Comments Add Comment

‘म्यानमारमा सैन्य कारबाही होइन, नरसंहार हो’

तस्वीर : रोयटर्स

१५ चैत, काठमाडौं । म्यानमारमा शासन हातमा लिने सैन्य कदमविरुद्धको आन्दोलनको क्रममा शनिबार कम्तीमा ११४ जना मारिएका छन् । सुरक्षाकर्मीले चलाएको गोली लागी मृत्यु हुनेमा सात जना बालबालिका छन् ।

यद्यपि यो संख्या अझै बढी हुन सक्ने स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् । संयुक्त राष्ट्रसंघले यो आन्दोलनमा धेरै मानिस मारिएको र सयौं घाइते भएको जानकारी आएको बताएको छ ।

एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी) का अनुसार शनिबार मारिने प्रदशर्नकारीमा १३ वर्षीया बालिका पनि छिन् । घरभित्रै रहेकी उनको प्रहरीको गोली लागेर मृत्यु भएको हो ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली चलाएको र पक्राउ परेका प्रदर्शनकारीलाई पनि चरम यातना दिइरहेको देख्न सकिन्छ ।

शनिबार म्यानमारको ७६ औं सेना दिवस परेको थियो । सेना दिवसको अवसरमा म्यानमारको राजधानी न्यपेतमा सेनाले प्रजातन्त्रको माग गर्दै आन्दोलन गरिरहेका प्रदर्शनकारीलाई रोक्न व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरेको थियो । सोही क्रममा म्यानमारका सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली चलाएका हुन् ।

गत फेब्रुअरी १ मा सेनाले प्रजातन्त्र पक्षधर नेताहरुलाई हिरासतमा लिँदै शासन हातमा लिएको थियो । त्यसको विरोधमा म्यानमारमा निरन्तर प्रदर्शन हुँदै आइरहेको छ । अहिलेसम्म म्यानमारको प्रदर्शनमा परी चार सयभन्दा धेरैको मृत्यु भइसकेको छ भने २४ सयभन्दा धेरै प्रदर्शनकारी पक्राउ परेका छन् ।

यद्यपि पछिल्लो समय सेना निकै आक्रामक देखिएको छ । शनिबार आन्दोलन शुरु भएयताकै सबैभन्दा धेरै प्रदर्शनकारी सुरक्षाकर्मीबाट मारिएका हुन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली चलाएको र पक्राउ परेका प्रदर्शनकारीलाई पनि चरम यातना दिइरहेको देख्न सकिन्छ ।

शनिबार एकैदिन ११४ जना प्रदर्शनकारी मारिएसँगै १२ मुलुकका रक्षा प्रमुखले म्यानमारको सेनाको निन्दा गरेका छन् ।

अमेरिका, बेलायत, जापान, दक्षिण कोरियालगायतका मुलुकले संयुक्त विज्ञप्ति जारी गरी म्यानमारको सेनाको निन्दा गरेका हुन् । उनीहरुले सेनाको पेशा अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्दै आफ्नो काम गर्नु रहेको बताएका छन् ।

विज्ञप्तिमा सेनाको काम नागरिकलाई दुःख दिनु नभई उनीहरुको सेवा गर्नु रहने उल्लेख छ । यो विज्ञप्तिमा अष्ट्रेलिया, क्यानडा, जर्मनी, ग्रीस, इटाली, डेनमार्क, नेदरल्याण्ड्स र न्युजिल्याण्डले पनि हस्ताक्षर गरेका छन् । यसरी कुनै पनि मुलुकका रक्षा प्रमुखले अर्को मुलुकको सेनाको विरोध खासै गर्दैनन् ।

बीबीसीसँगको अन्तर्वार्तामा बर्माको मानव अधिकार नेटवर्क बेलायतका निर्देशक क्याव विनले भने, ‘यो नरसंहार हो अब सैन्य कारबाहीमा सीमित रहेन ।’ उनले म्यानमारको सेनासँग कुनै सीमा र कुनै सिद्धान्त नरहेको बताए ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा म्यानमारमा एक स्थानीय थु या जले भने, ‘उनीहरुले हामीलाई चरा वा कुखुराको चल्ला जसरी मारिरहेका छन्, त्यो पनि हाम्रै घरमा छिरेर ।’ यद्यपि आन्दोलन भने जारी रहने उनले बताएका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले शनिबारको घटना डरलाग्दो भएको बताएका छन् । एन्टोनी ब्लिन्केनले शनिबारको घटना डरलाग्दो भएको बताएका छन् । शनिबार एक सयभन्दा धेरै मानिसको हत्या गर्नुले म्यानमारको सेना केही मानिसमाथि शासन गर्न धेरै जनताको बली चढाउन तयार देखिएको बताएका छन् ।

ब्लिन्केनले म्यानमारका जनताले यसअघि नै सेनाले आतंकलाई अस्वीकार गरिसकेको बताएका छन् । युरोपेली संघ (ईयू) ले पनि म्यानमारका निहत्था नागरिक, बालबालिकामाथि गरेको घातक दमनलाई कुनै पनि अवस्थामा स्वीकार गर्न नसकिने बताएको छ ।

म्यानमारका लागि अमेरिकी राजदूत थोमस भाज्दाले एक विज्ञप्ति जारी गर्दै ‘सुरक्षाकर्मीहरुले निहत्था नागरिकहरुको हत्या गरेको’ आरोप लगाएका छन् ।

म्यानमारको लागि राष्ट्रसंघका विशेष दूत टोम एन्ड्र्युजले सुरक्षा परिषद्बाट सम्भव नभए अन्तर्राष्ट्रिय शिखर सम्मेलनबाट भए पनि म्यानमारविरुद्ध अन्तर्राष्ट्रिय समुदायले कदम चाल्ने बेला आएको बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment