Comments Add Comment

उपन्यास अंश : मनको उडान

क्यालेण्डरका पानाहरू पल्टिँदै गए । अशोक र अम्बिकाको विवाह भएको पनि तीनवर्ष पुग्दै थियो।

सन् २५३१ को अगस्त महिना ।

धेरै जाडो बढेको थिएन । वर्षा पनि अझै पूर्णरूपमा थामिएको थिएन । रमेश र इन्दु आफ्नो ठूलो बङ्गलाको पैँतीसौं तलाको पूर्वतर्फको कोठामा सुतेका थिए । बिहानको शान्त र ठण्डा वातावरणमा उनीहरू दुवैजना मस्त निद्रामा थिए । एकाएक बजेको फोनको घण्टीले दुवैको निद्रा भङ्ग भयो ।

रमेशले झर्कंदै भने, ‘आधा रातमै फोन गर्ने को होला ? काम नपाएको मान्छे !’

‘के भनेको होला ? महत्त्वपूर्ण काम परेर त मानिसहरू फोन गर्छन् नि ! हाम्रै छोरा अशोक पो हो कि ? फेरि, अहिले कहाँ आधा रात हुनु, उज्यालो भइसक्यो !’ इन्दुले गुनासो गर्दै फोन उठाइन् ।

‘हेलो !’

‘मामु, दर्शन ! म अशोक !’

‘बाबु अशोक ! के छ खबर ? तिमीहरू सञ्चै त छौ ?’ उनी झसङ्ग हुँदै बोलिन् ।

‘म त सञ्चै छु तर, अम्बिकालाई अलि सञ्चो छैन । राति १२ बजेदेखि उनले असजिलो महसुस गरेकीले आवासमै डाक्टर बोलाएको थिएँ । उहाँले काठमाडौँ जानुभए पनि हुन्छ भन्नुभएकोले हामी यहाँबाट हिँड्न लागेका छौँ, हामी सिधै हस्पिटल जान्छौँ । त्यही खबर गरौं भनेर फोन गरेको हुँ !’

‘धेरै गाह्रो भएको छ उनलाई ? डाक्टरले के भनेका छन् ?’

उहाँले दिएको डेटभन्दा तीनदिनअघि नै उनलाई असजिलो भएकोले काठमाडौं ल्याउन लागेको । अरु त, सबै ठीक छ । कुराकानी पनि गरिरहेकी छिन् ।’

‘के मा आउँदै छौ ? को–को छन् साथमा ?’

‘हजुर, फोरसिटर हवाई-कारमा आउँदै छौं । साथमा एकजना नर्स बहिनी हुनुहुन्छ नारायणी । हजुरहरूलाई बिहानै बिहानै दुःख दिएकोमा क्षमा चाहन्छु !’

‘केही दुःख भएको छैन । ल, राम्रोसँग आऊ, यता हामी छौँ । हामीहरू पनि चाँडै हस्पिटल पुग्छौँ । हामीले गर्नुपर्ने केही भए भन !’

‘हुन्छ मामु, हजुरहरूले गर्नुपर्ने खासै केही छैन ! हस्पिटलमा खबर भइसकेको छ । अरु, त्यतै आएपछि कुरा गरौंला, अहिले फोन राखेँ, बाई !’

‘हुन्छ त, बाई !’

इन्दुले फोन गर्दासम्म रमेश पनि उठिसकेका थिए । फोनमा भएको कुरा सबै सुनेर उनी पनि आत्तिएका थिए । इन्दुले गुनासो गर्दै भनिन्, ‘सुन्यौ ? अम्बिकालाई सुत्केरी व्यथा लागेजस्तो छ, यतै आउँदैछन् ! बिचरा, कस्तो कष्ट भइरहेको होला ! झट्पट् तयार होऊ । मैले भनेकी थिइनँ ? छोराकै फोन होला भनेर ! जे पायो त्यही बोल्ने ? हामी एक घण्टाभित्रमा हस्पिटल पुगिसक्नु पर्छ ! तयारी गर्दै गर, म बाथरुम पसेर आउँछु !’

इन्दु बाथरुमतिर लागिन् । ‘हुन्छ, हुन्छ जाऊ, चाँडै गर ! म यता, तयारी गर्दै गर्छु !’ रमेशले भने ।

रमेशले आवश्यक सामानहरू ठीक पारे । इन्दु बाथरुमबाट फर्केपछि कफी पिएर आधाघण्टामा दुबैजना घरबाट निस्के । बाहिर राम्रोसँग उज्यालो नभए पनि लाइटले गर्दा सडक झलमल्ल थियो । सिमसिम पानी पर्दै थियो । घरबाट हस्पिटल पुग्न लगभग बीसमिनेट लाग्यो । गाडी पार्किङ्ग गरेर निस्कँदा सबैजना हवाई-कार ल्याण्ड गर्ने फिल्डको छेउमा उभिएका थिए । रमेशले सबैसँग परिचय गरे । हस्पिटलका महानिर्देशकसहित सबै डाक्टरहरू तथा कर्मचारीले उनीहरूको स्वागत गरे ।

अशोक दम्पतिको सुरक्षाको लागि सुरक्षा टोलीसमेत त्यहाँ पुगिसकेको थियो ।

बिहान तीनैबजे डा. अरुणलाई खबर भईसकेकोले उनले सबैलाई तयारी अवस्थामा राखेका थिए । हवार्ई कारको आवाज सुन्नेबित्तीकै सबैजना डा. अशोक तथा डा. अम्बिकाको स्वागतका लागि तयार भए । कार ल्याण्ड गरेपछि पहिले परिचारिका नारायणी बाहिर निस्केर सबैलाई अभिवादन गर्दै भनिन्, ‘दिपायलबाट उडेको आधा घण्टापछि अर्थात् बिहान ४:३० बजे आकाशमै डा. अशोक र डा. अम्बिकाका प्रथम पुत्रको जन्म भएको छ । डा. अम्बिका र नवजात शिशु सकुशल हुनुहुन्छ । स्वास्थ्य जाँचका लागि दुबैलाई इमर्जेन्सी वार्डमा लैजान पर्ने छ !’

हस्पिटलका कर्मचारीहरूले अम्बिका र नवजात शिशुलाई स्ट्रेचरमा राखेर इमर्जेन्सी वार्डमा पुर्याए । हवाई-कारबाट त्यसपछि अशोक बाहिर निस्के । इमर्जेन्सी-वार्डको बाहिर गएर सबै अधीरतापूर्वक प्रतिक्षारत रहे ।

इन्दु निकै अधीर भइरहेकी थिईन्, उनी शान्त भएर बस्न सकेकी थिईनन् । कहिले यता, कहिले उता हिँडिरहेकी थिईन् । यो देखेर रमेशले भने, ‘शान्त भएर बस, अम्बिका र हाम्रो नाति स्वस्थ छन्, चिन्ता नगर !’

‘कहाँ शान्त रहन सक्छु ? तीनवर्षको पर्खाइपछि जन्मेको नातिको अनुहार हेर्न कत्रो हतार भैसक्यो ! त्यसमा पनि, विचरा ! बाटोमै बच्चा जन्माउँदा अम्बिकालाई कति गाह्रो भयो होला ?’

‘अम्बिकालाई त्यस्तो खासै गाह्रो भएन मामु, कुरा गर्दै थिइन्, छोरा जन्मेको त थाहा नै भएन !’ नजिकै बसेका अशोकले आमालाई सम्झाउँदै भने । ‘नारायणी उनको स्याहारमा लागेकी थिइन् । नारायणीले म्याम नआत्तिनोस् भनेको सुनेँ । एकैक्षणपछि त बच्चा रोएको सुनेर म चकित परेँ । पछिल्तिर हेर्छु त नारायणीले नाभी काटिरहेको पो देखेँ !’

भित्र डाक्टरहरूले अम्बिका र नवजात शिशुको विभिन्न किसिमको परीक्षण गरेर रिपोर्ट दिँदै भने, ‘डा. अम्बिका र नवजात शिशुको स्वास्थ्य सबै प्रकारले पूर्णरूपमा ठीक छ । सबै सामान्य छ । शिशुको उचाई ४६ सेमि र तौल ३.२ के.जी. छ । भर्खरै नवजात शिशुले पहिलो स्तनपान गरेका छन् । सबैकुराहरू सामान्य भएकोले साँझसम्ममा घरमा लैजान सक्नुहुन्छ । उहाँको हेरचाहको लागि डा. महेश र परिचारिका नारायणी भने दुईहप्तासम्म साथै रहनुहुने छ ।

इन्दु आँधीहुरीजस्तै भित्र प्रवेश गरिन् । रमेश र अशोक पनि पछिपछि गए । अम्बिका इमर्जेन्सी वार्डको भीआईपी बेडमा आफ्नो छोरा हेरेर मुस्कुराइरहेकी थिइन् । इन्दुले अम्बिकाको निधारमा हात राख्दै भनिन्, ‘कस्तो छ बाबा ? धेरै गाह्रो भयो होला है !’

इन्दुको हात आफ्नो हातमा लिएर दबाउँदै अम्बिकाले भनिन्, ‘म ठीक छु मामु ! बरु, हजुर र बाबाले बिहान केही खानुभयो कि भएन ?’

इन्दुले नातिलाई काखमा लिँदै भनिन्, ‘हामी एकदम ठीक छौं । हाम्रो चिन्ता नगर । तिमीलाई राम्रो भए हामीलाई पुग्यो । अशोक र रमेश पनि वरिपरि झुम्मिए । अस्पतालका कर्मचारीहरू समेत उनीहरूको खुशीमा सामेल भए । एकक्षण शिशुको विषयमा टीकाटिप्पणी चल्यो । रमेशले हस्पिटलका पूरै कर्मचारीमा बाँड्नका लागि मिठाईको अर्डर गरे ।

बिहान सातबजेदेखि अम्बिकालाई भेट्न इष्टमित्रहरू, साथीहरू, उनका शिक्षकहरू आउन थाले । यो क्रम साँझसम्म पनि कायम रह्यो । डा. अशोक र डा. अम्बिकालाई सामाजिक सञ्जालमा पनि हजारौंले बधाई दिए । दिनभर अशोकलाई बधाई थाप्नुले फुर्सद नै भएन ।

०००

केही अनलाइनहरूले ब्रेक्रिङ-न्युजमा अशोक र अम्बिकाको पहिलो सन्तानको जन्मलाई समाचार बनाए । साँझ सातबजे सबैजना घर फर्के । अम्बिकाको लागि विशेष प्रवन्धसहितको आवासको व्यवस्था भयो । डा. महेश र नारायणीको लागि पनि आवासको विशेष व्यवस्था भयो । अम्बिका र अशोकको खानपिनका लागि नेपाल सरकारले दुईजना कुकहरू र चारजना सहयोगीहरू पठायो । डा. महेश र परिचारिका नारायणी सुत्केरीको हेरचाहको लागि निरन्तर खटिइरहे । अम्बिकालाई कुनै पनि प्रकारको कठिनाई नहोस् र उनी चाँडै आफ्नो काममा फर्कन सकून् भनेर यो सबै प्रवन्ध गरिएको थियो । पौष्टिक आहारका लागि खानेकुराहरू डा. महेशले शिफारिस गरेअनुसार व्यवस्था हुन लाग्यो ।

अशोक र अम्बिकाको सुरक्षाको लागि पनि विशेष प्रवन्ध गरियो ।

रमेशले घरको सरसफाइ, रङ्गरोगनका लागि मानिसहरू बोलाए । साँझ दीपावली गरिनुका साथै वरिपरि टोल छिमेकका सबैलाई निमन्त्रण गरी रात्रीभोजको व्यवस्था गरे । पाहुनाहरूका लागि छुट्टै प्रवन्ध गरियो । चारैतिरबाट अशोक र अम्बिकालाई बधाई सन्देशहरू आउन थाले । बधाई दिने व्यक्तिहरूको भिड भइरह्यो एकहप्तासम्म ।

बच्चा जन्मेको सातौँदिनमा राष्ट्रपति नरेन्द्र र प्रधानमन्त्री सन्तवीर अशोक र अम्बिकासँग भेट गर्न आए । राष्ट्रपति नरेन्द्रले अशोकसँग यसरी अंकमाल गरे मानौँ, वषौंपछि विछोड भएका दुर्र्ई सहोदर भाइहरू भेट भएका छन् । उनले अशोक र अम्बिकालाई चाँदीबाट बनेको गणतन्त्र स्मारकको नमूना उपहार प्रदान गरे । रमेश र इन्दुलाई बधाई दिँदै राष्ट्रपति नरेन्द्रले भने, ‘हजुरहरू धन्य हुनुहुन्छ, जसले अशोकजस्तो महान वैज्ञानिक छोरा जन्माउनु भयो ! अब, हजुरहरू अशोकको मातापिता मात्र नभएर नेपाल राष्ट्रका मातापिता बन्नुभएको छ । नेपाल सरकार हजुरहरूप्रति गर्व गर्दछ ।’

इन्दुले राष्ट्रपतिसमक्ष हात जोड्दै भनिन्, ‘महामहिम राष्ट्रपतिज्यू ! अशोक मेरो एउटै सन्तान हो, ऊबाहेक मेरा अरु सन्तान छैनन् । त्यसैले सन् ३५ मा सुरु हुने अनन्त लामो अन्तरिक्ष यात्रामा मेरो छोरा नजाओस् । बरु, मङ्गलग्रहको यात्रामा जाओस् ! ऊविना म बाँच्न सक्दिनँ । त्यसैले, तारकीय यात्राबाट उनको नाम हटाइयोस्, यही मेरो बिन्ती छ !’

यो सुनेपछि प्रधानमन्त्री सन्तवीरले भने, ‘आमा, उहाँजस्तो वैज्ञानिक अहिले संसारमा कोही छैन । उहाँ संसारकै महान मान्छे हुनुहुन्छ । यति ठूलो वैज्ञानिकलाई हामीले पनि खतरापूर्ण यात्रामा पठाउनुहुन्न भनेका थियौं । महामहिम राष्ट्रपति पनि यसको पक्षमा हुनुहुन्थेन तर बोर्ड बैठकले निर्णय गरेपछि हाम्रो केही लागेन । डा. अशोक र डा. अम्बिकाको आफ्नै इच्छाले पनि उहाँहरू तालिममा सरिक हुनुभएको छ । तर अझै पनि तारकीय यात्रामा उहाँहरू नै जानुहुन्छ भन्ने कुरा निश्चित छैन । यदि, गोलाप्रथा गर्दा उहाँहरूलाई नै पर्यो भनेचाहिँ जानै पर्छ, जान्न भन्न मिल्दैन !’

‘अशोक र अम्बिकालाई नै किन छनौट गरिएको हो ? के नेपालमा अरु मानिसहरू त्यहाँ जान योग्य थिएनन् र ?’ इन्दुले प्रधानमन्त्रीसँग प्रश्न गरिन् ।

‘यस यात्रामा जानका लागि नेपालका पचास हजारभन्दा धेरै व्यक्तिले निवेदन दिएका थिए । उहाँहरू छनौट हुनुको मुख्य कारण उहाँहरूको इच्छा र चाहना हो । यो यात्राबाट उहाँहरू चौधवर्षमा फर्कनुहुने छ । उहाँहरूका सन्तान राष्ट्रका सन्तान हुने छन् । तसर्थ, उनीहरूको पालन,पोषण र शिक्षा दिने काम सरकारले नै जिम्मा लिने छ । हामी त्यस कुरामा कुनै कमी हुन दिने छैनौं ।

हजुरहरू र यी नवजात शिशुलाई कुनै प्रकारको दुःखकष्ट परेमा हामीलाई खबर गर्नुहोला । हामी कुनै पनि समयमा उपस्थित हुने छौं। साथै, रमेश प्रजापतिज्यूलाई राष्ट्रिय योजना आयोगको सदस्यमा मनोनयन गरिएको पनि सहर्ष जानकारी गराउन चाहन्छु ।’ यति भन्दै उनले इन्दुलाई चेक दिए ।

रमेशले राष्ट्रपति र प्रधानमन्त्रीसमक्ष हात जोड्दै भने, ‘हजुरहरू मेरो घरमा पाल्नु भई कुरा सुनेर यो जिम्मेबारी दिनुभएकोमा र बालबच्चाको जिम्मा लिनुभएकोमा कृतज्ञता ज्ञापन गर्दछु । नेपालले हजुरजस्तो महान र दूरदर्शी नेतृत्वमा ठूलाठूला उपलब्धीहरू हासिल गर्ने छ, यसमा कुनै पनि शङ्का छैन । त्यसमा हाम्रो सहयोग रहने कुरासमेत अनुरोध गर्न चाहन्छु ।’

यसपछि राष्ट्रपति नरेन्द्रले अम्बिका र अशोकलाई इङ्गित गर्दै भने, ‘डा. अशोक तथा डा. अम्बिका, तपाईंहरू विश्वकै महान् वैज्ञानिक हुनुहुन्छ । नेपाल सरकार तपाईंहरूप्रति गर्व र तपाईंहरूले विज्ञान र प्रविधिको क्षेत्रमा पुर्याउनु भएको योगदानको लागि हार्दिक आभार प्रकट गर्दछु । डा. अम्बिकाद्वारा आविष्कार गरिएको हवाई-कारबाट देशलाई खरबौं आम्दानी भएको छ ।

त्यस्तै डा. अशोक र डा. शिशिरले अन्तरिक्षयान तथा रकेट इन्जिन निर्माणमा अद्भूत परिवर्तन गरी नेपाललाई यो स्थानमा पुर्‍याउनुभएकोमा नेपाल सरकार हार्दिक कृतज्ञता ज्ञापन गर्दछ । भविष्यमा यहाँहरूले गर्ने हरेक कार्यमा नेपाल सरकार सहयोगका लागि हरदम तयार रहने छ । वास्तवमा, हामी यहाँहरूलाई अन्तरिक्ष यात्रामा पठाउने पक्षमा थिएनौं । बोर्डले निर्णय गरेपछि स्वीकार गर्नै परेको हो । हाम्रो आग्रह छ कि, यहाँहरूले मङ्गलयात्रा छनौट गर्नुहुने छ ।’

(इन्डियो इन्कले प्रकाशन गरेको शशिराम कार्कीको विज्ञान कथामा आधारित उपन्यास ‘मनको उडान’बाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment