Comments Add Comment

‘हामी ओलीसँगै छौं, प्रचण्ड कता पुग्छन् भन्ने चिन्ता छ’

माओवादी छाडेका लीलबहादुरलाई एमाले गण्डकी सहइन्चार्जको जिम्मेवारी

१७ चैत, पोखरा । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सर्वोच्च अदालतले खारेज गरिदिएपछि आधिकारिक नेकपा, सूर्य चिह्न कसले पाउने भन्ने लडाईं चलिरहेको थियो ।

फागुन २३ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम विवादमा सर्वोच्च अदालतले पार्टी एकता नै खारेज गरेर एमाले र माओवादी केन्द्रलाई ब्युँताइदियो ।

नेकपा विभाजन भएपछि केन्द्रीय सदस्य लीलबहादुर थापा पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहमै थिए । पूर्व पार्टी ब्युँतिएपछि थापा एकाएक ओलीलाई साथ दिँदै नेकपा एमालेमा प्रवेश गरे । पूर्वलडाकु र केही खेलाडीसहित माघ १० गते बालुवाटारमै पुगेर प्रधानमन्त्री ओलीबाट थापाले टीका लगाए ।

थापालाई एमाले अध्यक्ष ओलीले गण्डकी प्रदेश सहइन्चार्ज बनाएका छन् । मंगलबार अन्तरपार्टी निर्देशन जारी गर्दै प्रधानमन्त्री ओलीले सहइन्चार्ज खगराज अधिकारीको ठाउँमा थापालाई जिम्मेवारी दिएका हुन् ।

‘पार्टीले जिम्मेवारी हेरफेर गरेको छ । अध्यक्षले जहाँ खटाउनुहुन्छ, त्यहाँ रहने छु,’ खगराजले भने, ‘लीलबहादुरजीलाई स्वागत छ ।’ गण्डकी प्रदेशको सहइन्चार्जमा पदमाकुमारी अर्याल पनि थपिएकी छन् । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ पनि सहइन्चार्जमै छन् ।

लीलबहादुर र उनका छोरा प्रदीप सँगै एमालेमा प्रवेश गरेका हुन् । प्रदीप नेकपा बरेङ गाउँ कमिटीका संयोजक थिए । अहिले एमाले गाउँ कमिटीका अध्यक्ष बनेका छन् । बरेङ गाउँपालिकाको अध्यक्षमा माओवादीबाट प्रदीप उम्मेदवार थिए । तर, उनले जित्न सकेनन् ।

राष्ट्रिय जनमोर्चा, एकीकृत हुँदै माओवादी राजनीतिमा सक्रिय थापा बागलुङका चर्चित नेता हुन् । बरेङ गाउँपालिका २ हुग्दिशिरका थापामगर राष्ट्रिय जनमोर्चाबाट २०५४ सालमा जिल्ला विकास समितिको सभापति बनेका थिए । जनमोर्चा फुटेपछि एकीकृत हुँदै शान्ति प्रक्रियापछि माओवादी राजनीतिमा थिए ।

थापा दोस्रो संविधानसभाको निर्वाचनमा बागलुङबाट माओवादीका उम्मेदवार थिए । उनी कांग्रेसका प्रकाश शर्मा पौडेलसँग पराजित भए । माओवादीको पोलिटब्युरो सदस्य रहेका थापा नारायणकाजी श्रेष्ठका प्रिय पात्र मानिन्थे ।

गत साउनमा राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव बन्न रमेशकुमार सिलवालको प्रमुख प्रतिस्पर्धी थिए, थापा । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि सिलवाललाई नै सदस्य सचिव बनाउने सार्वजनिक भएपछि फेसबुकमार्फत थापाले रोष प्रकट गरेका थिए ।

माओवादी अध्यक्ष प्रचण्डले बेवास्ता गरेको भन्दै उनी रुष्ट थिए । नेपाल भलिबल संघमा दुई पटक केन्द्रीय उपाध्यक्ष रहेका थापा आइटीएफ तेक्वान्दोका संस्थापक सदस्यसमेत हुन् ।

सर्वोच्चले एमाले–माओवादी ब्युँताइदिएपछि केही समय थापा अलमलमा थिए । रामबहादुर थापा बादल, टोपबहादुर रायमाझीहरु एमालेमै बसेपछि उनले पनि त्यही बाटो पछ्याए ।

रायमाझीकै समन्वयमा थापामगर एमालेमा लागेको उनी निकट स्रोतले बताए । रायमाझी स्थानीय विकास मन्त्री हुँदा थापा उनको राजनीतिक सल्लाहकार थिए । थापा किरात राज्यको इन्चार्ज, मगरात तमुवान राज्यको सहइन्चार्ज पनि भएका थिए ।

‘माओवादीको स्थायी कमिटी सदस्य थिएँ । पछिल्लो समय माओवादीमा पोलिटब्युरो सदस्य थिएँ,’ थापा मगरले भने, ‘प्रचण्डले बाटो बिराएका कारण एमालेमा लागेको हुँ । एमालेको प्रदेश सहइन्चार्जको जिम्मेवारी पाएको छु । अब संगठन बनाउने हो ।’
थापासँग गरेको कुराकानी :

माओवादीको साथ किन छोड्नुभयो ?

हामी वर्ग संघर्षमा लाग्यौं । समाजवाद, साम्यवादको महान सपना बोकेर कम्युनिस्ट आन्दोलनमा लाग्यौं । थुप्रै जेलनेल र यातना खेप्यौं । मुद्धा मामिला जेल्यौं । त्यसैको उपलब्धी हो, अहिलेको व्यवस्था र त्यसमा हामी सबैको योगदान छ । ठूलो त्याग र बलिदानबाट यो उपलब्धी प्राप्त भएको हो ।

जहिले पनि म एकता, राष्ट्रियता र गणतन्त्रको पक्षमा उभिने सिपाही हुँ । अहिले म जुन पक्षमा उभिएको छु, त्यो राष्ट्रियता र जनतन्त्रकै पक्षमा हो । राष्ट्रियताको पक्षमा कसले अगुवाइ गर्‍यो, नाकाबन्दीमा कसले अगुवाइ गर्‍यो, चुच्चे नक्सा बनाउन कसले भूमिका खेल्यो भन्ने प्रस्टै छ ।

जनजीविकाका सवालमा पनि भटाभट विकास निर्माणको काम भइरहेको सबले देखिरहेकै छौं । म उभिएको पक्ष भनेको विकासको पक्ष हो । म उभिएको पक्ष, समृद्धिको पक्ष हो । म उभिएको पक्ष स्थिरता र न्यायको पक्ष हो । म जहाँ उभिएको छु, यसबारे म प्रस्ट छु ।

प्रचण्ड हिजो किन ठीक लागेको थियो र कहिले किन बेठीक लाग्यो ? कि अवसर अब एमालेमा छ भनेर हो ?

जुनबेला कमरेड प्रचण्ड ठीक थिए, साथ दिएँ । जुनबेला बेठीक बेठीक बाटो हिँडे, बेठीक बेठीक बन्दै गए अनि मैले साथ छाडेको हुँ । जनजीविका र जनताको पक्षमा जसले काम गर्छ, उसैलाई साथ दिने हो नि । प्रचण्ड ठीक बाटो हिँड्नुभएन ।

मैले त हिजोका थुप्रै सहकर्मी एमालेमा आउने देखेको छ । हामी क्लियरकट छौं । माओवादीको अब भविष्य छैन, एमाले नै जनताको पार्टी हुन्छ । विकास गर्ने पार्टी हुन्छ । एउटा ठेकदारले जे भन्यो त्यही हो भनेर हिजो ताली पड्कायौं । फेरि पूर्व सहकर्मी एकैठाउँ रहने अभियान हामी चाल्छौं ।

हिजो राष्ट्रिय जनमोर्चा हुनुहुन्थ्यो, एकीकृत हुँदै शान्ति प्रक्रियापछि माओवादी हुनुभयो, पुरानै पार्टी ब्युँतिएपछि एमालेतिर लाग्नु भो, तपाईंका पूर्व सहकर्मीले त अवसरवादी भनिरहेका छन् नि ?

यो कुरा तुक नभएको कुरा हो । सबैभन्दा पहिले नेपाल कम्युनिस्ट पार्टीको नाम के थियो ? यसका संस्थापकहरु कोको थिए ? अहिलेसम्म सबै नेपाल कम्युनिस्ट पार्टीमै रहनुपथ्र्यो नि । प्रचण्डले अहिलेसम्म कति वटा पार्टी फेरेर यहाँ आइपुग्नुभएको हो ?

मोहनविक्रमको पार्टी किन छोड्नुभयो ? मोटो स, पातलो स, केके हुँदै माओवादीसम्म किन आउनुपरेको हो ? पार्टीमा कहिले एकीकरण हुन्छ, कहिले धुर्वीकरण हुन्छ । पार्टी एकीकरण अभियान भनेर प्रचण्डजी अगाडि बढ्नुभयो । एकीकरण त भयो तर तीव्र क्षयीकरण पनि भयो । माओवादी क्षयीकरण भएर के भयो ? वैधजीले छोड्नुभयो, बादलजीले छोड्नुभयो, विप्लवले छोड्नुभयो, बाबुरामजीले छोड्नुभयो । माओवादी फुट्दै गयो ।

त्यही पार्टीमा फुटको नेतृत्व प्रचण्डजीले गर्नुभयो । निर्माण गर्नेतिरभन्दा भत्काउनेतिर लाग्नुभयो । अहिले बादलजी, टोपबहादुरजी लगायत हामीले पनि प्रचण्डलाई साथ दिन नसक्ने भयौं । हामीले उहाँलाई छोडेको होइन, उहाँले हामीलाई छोड्नुभएको हो ।
प्रचण्ड र ओली मिलेर पार्टी एकता गरेको होइन ? हामीले ठीक छ भन्यौं ।

ओलीलाई प्रधानमन्त्री पनि प्रचण्डजीले नै मानेको हो, हामीले ठीक छ भन्यौं । ओलीलाई पार्टी अध्यक्ष पनि प्रचण्डले नै मानेको हो । हामी त्यही मुख्य लाइनमै छौं । प्रचण्डले जेजे मान्नुभयो, हामी त्यहीँ छौं । बरु प्रचण्डजी बरालिएर कताकता पुग्नुभयो भन्ने हो । नेकपा विभाजनसँगै पार्टीको वैधानिकता कसले पाउने ? संसदीय दल कसले कब्जा गर्ने ? सत्तामा को जाने ? प्रधानमन्त्री को बन्ने र सूर्य चिह्न कसले पाउने भन्ने लडाईं थियो नि ।

अहिले जुन आधिकारिक बन्यो, हामी त्यहीँ छौं । अब उहाँहरु कता जाने हो भन्ने बडो चिन्ता लागिरहेको छ मलाई ।

सर्वोच्चले पुरानै पार्टी ब्युँताइदिएपछि एमालेभित्रै ठूलो विभाजन छ । यही मौकामा प्रदेश सहइन्चार्ज हुनुभएको छ ? अब कसरी संगठित गर्नुहुन्छ ? अब एमाले र माओवादी कसरी अगाडि बढ्छ ?

हिजोका क्रान्तिकारी हुँ भन्ने साथीहरुको चिन्ता छ मलाई । किनभने कुनै जिम्मुवाल, मुखियाले भने झैं यो हो है भन्दा ताली पड्काउने, ठीक छ भन्ने । ठीक छैनभन्दा ठीक छैन भन्दै चिच्याउँदै हिँड्ने प्रवृत्ति दास प्रवृत्ति हो ।

हिजोका क्रान्तिकारी साथीहरुलाई सोच्न अनुरोध गर्छु । पार्टी, विधि र पद्धति बचाउनेको पक्षमा लाग्नुपर्छ । हिजो एउटा तालुकदारले भनेझैं हजुर भन्दै नहिँडौं । यो गलत प्रवृत्ति हो । होइन भने घुम्दै फिर्दै रुम्जाटार भनेझैं हुन्छ । सिर्जनात्मक भएर अगाडि बढ्ने हो ।

सर्वोच्चले पुरानै पार्टी ब्युँताइदिएपछि केही समय अलमलमै हुनुहुन्थ्यो । पछि के चाहिँ कुरा पाएर ओली नेतृत्वको एमालेमा लाग्नुभयो ?

सही विचार र सत्यको पक्षमा लाग्ने हो । विचारमा अडिग र सत्यको बाटो हिँड्दा आउने जिम्मेवारी स्वीकार्ने हो । अहिले प्रदेश सहइन्चार्जको जिम्मेवारी पाएको छु, भोलि सांसद मन्त्री पनि बन्न सक्छु ।

माओवादीमै हुँदा पनि मभन्दा धेरै कान्छा पनि मन्त्री भएका छन् । म पदका लागि राजनीति गर्ने मान्छे भए पहिल्यै मन्त्री भइसक्थें । विकास, दूरगामी सोच र निष्ठाको राजनीति यहीँबाट हुन्छ भनेर धेरै अध्ययन र सोचविचार गरेर आएको हुँ । भोलि परिआए जे जिम्मेवारी पनि निभाउन सक्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment