Comments Add Comment

वन्यजन्तु चोरी शिकारी नियन्त्रण गर्न मनास्लु संरक्षण क्षेत्रमा गस्ती

१६ चैत, गोरखा । उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा हुने वन्यजन्तु चोरी शिकारी नियन्त्रणका लागि गस्ती बढाइएको छ । वडास्तरमा यसअघि नै गठन भइसकेको वन्यजन्तु चोरी शिकारी विरुद्धको इकाईले गस्ती बढाएको हो ।

चुमनुव्री गाउँपालिकाको प्रत्येक वडामा इकाई रहेको मनास्लु संरक्षण क्षेत्र (एमक्याप)ले जनाएको छ । ‘अहिंसा क्षेत्र घोषणा भएको चुम्चेत र छेकम्पारमा चुम श्याग्या संरक्षण समितिलाई नै इकाईको रुपमा मानेका छौ,’ एमक्यापका प्रमुख नरेन्द्र लामाले भने, ‘बाँकी वडामा स्थानीयहरु राखेर बनाइएको छुट्टै इकाई छ ।’

उनका अनुसार इकाईले संरक्षण क्षेत्रमा गस्ती गर्ने, चरन खर्कमा वन्यजन्तुको अवस्था बुझ्ने र कतै पासो थापेको देखेमा हटाउने जस्ता कार्य गर्नेछ । जडिबुटीको अवैध संकलन र ओसारपसार नियन्त्रणमा पनि इकाईले सहयोग गर्ने बताइएको छ ।

इकाई गठन भएसँगै चोरी शिकारी नियन्त्रणमा कमी आएको एमक्याप प्रमुख लामाले दाबी गरे । ‘इकाई गठन नहुँदा चोरी शिकारी बढी हुन्थ्यो, अहिले इकाई छ, गस्ती बढाउन थालेपछि गाउँलेहरु पनि सचेत भएका छन्, चोरी शिकारी पनि नियन्त्रण भएको छ,’ उनले भने ।

वन गस्तीका लागि इकाईहरुलाई एमक्यापले वार्षिक ३५ हजार रकम उपलब्ध गराउँदै आएको छ । गस्ती गएर आएपछि इकाईले फोटोसहितको रिपोर्ट एमक्यापलाई बुझाउनु पर्ने लामाले बताए ।

मनास्लु संरक्षण क्षेत्रमा बन्दुक लिएर जंगल जाने, वन्यजन्तुलाई लक्षित गरी पासो थाप्ने र शिकार गर्ने जस्ता गतिविधि गर्न निषेध गरिएको छ । उक्त क्षेत्रमा झारल, घोरल, नाउर, हिमचितुवा लगायतका वन्यजन्तु तथा कालिज, डाँफे लगायत चराचुरुङ्गी पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment