Comments Add Comment

अष्ट्रेलियामा यौनकाण्डमा मुछिएका दुई मन्त्रीको घटुवा

१६ चैत, काठमाडौं । अष्ट्रेलियामा यौनकाण्डमा मुछिएका दुईजना मन्त्री घटुवामा परेका छन् । केही समययता अष्ट्रेलियामा बलात्कारको मुद्दा चर्को रुपमा उठेको छ । यसैक्रममा सरकारका दुई मन्त्री पनि यो विवादमा मुछिएका हुन् । यससँगै उनीहरुलाई कारबाही गर्न पनि सरकारलाई ठूलो जनदबाब सिर्जना भएको थियो ।

सोमबार नै अष्ट्रेलियाका महान्यायाधिवक्ता क्रिस्टियन पोर्टरलाई पदबाट हटाइएको छ । मन्त्रिपरिषद्का सदस्यसमेत रहेका पोर्टरले कानुनी मामिला, राष्ट्रिय तथा सार्वजनिक सुरक्षा हेर्दै आएका थिए । उनीमाथि सन् १९८८ मा १६ वर्षीया किशोरीको बलात्कार गरेको आरोप छ । गत जुन महिनामा पीडित भनिएकी महिलाले आत्महत्या गरेकी थिइन् । तर, पोर्टरले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् ।

त्यस्तै रक्षामन्त्री लिन्डा रेनोल्डसलाई पनि पदबाट हटाइएको छ । उनीमाथि संसद भवनमा भएको भनिएको बलात्कारको अनुसन्धान सही तरिकाले नगरेको आरोप छ । साथै उनले पीडितलाई नै झूट बोलेको भन्दै आरोप लगाएकी थिइन् ।

मन्त्री पदबाट हटाइएपनि उनीहरु दुवै सरकारमा भने रहनेछन् । रेनोल्ड्सलाई सरकारी सेवाको पोर्टफोलियो हेर्ने जिम्मा दिइएको छ भने पोर्टरलाई उद्योग, विज्ञान तथा प्रविधिसम्बन्धी मामिला हेर्ने जिम्मा दिइएको छ ।

जिम्मेवारी हेरफेरको क्रममा प्रधानमन्त्री स्कट मौरिसनले केही महिलाको बढुवा गरेका छन् । उनले इतिहासमा नै पहिलोपटक अष्ट्रेलियाको मन्त्रिपरिषदमा महिलाको उपस्थिति बलियो भएको बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment