध हारबारे नसोचेको बताए।

बंगलादेश र नेपालबीच अहिलेसम्म २१ खेल भएको छ । जसमा बंगलादेश १३ खेलमा विजयी हुँदा नेपालले ६ खेल जितेको छ ।२ खेल भने बराबरीमा सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment