Comments Add Comment

मुस्ताङ जोड्ने सडक थप दुई दिन बन्द

१७ चैत, म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडकमा सिधा यातायात सेवा बन्द हुने समय दुई दिन थपिएको छ ।

विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङमा सोमबार बसेको बैठकले चैत १९ गतेसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो । यसअघि चैत १४ देखि १७ गतेसम्मलाई बेनी-जोमसोम सडकमा सिधा यातायात बन्द गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलको अध्यक्षतामा बसेको बैठकले तीव्ररूपमा भइरहेको सडक विस्तारको कामलाई पूर्णता दिन दुई दिन समय थप गर्ने निर्णय गरेको बेनी-जोमसोम-कोरला सडक आयोजना कार्यालय जोमसोमका प्रशासन शाखा प्रमुख नारायण पौडेलले जानकारी दिए ।

प्रजिअ पौडेलसहित सुरक्षा र आयोजनाका अधिकारीले सडक निर्माणस्थलको स्थलगत निरीक्षण गरेपछि समय थप गर्नुपर्ने निष्कर्ष निकालेका हुन् ।

उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक आयोजनाले म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिर र कैकुखोला क्षेत्रमा सवारी आवतजावत बन्द गरिएको छ।

सडक स्तरोन्नति, बेस बगाउने तथा पहिराका कारण सवारी साधन चल्न नसक्ने र चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले सम्भावित जोखिम र दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नुपरेको आयोजनाका सूचना अधिकारी अश्विनीकुमार यादवले बताए ।

सडक बन्द हुने स्थानबाहेकका ठाउँमा भने सवारी चलेका छन् । यातायात व्यवसायीले सवारी साधन परिवर्तन गरेर गन्तव्यमा पुग्ने व्यवस्था मिलाएका छन् । म्याग्दी र मुस्ताङ खण्डको आन्तरिक यातायात सेवामा भने असर नपर्ने बताइएको छ । बेनी-जोमसोम ७६ किमी सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ ।

प्याकेज नं २ को काभ्रेभिरमा गत पुस १९ गतेदेखि सडक चौडा गर्न शर्मा-गजुरमुखी जेभीले पहाड काट्ने काम गरिरहेको छ । त्यहाँ एक किलोमिटर ६०० मिटर दूरीमा पहाड काट्नुपर्ने जनाइएको छ ।

काभ्रेभिर बेनी-जोमसोम सडकको जोखिमयुक्त सडक पनि हो । निर्माण कम्पनीले नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम गरिरहेको छ । यस्तै सोही खण्डको थासाङ-४ कैकुमा पटक-पटक बाढीले सडक बगाउने र पहिरो जाने हुँदा सडक अवरुद्ध हुने गर्छ ।

करिब रु छ अर्ब लागतको राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजना विसं २०७४ देखि निमार्ण शुरु भएको हो । एक सय १० किलोमिटर दूरीको जोमसोम-कोरला सडक ग्राभेल गर्ने काम भइरहेको छ ।

करिडोरका अनुसार जोमसोम-कोरला सडकको सात प्याकेजमध्ये चार प्याकेजको काम निर्माण सकिएको छ । बेनी-जोमसोम सडकमा ६० प्रतिशत र जोमसोम-कोरला सडकमा ८५ प्रतिशत भौतिक प्रगति भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment