Comments Add Comment

सिसडोल क्षेत्रमा पूर्वाधार विकास गर्न ६ करोड दिने मेयर शाक्यको प्रस्ताव

१८ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रको पूर्वाधार विकासका लागि ६ करोड दिने प्रस्ताव गरेको छ ।

मंगलबार सिसडोल ल्याण्डफिल्ड साइटका प्रभावित स्थानीयसहित जनप्रतिनिधिसँग राष्ट्रिय सभागृहमा भएको छलफलमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेँसी नगरपालिकाको पुर्वाधार विकासका लागि आगामी आर्थिक वर्षमा तीन-तीन करोड व्यवस्था गर्ने प्रस्ताव गरेका हुन् ।

यस्तै प्रभावित क्षेत्रमा १५ बेडको अस्पताल सञ्चालनका लागि पुर्वाधार निर्माण, १५ वटा बेड र चारजना डाक्टरका लागि आवश्यक रकम सहयोग गर्ने उनको प्रस्ताव थियो । हाल फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय बसिन्दाहरुले विभिन्न माग राख्दै चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहोर बिसर्जनमा अवरोध गर्दै आएका छन् । बुधबारको छलफल बिहीबार दिउँसो एक बजे बस्ने गरी स्थगन भएको छ ।

छलफलका क्रममा प्रमुख शाक्यले प्रभावित क्षेत्रका लागि थप एउटा एम्बुलेन्स पुनः खरिद गरिदिने प्रतिवद्धता व्यक्त गरे । ‘उहाँहरुले प्रभावित क्षेत्रका विद्यालयहरुमा आवश्यक तहगत र विषयगत ५१ जना शिक्षकको लागि दरबन्दी माग गर्नुभएको छ,’ शाक्यले भने, ‘नेपाल सरकारबाट स्थायी दरबन्दीपछि आएपछि स्वतः हट्ने गरी तत्कालका लागि ५१ जना शिक्षकको खर्चका लागि महानगरपालिकाले अनुदान दिने प्रतिवद्धता व्यक्त गरेका छौं ।’

स्थानीयहरुले विगतमा पनि पटक-पटक सम्झौता कार्यान्वयनमा ढिलासुस्ती हुने गरेको भन्दै नुवाकोटका सबै दलका शीर्ष नेतासहितको उपस्थितिमा भोलि निष्कर्षमा पुग्ने बताएका छन् ।

भोलिको बैठकमा पुर्वमन्त्रीहरु डाक्टर रामशरण महत, डाक्टर प्रकाशचन्द्र लोहनीलगायतका नेतालाई पनि सहभागी गराउने र अन्तिम निष्कर्षमा पुग्ने सहमतिसहित बैठक समापन भएको काठमाडौं महानगरपालिका वातावरण विभागका प्रमुख हरि श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment