Comments Add Comment

सर्वोच्चको न्यायाधीशमा सिफारिस चुडाल र सुवेदीविरुद्ध ७ उजुरी

‘सरकारी जग्गा हिनामिना र योग्यता नपुगेको आरोप’

१६ चैत, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस कुमार चुडाल र नहकुल सुवेदीविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी परेको छ ।

४ चैतमा बसेको संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशद्वय चुडाल र सुवेदीविरुद्ध १० दिन भित्र उजुरी दिन आह्वान गरेको थियो । सोमबारसम्म चुडालविरुद्ध २ र सुवेदीविरुद्ध ५ वटा उजुरी परेका छन् ।

चुडालविरुद्ध सरकारी जग्गा हिनामिना गरेको उजुरी परेको छ भने सुवेदीविरुद्ध योग्यताको प्रश्न उठाइएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सोमबार सुवेदीको योग्यतामा प्रश्न उठाउँदै उजुरी दिएका छन् । सर्वोच्च अदालतको न्यायाधीश हुन सुवेदीको न्यूनतम योग्यता पनि नपुग्ने त्रिपाठीको दाबी छ ।

नेपालको संविधान २०७२ को धारा १२९ (५) मा सर्वोच्च अदालतको न्यायाधीशका लागि ४ वटा योग्यता तोकिएको छ ।

  • कानुनमा स्नातक उपाधि प्राप्त गरी उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीश पदमा कम्तीमा पाँच वर्ष काम गरेको
  • कानुनमा स्नातक उपाधि प्राप्त गरी वरिष्ठ अधिवक्ता वा अधिवक्ताको हैसियतमा कम्पनीमा १५ वर्ष निरन्तर वकालत गरेको
  • कम्तीमा पन्ध्र वर्षसम्म न्याय वा कानुनको क्षेत्रमा निरन्तर काम गरी विशिष्ट कानुनविदको रुपमा ख्याति प्राप्त गरेको
  • न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणी वा सो भन्दा माथिल्लो पदमा कम्तीमा बाह्र वर्ष कम गरेको ।

तर, सुवेदीले उच्च न्यायाधीशको रुपमा ३ वर्ष तीन महिना ३ दिन मात्रै काम गरेको र राजपत्रांकित प्रथम श्रेणीका पदमा जम्मा ९ वर्ष १० महिना १५ दिन काम गरेको त्रिपाठीको दाबी छ ।

२८ फागुनमा न्याय परिषदले सर्वोच्च अदालतका न्यायाधीशमा सुर्खेत उच्च अदालतका मुख्य न्याायधीश सुवेदी र उच्च अदालत पाटनका मुख्य न्यायाधीश चुडालको नाम सिफारिस गरेको थियो ।

संवैधानिक निकायमा सिफारिस भएका पदाधिकारीको संसदीय सुनुवाइ गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment