Comments Add Comment

आगामी नीति तथा कार्यक्रममा प्रदेश २ को शैक्षिक सुधारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ

फाइल तस्वीर

१८ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारको आगामी नीति तथा कार्यक्रममा प्रदेश २ को शैक्षिक सुधारलाई प्राथमिकता दिइने बताएका छन् ।

प्रदेश २ को धनुषाका चारवटा स्थानीय तहमा पाँच वर्षदेखि सञ्चालित ‘राम्रो शिक्षा देऊ’ कार्यक्रमको केन्द्रस्तरीय अनुभव आदानप्रदानका लागि नर्वेली दूतावासको सहकार्यमा आसमान नेपाल र शिक्षा पत्रकार समाजले बुधबार आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

विगतमा प्रदेश २ को शिक्षा विकासमा गरिएका पहलको समीक्षा गर्दै अब कार्यक्रम तर्जुमा गर्दा स्थलगत र अनुसन्धानबाट प्राप्त सुझावलाई सम्बोधन गरिने प्रतिबद्धता उनले व्यक्त गरे ।

उनले प्रदेश २ का लागि नागरिकता, जन्मदर्ता निःशुल्क शिक्षा आदि संवैधानिक हकको कार्यान्वयनमा सरकार कटिबद्ध रहेको बताए । ‘एक्काइसौं शताब्दीको गुणस्तरीय शिक्षाका लागि योजना र कार्यान्वयन बनाउन आवश्यक छ । शिक्षा नीति ठीक नभएसम्म मुलुकको समृद्धि सम्भव छैन भन्नेमा हामी स्पष्ट छौं ।’

धनुषाको सबैला नगरपालिका, गणेशनाथ चारनाथ नगरपालिका, नगराइन नगरपालिका र लक्ष्मीनियाँ गाउँपालिकामा सञ्चालित उक्त परियोजना ९२ विद्यालयमा गरी १७ हजार विद्यार्थीबीच कार्यान्वयन भइरहेको छ ।

परियोजनाले बालश्रम मुक्त गर्ने, शतप्रतिशत विद्यार्थीलाई विद्यालयमा भर्ना गराइ नियमित गराउने, विद्यालय र घरमा बालमैत्री तथा लैङ्गिकमैत्री सिकाइ अभिवृद्धि गर्ने मुख्य लक्ष्य लिएको छ । ती क्षेत्रमा अहिले पनि ८४ जना फरक क्षमता (अपाङ्गता भएका) बालबालिका विद्यालयबाहिर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment