Comments Add Comment

नेपाललाई रुसी साहित्य चिनाउने कृष्णप्रकाशको निधन

रुसमा बसेर नेपाली भाषा-साहित्यको सेवा गर्दै आएका कृष्णप्रकाश श्रेष्ठको निधन भएको छ । जगदम्बा पुरस्कार विजेता श्रेष्ठको सोमबार रुसको राजधानी मस्कोमा निधन भएको हो ।

८३ वर्षीय श्रेष्ठले रुसमा नेपाल विद्या केन्द्र सञ्चालन गर्दै आएका थिए । उनले केन्द्रमार्फत रुसी-नेपाली भाषामा अनुवाद आदानप्रदान गराएर भाषा–साहित्यमा योगदान पुर्याएका थिए । नेपाली भाषाको सिर्जना, अनुसन्धान तथा प्रचारप्रसारमा संलग्न भएर श्रेष्ठ आधा शताब्दीयता नेपाली वाङ्मयको प्रचार र प्रवद्र्धनमा संलग्न थिए । उनलाई २०५९ सालमा प्रतिष्ठित जगदम्बा पुरस्कार प्रदान गरिएको थियो ।

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले ट्वीटरमार्फत भाषा, साहित्य र नेपाल-रुस मित्रतामा श्रेष्ठको योगदान स्मरणीय रहेको बताएका छन् । श्रेष्ठले नेपाली साहित्यका महत्त्वपूर्ण कृतिहरू पनि रूसी भाषामा लगेर रूसी भाषाको साहित्यमा नेपाली कृतिहरूको स्थान सुरक्षित राखेका छन् ।

उनले ‘यमलोकमा जिउँदो मान्छे’ लोककथा सङ्ग्रह, भानुभक्तको ‘लोकको गरुँ हित भनी’ बाङ्गदेलको ‘लङ्गडाको साथी’, विकलको ‘फूटपाथ मिनिस्टर्स’, देवकोटाको मुनामदन, सुनको विहान, गोनु झाको मैथिली लोकाख्यान कथाकुथुङ्ग्री, उत्तम कुँवरको स्रष्टा र साहित्यजस्ता कृतिहरूका साथै नेपाली कविहरूको कविता सङ्कलन पनि रूसी भाषामा अनुवाद गरेर गुनिलो काम गरेका छन् ।

उनले ‘रूसी नेपाली शब्दकोष’, ‘नेपाली नेपाल भाषा शब्दकोष’ तथा ‘संक्षिप्त अङ्ग्रेजी नेपाली पारिभाषिक शब्दकोष’ पनि संकलन–सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment